काठमाडौं । झण्डै डेढ महिना लामो रस्साकस्सीपछि सोमबार कांग्रेसले महाधिवेशनको मिति टुंगो लगाएको छ । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिनुभएका सभापति शेरबहादुर देउवाकै सक्रियतामा पार्टीभित्र चर्किएको महाधिवेशनको मिति विवाद टुंगिएको हो । लामो रस्साकस्सीपछि असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले सोमबार पुस २६-२८ गते महाधिवेशन गर्ने तालिका पारित गरेको हो । महाधिवेशनको मिति टुंगो लागे पनि आन्तरिक विवाद र आशंका भने टुंगिएको छैन । विशेष महाधिवेशन पक्षधरको मागलाई समेत सम्बोधन गर्नेगरी महाधिवेशनको कार्यतालिका ल्याएको भए पनि कार्यान्वयन हुनेमा नेताहरू ढुक्क हुन सकेका छैनन् । महाधिवेशनको मिति तोकेसँगै बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिनाका लागि थप गरेको छ ।
१४औँ महाधिवेशन २०७८ मंसिर २४-२८ गतेसम्म काठमाडौंमा सम्पन्न भएको र पार्टीको विधानअनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यहरूको अवधि २०८२ मंसिर २३ गतेसम्म कायम रहनेछ । बैठकले १५औँ महाधिवेशनको कार्यतालिका ल्याएको भए पनि माघ मसान्तसम्मको कार्यकाल थप गरेको कारण तोकिएकै समयमा महाधिवेशन हुनेमा शंका जन्माएको हो । कांग्रेसभित्र उत्कर्षमा पुगेको महाधिवेशन विवाद पूर्णरूपमा नभई अस्थायी रूपमा विराम मात्रै भएको नेताहरूको टिप्पणी छ । सरकारले २१ फागुनका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसको महाधिवेशन सम्भावित कार्यतालिकाभित्रै सम्पन्न हुनेमा भने नेताहरूमा शंका छ । कार्यतालिका आए पनि निर्वाचनअघि महाधिवेशन सम्भव नभएको तर्क गर्दै आएका शीर्ष तहका नेताहरूबाट धकेल्ने प्रयास हुनसक्ने विशेष महाधिवेशन पक्षहरूको अनुमान छ ।
निर्वाचनअगावै नियमित हुन नसक्ने र विशेष महाधिवेशन गर्नै हुँदैन भन्दै आएका नेतानिकट रहेका जिल्लादेखि वडासम्मको कार्यसमितिको नेतृत्वले कार्यतालिकालाई उल्लासपूर्वक कार्यान्वयन नगरे महाधिवेशन सम्भव नहुने उनीहरूको बुझाइ छ । महाधिवेशन सुनिश्चितताका लागि निर्वाचनअगावै अधिवेशन हुन नसक्ने अडानमा रहेको पक्षसँग निकट रहेका नेताहरूले कार्यतालिका आइसकेपछि महाधिवेशनका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा उनीहरूको जोड छ । समय कमीका कारण सम्भावित कार्यतालिकाअनुसार महाधिवेशन वास्तविक रूपमा सम्पन्न हुन्छ कि केवल घोषणा मात्रै गरिने हो भन्ने आशंका उब्जिएको छ । समयमै महाधिवेशन सम्पन्न गर्नका लागि चापका बीच प्रक्रियालाई अगाडि बढाउन क्रियाशील सदस्यता वितरणसम्बन्धी सबै विषयहरू तत्काल टुंगो लगाउन आवश्यक रहेको छ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अब महाधिवेशन धकेल्ने आफूहरूको कुनै रणनीति नभएको दाबी गर्दै विशेष महाधिवेशन हस्ताक्षरकर्ताको आशय समयमा महाधिवेशनको माग नै रहेको जिकिर गर्नुभयो । विशेष महाधिवेशन पक्षधरहरूले मिति तोक्नको लागि मात्रै तोकेको भए आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिनुभएको छ ।
विशेष महाधिवेशन पक्षधरले उठाए प्रश्न
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २६-२८ को महाधिवेशन मितिपूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यावहारिक र अवैज्ञानिक देखिएको निष्कर्ष निकालेको छ । विशेष महाधिवेशन पक्षधरले वक्तव्य जारी गर्दै तोकिएको समयमा नियमित नभए विशेष महाधिवेशन हुने प्रष्ट अडान दोहो¥याएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ । त्यसैले हामी स्पष्ट पार्न चाहन्छौँ, कुनै पनि वहाना वा अवस्थामा अधिवेशनका शृंखलाहरू अवरुद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधानबमोजिम पूर्णरूपमा कार्यान्वयन योग्य छ ।’
पुसमा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ? भन्ने प्रश्न गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ । यसबीच हुने आम चुनावका विभिन्न सिफारिशहरूको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गम्भिरतापूर्वक हेरिरहेका छौँ ।’ १५औँ महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम भएको पनि दाबी गरिएको छ ।
महामन्त्री थापा नै छैनन् ढुक्क
महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकामा राखिएको समय ग्यापबारे प्रश्न उठाउनुभएको छ । तालिकामा समावेश गरिएको अधिवेशनमा समयको ग्यापबारे महामन्त्री थापाले बैठकमा लिखित अतिरिक्त प्रस्तावमार्फत प्रश्न उठाएको उहाँको सचिवालयले जनाएको छ । थापाले लिखित अतिरिक्त प्रस्तावमा लेख्नुभएको छ, ‘नियमित महाधिवेशन जुनसुकै हालतमा हुनुप¥यो । यदि कुनै कारणले नियमित महाधिवेशन नहुने भयो भने स्वतः विशेष महाधिवेशन हुनेछ । कथम्कदाचित पुस महिनाभित्र कार्यतालिकाबमोजिम १५औँ अधिवेशन कुनै कारण वा नियतले नहुने देखिन आएमा हामीले पुसको अन्तसम्म कुरिराख्नु पर्दैन, पुस महिनाको उपयुक्त समयमै निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नुपर्दछ ।’
महाधिवेशनका लागि समय कम भयो : डा.शशांक
नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको टिप्पणी गर्नुभएको छ । महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘समय कम भयो । महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ । पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुंगो छैन । तर, सबै महाधिवेशनको तयारीमा जुट्नुपर्छ ।’
क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज
कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज (बुधबार) बस्दै छ । पार्टीले महाधिवशेन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको समिति सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिनुभएको छ । बुधबारदेखि समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम सुरु गर्न लागेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘पार्टीले गरेको निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न, केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा गरेको सहजता र उदारतालाई तलसम्म पु¥याउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।’ महामन्त्री गगन थापा संयोजक रहेको व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य हुनुहुन्छ ।
उम्मेदवारको नाम सिफारिश गर्न मातहतलाई कांग्रेसको परिपत्र
नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिश गर्न मातहतलाई परिपत्र गरेको छ । कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिश गर्न मातहतलाई परिपत्र गरेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टी विधानको व्यवस्थाबमोजिम मातहतका निकायलाई उम्मेदवारको नाम सिफारिश गर्न निर्देश गर्ने भनी गरेको निर्णयअनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्यका लागि परिपत्र गर्नुभएको हो ।
प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नाम सिफारिश प्रक्रिया सम्बन्धमा परिपत्रमा भनिएको छ, ‘पार्टी विधानको धारा ३२ (८) (क) बमोजिम प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सो क्षेत्रभित्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठक (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा सो जिल्लाभित्र रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको संयुक्त बैठक) बस्ने ।’






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच