ललितपुर । चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्समा हलमा गरिएको प्रिमियरमा सिनेमा हेर्ने दर्शकले ‘अभिमन्यु : च्याप्टर-१’लाई तारिफ गरेका हुन् । चलचित्रको सरप्राइजिङ स्टोरी, कथ्य शैली र अभिनयले तारिफ बटुल्न सफल भएको थियो ।
‘अभिमन्यु : च्याप्टर-१’ हेरेपछि अभिनेता दिव्यदेव पन्तले खुलेर तारिफ गर्नुभयो । प्रिमियर शोमा सहभागी भएर सिनेमा हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले ‘अभिमन्यु : च्याप्टर-१’को कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनय अब्बल रहेको प्रतिक्रिया दिनुभयो । दिव्यदेवले चलचित्रमा महिला कलाकारहरूको प्रस्तुतिलाई विशेष जोड दिनुभयो । ‘सामान्यतया सिनेमामा महिला पात्रलाई जसरी देखाइन्थ्यो वा कन्भिन्स् गराइन्थ्यो, त्यो परम्परालाई यो फिल्मले तोडेको छ । पर्फर्मेन्सको हिसाबले यो एकदमै उत्कृष्ट छ’, उहाँले भन्नुभयो ।
चलचित्रको मेकिङ पक्षको प्रशंसा गर्दै दिव्यदेवले निर्माता विनोद (विनोद पौडेल)को आँटको कदर गर्नुभयोे । ‘विनोद दाइले ‘पूर्णबहादुरको सारंगी’ मा जस्तै यसमा पनि ‘अन्डररेटेड’ (प्रतिभा भएर पनि ओझेलमा परेका) कलाकारहरूलाई विश्वास गर्नुभएको छ । बजारमा चलेका नाम चलेका स्टार खोज्नुको साटो उहाँले राम्रो कलाकार, राम्रो निर्देशक र बलियो कथामा लगानी गर्नुभएको छ । यसको प्रतिफल ‘अभिमन्यु : च्याप्टर-१’मा देखिन्छ’, उहाँले भन्नुभयो ।
निर्देशक सोभित बस्नेतले नेपाली सिनेमा क्षेत्रमा आएको परिवर्तनलाई विश्लेषण गर्दै भन्नुभयो, ‘अहिले जति पनि नेपाली चलचित्र बढी चलिराख्या छ, त्यसमा कलाकारको चलचित्र चलिराख्या छन् । योभन्दा पहिला स्टारका चलचित्र चल्थे, अहिले कलाकारका चलचित्र चल्न थाल्या छन् ।’ उहाँले दर्शकले अहिले अनुहारभन्दा पनि अभिनय र प्रतिभालाई प्राथमिकता दिन थालेको बताउनुभयो । ‘अभिमन्यु : च्याप्टर-१’को कथावस्तुबारे बोल्दै उहाँले भन्नुभयो, ‘मज्जाले लास्टसम्म बाँधेर राख्छ । हरेक क्षण अब के हुन्छ, अब के हुन्छ भन्ने कौतुहलता फिल्ममा देखिन्छ ।’
मोडल तथा अभिनेत्री अलिाशा बास्तोलाले चलचित्र हेर्दा आफूलाई भित्रैबाट ‘ब्लकबष्टर’ हुन्छ जस्तो महसुस भएको बताउनुभयो । ‘हामीले जसरी साउथ इन्डियन फिल्महरू एकदम कौतुहलताका साथ हेर्छौं, यो चलचित्रमा पनि अब के हुन्छ, अब के हुन्छ भन्दै अन्तिमसम्म त्यसरी नै हेरिन्छ’, उहाँले भन्नुभयो ।
उहाँले चलचित्रको सबै पक्ष ‘अथेन्टिक’ र उत्कृष्ट रहेको जिकिर गर्नुभयो । सेभेन सिज ब्यानरबाटै आफूले डेब्यु गरेको बताउँदै उहाँले भन्नुभयो, ‘मेरो आफ्नै ब्यानर हो, मलाई एकदम मन छ, यसले ‘पूर्णबहादुरको सारंगी’ को रेकर्ड तोडोस शुभकामना ।’ अर्की मोडल तथा अभिनेत्री रुषा न्यौपानेले नेपालमा चलिरहेको ट्रेन्डभन्दा फरक चलचित्र आएको बताउँदै यो चलचित्र हेरेर दर्शक पछुताउनु नपर्ने ग्यारेन्टी दिँदै हलसम्म आउन आग्रह गर्नुभयो ।
चलचित्रमा अभिनेत्री लक्ष्मी बर्देवाले निर्वाह गरेको भूमिकाको तारिफ गर्दै उहाँले भन्नुभयो, ‘उहाँले त न्याय गर्नुभएकै छ, तर बिइङ एन एक्टर (एक कलाकारको रूपमा) त्यो क्यारेक्टर देख्दा, यो रोल मैले गर्न पाएको भए हुन्थ्यो भन्ने फिल आइरहेको थियो ।’
हास्य कलाकार भरतमणी पौडेलले चलचित्रले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक विषयवस्तु उठाएको र सस्पेन्सले भरिपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।
प्रिमियरपछि चलचित्रका मुख्य अभिनेता कामेश्वर चौरसिया मिडियासामु निकै भावुक देखिए । लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘कलाकार बन्नका लागि स्क्रिप्ट नै चाहिँदो रहेछ । अहिलेसम्म मैले जति काम गरेँ, सबैले सराहना गर्नुभयो तर लिड क्यारेक्टरका लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ । जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ ।’
किरण श्रेष्ठले ‘अभिमन्यु : च्याप्टर-१’मा अनुभवी र दिग्गज कलाकारहरूसँग काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । अभिनेत्री लक्ष्मी बर्देवाले आफू यो चलचित्रको छयांकन गर्दा सुत्केरी हुने अवस्थामा (प्रेग्नेन्ट) रहेको खुलासा गर्नुभयो । उहाँले स्क्रिप्ट पढ्दादेखि नै क्यारेक्टर मन परेको र शारीरिक अवस्था जटिल भए पनि चलचित्रको टिम र कथावस्तु उत्कृष्ट भएकाले काम गरेको सुनाउनुभयो । ‘सुरुमा स्क्रिप्ट पढ्दाभन्दा पर्दामा चलचित्र हेर्दा अझ राम्रो बनेको पाए’, उहाँले भन्नुभयो ।
अर्की अभिनेत्री सरिता गिरीले पुरुष प्रधान चलचित्रहरू बनिरहेको समयमा ‘अभिमन्यु’ महिला केन्द्रित फिल्म बनेको र पुरुष पात्रहरूले त्यसलाई सपोर्ट गरेको देख्दा खुशी लागेको बताउनुभयो । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुनुहुन्छ । यस चलचित्रमा मुकेश खनालको लेखन छ ।
चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुनुहुन्छ । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुनुहुन्छ । चलचित्रको लाइन प्रोड्युसरमा जीवन शाक्य रहनुभएको छ । शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादन रहेका छ ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ यही बिहीबारदेखि प्रदर्शनमा आउँदैछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको यस चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा हुनुहुन्छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिँदैछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच