काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा पहिलोपल्ट हुन लागेको साफ महिला क्लब च्याम्पियनसिपको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नै घरेलु मैदानबाट सुरुवात हुने साफ क्लब च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही मंसिर १९ (शुक्रबार)देखि आगामी पुस ५ गतेसम्म क्लब च्याम्पियनसिप हुनेछन् ।
दक्षिण एसियाली फुटबलको स्तर वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको पहिलो संस्करणमा नेपालको च्याम्पियन एपिएफ क्लब, भारतको इस्ट बंगाल एफसी, बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसी गरी कुल पाँच टोलीले चुनौती प्रस्तुत गर्दैछन् ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । लिगमा शीर्ष दुई स्थान प्राप्त गर्ने टोलीले उपाधिका लागि खेल्ने उल्लेख छ । पहिलो संस्करणको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।
सहभागी तीन टोलीले दुई हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले उल्लेख गरेको छ । सबै टोली आज (बुधबार) नै नेपाल आइपुग्नेछन् । उनीहरूले च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा अभ्यास गर्ने तालिका छ । यस प्रतियोगिताको टिकट साधारण प्यारापिटतर्फ तीन सय र भिआइपी पारापिटमा पाँच सय रुपैयाँ तोकिएको छ ।
एन्फाका महासचिव किरण राईले प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकार सुश्री मिडिया प्रालिलाई ५१ लाख ५० हजार रुपैयाँमा बेचेको बताउनुभयो । साफले त्यो रकमबाट आयोजकका रूपमा एन्फालाई ७० प्रतिशत रकम प्रदान गर्ने राईले उल्लेख गर्नुभएको छ ।
बाँकी ३० प्रतिशत रकम पुरस्कारमा खर्च हुने भएको छ । प्रतियोगिता आयोजनाका लागि बाँकी लागत साफले नै बेहोर्नु एन्फाका महासचिव राईको भनाइ छ ।
साफ महिला यू-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा हुने
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता फागुनमा पोखरा रंगशालामा हुने जानकारी गराएको हो । सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलोपटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्न लागेको हो । यसअघि सन् २०२४ मा नेपालले साफ यू-१६ च्याम्पियनसिप आयोजना गरेको थियो ।
त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो । माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ । गत जुलाईमा ढाकामा सम्पन्न यू-२० च्याम्पियनसिपमा यमप्रसाद गुरुङको नेतृत्वमा रहेको नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।
राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने
एन्फाले राष्ट्रिय लिग सकिएको एक महिनापछि तीन वर्षयता हुन नसकेको शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित मुख्यालयमा एन्फाले पत्रकार सम्मेलनमार्फत् शीर्ष डिभिजन लिगको जानकारी गराएको हो । एन्फाले यही पुस २५ गतेबाट राष्ट्रिय लिग आयोजना गर्ने तयारी थालेको छ । राष्ट्रिय लिग सकिएको एक महिनाभित्र नै ‘ए’ डिभिजन लिग सञ्चालन गरिने एन्फाले जानकारी गराएको छ ।
राष्ट्रिय लिगलाई एन्फाले ‘ए’ डिभिजनको प्रि-सिजनका रूपमा लिएको छ । एन्फाले यसै कारण राष्ट्रिय लिगमा टोलीहरूको संख्या बढाउने भएको छ । यसअघि १० टोलीको सहभागिता रहने भनिएको प्रतियोगितामा अब बढीमा १८ टोली हुनेछन् । यसअघि पछिल्लोपटक आयोजना भएको ‘ए’ डिभिजन लिगका शीर्ष ६ र प्रेसिडेन्ट लिगका चार गरी कुल १० टोलीको सहभागिता रहने बताइएको थियो । प्रि-सिजनको महत्वलाई ध्यानमा राख्दै एन्फा टोलीको संख्यालाई बढाउने निर्णयसमेत गरेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच