काठमाडौं । हस्तकला दिवसका अवसरमा बुधबारदेखि ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव २०८२(क्राफ्ट एण्ड कल्चर फेस्टिभल) हुने भएको छ । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका वडा नम्बर १६ र पाटन संग्रहालयको संयुक्त आयोजनामा कला र सांस्कृतिक धरोहरका रूपमा रहेको नेपाली हस्तकलाको प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रदर्शनी ललितपुर महानगरपालिकास्थित पाटन दरबार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा आयोजना हुने बताइएको छ ।
फेस्टिभलमा नेपालका ६० र दक्षिण कोरियाका ४० वटा मास्क प्रदर्शनीको मुख्य आकर्षणका रूपमा रहने बताइएको छ ।
प्रदर्शनीमा करिब २१ क्यानओपी र १० वटा टेबुल स्टल रहने महासंघ अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरूका अलावा ललितपुर महानगरपालिका वडा १६ को हस्तकला तथा पर्यटन प्रवद्र्धन समितिबाट बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातीय पोशाक प्रदर्शनी र सोही वडाको सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्यलगायत धाः बाजा, दमोखिं बाजा, नेपाल भाषाका लोकगीतलगायतको प्रस्तुतिका साथै महासंघबाट कोरियास्थित इम्याकोको सहकार्यमा मुखौटा(मास्क) प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको छ । मास्क प्रदर्शनीमा नेपालका ६० र दक्षिण कोरियाका ४० मास्क रहने आयोजकले जनाएको छ । मंंसिर २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेवारी मौलिक खाद्य परिकारका तीन स्टलसमेत रहने बताइएको छ ।
बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्घाटन गर्नुहुने प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था रहेको छ ।
हस्तकला महासंघ र ललितपुर महानगरपालिका वडा नम्बर १६ हस्तकला तथा पर्यटन विकास समिति तथा पाटन संग्रहालयको संयुक्त आयोजनामा विश्व कला परिषद्बाट कला नगरी घोषित ललितपुरको मुटु पाटन दरबार स्क्वायर क्षेत्रमा हुने उक्त कार्यक्रमको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा पाटन संग्रहालयका तर्फबाट सुरेश लाखे, मेला संयोजक प्रताप शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यलगायतले पनि प्रदर्शनीले हस्तकला तथा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच