काठमाडौं । प्रभु बैंकले प्रहरी अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालनमा असर नपर्ने जनाएको छ । उक्त बैंकले एक विज्ञप्तिमार्फत् प्रहरी अनुसन्धान प्रक्रियाबाट बैंकको वित्तीय सुशासन, निक्षेपकर्ता, सेयरधनी तथा ग्राहकहरूको हितमा कुनै पनि नकारात्मक असर पर्ने अवस्था नरहेको उल्लेख गर्दै बैंकका समस्त निक्षेपकर्ता, ग्राहक एवं सेयरधनी महानुभावबाट सदाझैँ बैंकप्रति सहयोग, सद्भाव तथा शुभेच्छा प्राप्त भइरहने विश्वास व्यक्त गरेको छ । सो सम्बन्धमा बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीले पनि बैंकमा कुनै समस्या नरहेको बताउनुभएको छ ।
उहाँले बैंक व्यक्ति नभई संस्था भएकाले केही व्यक्तिहरूमाथि अनुसन्धान प्रक्रिया चल्दैमा बैंकको नियमित कार्य सञ्चालनमा कुनै असर नपर्ने बताउनुभएको हो । अध्यक्ष कार्कीले हिमालय टाइम्ससँग भन्नुभयो, ‘अनुसन्धान गर्ने निकायले आफ्नो प्रक्रियाअनुसार अनुसन्धान गरिरहेको छ । जुन व्यक्तिमाथिको अनुसन्धान हो, व्यक्तिहरूमाथि हुने अनुसन्धान प्रक्रियाले संस्था असर पर्दैन । बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, सेयरधनी तथा ग्राहकहरूको हितमा कुनै पनि नकारात्मक असर परेको छैन ।
बैंकको दैनिक कारोबारमा पनि असर देखिएको छैन । पहिलेजस्तै नियमितरूपमा चलिरहेको छ ।’ मंंसिर १४ गते प्रहरीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकका प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठसमेतलाई पक्राउ गरेको थियो ।
बैंकका सिइओसमेत तीनजना कर्मचारीहरू अनुसन्धान प्रक्रियामा रहेपछि बैंकको दैनिक कार्य सञ्चालन निरन्तर तथा प्रभावकारीरूपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकले वरिष्ठतम् कर्मचारी निरज लम्साललाई सोही दिनदेखि लागू हुने गरी बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच