काठमाडौं । सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक गर्दै उक्त जानकारी दिनुभयो । सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यसैगरी, सरकारले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गरेको छ ।
२०८२ साल भदौ २३ र २४ गते भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका व्यक्तिका परिवार (आमा, बुवा, श्रीमान्/श्रीमती, अविवाहित छोरा र अविवाहित छोरी) लाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने । प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेन-जी शहीद दिवस’को रूपमा मनाउने, राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने, २०८२ माघ १ गतेदेखि एकपटकमा पाँच लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने, भारतको नयाँ दिल्लीमा २०८२ मंसिर २२ गते आयोजना हुने नेपाल–भारतबीच पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको पाँचौँ बैठकमा सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने र प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७४ को अनुसूची–१ र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७४ को अनुसूची–१ मा हेरफेर गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको खरेलले जानकारी दिनुभयो ।
यस्तै, नेपाल विशेष सेवा (२०औँ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, श्रीलंकामा हालै भीषण वर्षापश्चात् आएको बाढी तथा पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारका तर्फबाट श्रीलंका सरकारलाई सहायतास्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने, गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुँबेंसी-रसुवागढी सडकको स्याफ्रुँबेंसी-रसुवागढी खण्ड चीन सरकारको अनुदान सहयोगमा निर्माण हुनेगरी भएको सम्झौताबमोजिम गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुँबेंसी-रसुवागढी सडक योजनाका लागि सडकको एलिजमेन्ट तथा नदी किनाराबाट उत्खनन गरिने ढुंगा, गिट्टी, बालुवामा लाग्ने दस्तुर छुट दिने र उक्त सडकको कुल लम्बाइको मध्यविन्दुबाट १० किमिभित्र टेम्पररी फ्यासिलिटिज निर्माण गर्नका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रको २० हजार वर्गमिटर क्षेत्रफल बराबरको जग्गा योजना सम्पन्न नभएसम्मका लागि योजनालाई अस्थायी रूपमा उपयोग गर्न सहमति प्रदान गर्ने, नेपाली सेनाका तीनजना सहायक रथीको पदावधि थप गर्ने, एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने, शक्ति मिनिरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यको लागि पाल्पा जिल्ला माथागढी गाउँपालिका वडा नं ७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
त्यसैगरी, मन्त्रिपरिषद्ले त्रिशक्ति होल्डिङ्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं १३ मा रहेको राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, रिद्धि–सिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुंगा उत्खनन कार्यको लागि मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका वडा नं ७ मा रहेको राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, बाबा माइन्स एण्ड मिनिरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यको लागि मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका बडा नं ५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, बिग प्लस मिनिरल्स प्रालिलाई ग्रेनाइट उत्खनन कार्यको लागि मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं. ५ मा रहेको राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, केके लाइम्स एण्ड इन्डस्ट्रिज प्रालिलाई चुनढुंगा उत्खनन कार्यको लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ८ मा रहेको राष्ट्रिय वनको दुई हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, अन्नपूर्ण मिनिरल्स प्रालिलाई फलाम उत्खनन कार्यको लागि मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा. ज्ञानबहादुर थापा, गुल्मीलाई नियुक्ति गर्ने, लुम्बिनी विकास परिषद्को सदस्य-सचिव पदमा ई. दीपक श्रेष्ठ, गोरखालाई मनोनीत गर्ने, लिखु गाउँपालिका र नुवाकोटको केन्द्र वडा नं. ३ भलाद्मीडाँडाबाट परिवर्तन गरी वडा नं. ४ गड्खारमा कायम गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।
यसैगरी, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्य, दाङलाई मोननयन गर्ने, २०८२ पुस २ देखि ४ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने दोस्रो डब्लुएचओ ग्लोबल समिट अन ट्रेडिसनल मेडिसाइन एण्ड हाई लेभल मिनिस्टिरियल डायलग अन इम्प्लिमेन्टेसन अफ द डब्लुएचओ ग्लोबल स्टाटेजी २०२५-२०३४ कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका १५ वटा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुन) फणिन्द्र गौतम उमेरहदका कारण २०८२/८/१८ देखि अनिवार्य अवकाश हुँदा उहाँलाई अवकाशको जानकारी दिने र उहाँले हालसम्म गरेको योगदानको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिने र नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने सोमबारको मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच