नसंशयमनारुह्य नरो भद्राणि पश्यति ।
संशयं पुनरारुह्ययदिजीवतिपश्यति ।।
उद्यमेन हि सिध्यन्तिकार्याणि न मनोरथैः
उद्यमशील मान्छेले कठिनाइ उठाउनुपर्छ । उद्यम पनि दुई प्रकारका हुन्छन् । एउटा स्वफाइदा गराउने अर्को सबैलाई फाइदा गराउने । यी दुवैमा कठिनाइ उठाएर पनि सफल भएमा कल्याणकारी नाम, यश, कीर्ति कमाउन सकिन्छ । संघर्षका क्रममा त्यसकै कवल बनियो भने टन्टै साफ हुन्छ पासाङ ह्लामु सेर्पाजस्तै । यो माथिको श्लोकले यस्तै उत्साहवद्र्धक कुरो गरेको छ । मान्छे संशयपूर्ण काममा लाग्दा कि मर्छ कि बाँच्यो भने अनन्त यश कीर्ति लाभ गर्दछ । संशयपूर्ण काममा हात हालेर पनि आजीवन टिकेर सफलता पाएको मात्र एकजना बीपी कोइराला देखिन्छन् यस देशको इतिहासमा । पुष्पलाल पनि तपस्वी बनेका हुन् तर उनले त्यो सफलता देख्न पाएनन् जुन कीर्तिमान् देखेर बीपीले पञ्चत्व गमन गरेथे ।
घर तीन कुराले बिग्रन्छ । पतिपत्नीमा मेल नभएर । सन्तान नालायक भएर । उद्यमहीन आकांक्षामा परिवारका सदस्य लागेर । नेपाली कांग्रेसमा आरम्भदेखि नै संशय, अविश्वास बढेर आउँदाआउँदै २००९ सालमा २००७ सालका सर्वोच्च कमाण्डर मातृका र बीपीका बीचमा नै खटपट भएर पार्टी नै फुट्यो ।
बीपीका संघर्षको अमृतासव गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले आकण्ठ पान गरेका हुन् । गिरिजाप्रसादले प्रजातन्त्रका बोटमा नजानेर पानी हाल्ने ठाउँमा स्वार्थ, परिवार र फाइदाको घोल सिञ्चन गर्न पुगे । उनको नियत सफा थियो ढंग पुगेन । यसलाई शतप्रतिशत बढाएर सत्तास्वार्थ, आफन्त जगेर्ना, नजानिदो गरी जात प्राथमिकता, लेनदेन, ग्रुपवाद, अनिर्णय, अप्राकृत गठबन्धन, आलोपालो शासनसत्ताको व्यवस्थापन गरेर संसारका गलत शासनका इतिहासलाई बाउन्ने बनाउन सफलता पाएका खशेपु यस देशका सबैभन्दा असह्य अनुहारका शासक बनेर पनि देखिए । आज नवपुस्ताको आन्दोलनपछि पनि खड्गप्रसाद ओली कम्बर भाँचिएको दुर्योधन जस्तो गरी घिटिकघिटिक सास फेर्दै छन् ।
प्रचण्डले छेपाराका झैँ रूप भेष बदलेर झोला ठूलो सिलाएर नेपालका गाउँमा भिक माग्न गएका देखिन्छन् । यी दुईभन्दा ज्येष्ठ र बीपी जस्ताका अनुयायी मानिएका शेरबहादुर चाहिँ आधा शरीर सर्पले निलेको भ्यागुताले झिँगा र मच्छड सासले तानेर खान बल गरे झैँ आफ्ना गतिछाडा अनुयायीबाट घेरिएर नचाहिँदो प्रयत्न गरिरहेका देखिन्छन् । उनको यो खेल चुनावका बेला टिकट र बृफकेस साटासाट गर्ने लोभका डोरीमा तुर्लुंग झुण्डिएको देखिन्छ । यति निम्छरो लाटाले पनि बुझ्ने शकुनि जाल फालेर किनारामा बसेका देखिन्छन् । उनले जम्मा गरेको धनलाई आगो लाए पनि अझै लिप्सा मरेको देखिएन ।
बिग्रेका घरको भत्केको चाल
घर तीन कुराले बिग्रन्छ । पतिपत्नीमा मेल नभएर । सन्तान नालायक भएर । उद्यमहीन आकांक्षामा परिवारका सदस्य लागेर । नेपाली कांग्रेसमा आरम्भदेखि नै संशय, अविश्वास बढेर आउँदाआउँदै २००९ सालमा २००७ सालका सर्वोच्च कमाण्डर मातृका र बीपीका बीचमा नै खटपट भएर पार्टी नै फुट्यो । त्यस बेलाको फुटको कारण थियो राजाका प्रति नरम नीति कि जनताका प्रति भन्ने बहस ? मातृका राजाप्रति लागे भने बीपी जनताप्रति लागेर विजय प्राप्त गरेका थिए । अहिले कांग्रेसका घरको कलह फागुन २१ भन्दा पछि महाधिवेशन कि पहिले भन्ने नै बाहिर मूलरूपमा देखापर्छ । भित्र आउँदो चुनावमा टिकट कसले बाँड्ने भन्ने चुरो कुरो रहेको छ एउटा ।
अर्को चाहिँ केही कांग्रेसी अहिले नै पद भाग लाउने फलानो सभापति, फलानो प्रधानमन्त्री र फालानो चाहिँ राष्ट्रपति यदि कांग्रेसले जित्यो भने भनेर तय गराउन चाहन्छन् । अहिलेका सभापति केही मान्छेलाई अहिले नै केही पनि दिन या भाग लाउन चाहँदैनन् । उनलाई डर के छ भने जाँदाजाँदै भागबण्डा गरेर नै गएको इतिहास नबसोस् । का.बा.सभापति चाहिँ ग्रुपमा पकड जमाउन सकिन्छ कि भन्ने दिवास्वप्नमा लागेका देखिन्छन् । अन्ततः कांग्रेसले पार्टीलाई फुटबाट बचाउने हो भने दुई कदम चाल्नुपर्ने देखिन्छ । एउटा विधिसम्मत मार्ग र अर्को राजनीतिक बाटो समात्नुपर्ने पनि हुनसक्छ ।
पहिलो हो मंसिरका कुनै दिनबाट क्रियाशील सदस्यको नवीकरण, नवक्रियाशील सदस्य बनाउने र वडा तहदेखिको चुनाव आरम्भ गर्दै गएर पुस मसान्तसम्ममा पन्ध्रौं महाधिवेशन सक्ने । अनि नयाँ नेतृत्व नयाँ नीति नवउत्साहका कारणले कांग्रेसमा धेरै नवपुस्ता पनि प्रवेश गर्नेछ र पुराना पनि विधिको बाटो हिँड्न आरम्भ गरेका कारणले सन्तुष्ट भएर लाग्ने छन् । निर्वाचन जितेर आएका सभापतिले हिजो कुनै पनि कारणले पार्टी छाडेका, पार्टीले कारबाही गरेर निकालेका सबैलाई पार्टीमा फर्केर आ-आफ्नो योग्यता अनुसारको स्थान प्राप्त गर्न सकिने ग्यारेन्टी प्रदान गर्ने । अहिले कांग्रेसमा न नीति छ न विधि छ न समयको अनुशासन छ न त ज्येष्ठानुक्रमको मर्यादा नै रहेको देखिन्छ ।
व्यक्तिका सनकमा दल चलाएर आएको दुष्परिणामका सारा थिगार अहिले कांग्रेसमा थुप्रेका कारण कांग्रेस भत्केको घर चारैतिर दैलैदैलो बनेको छ । राजनीतिक निर्णय भनेको चाहिँ अहिलेको नेपालको अवस्था, लोकचाहना, अन्तर्राष्ट्रिय जगत्लाई पनि विश्वासमा लिन सक्ने, नवनीति ल्याएर पनि कांग्रेसलाई पुनर्जीवन दिने व्यक्तित्वका रूपमा र शालीन प्रस्तुति आदिका दृष्टिले पनि भोलिको महाधिवेशनबाट जितेर आउनसक्ने सम्भावना देखिएका डा.शेखर कोइरालालाई केन्द्रीय का.वा.सभापति बनाइदिएर अहिलेका सभापतिले भोलिको चुनावपछि उहाँ जितेर आएको खण्डमा पदासीन गराएर सम्मानपूर्वक विश्राममा जाने । यो सजिलो छैन । यसका लागि उच्च राजनीतिक र मर्यादित इच्छाशक्तिको आवश्यकता पर्दछ । जसको ठूलो अभाव देखिन्छ ।
नेपालका धेरैजसो ठूला पुराना राजनीतिक दलमा अहिले अनावश्यक किसिमको प्रसव पीडा देखापरेको छ । यस प्रकारको प्रसवपीडाबाट इतिहास हेर्दा राम्रो जातक जन्मेको भेटिँदैन । कृष्ण जेलमा जन्मे मातालाई पटक्कै कष्ट भएन । राम दरबारमा जन्मे मातालाई उनले पनि कष्ट भोगाएनन् । बुद्ध बाटामा जन्मे आमालाई अशक्त बनाएनन् आफैं सात पाइला हिँडे बरू ।
नहि सुप्तस्य सिंहस्यप्रविशन्तिमुखे मृगाः
सुतेका सिंहका मुखमा आफैं आएर मृग पस्दैनन् । भोलिको नेतृत्व लिन चाहनेले मौका अनुसार सम्झौता र मौका अनुसार नवनिर्णय गर्न पनि सक्नुपर्दछ । नयाँ पाइला नचाल्दा जसरी नयाँ ठाउँमा पुग्न सकिँदैन त्यसै गरी राजनीतिमा पनि नयाँ नयाँ कार्यक्रम र जनतासँगको नित्य सुसम्बन्ध भएन भने जनता विकर्षित भएर अर्कैतिर लाग्छन् । प्रचण्ड र जनार्दन, विप्लव यसका उदाहरण हुन् । उचित सम्मान दिन नजान्दा पनि दलमा लागेका मान्छे थेगिँदैनन् । स्वर्णिम वाग्ले, रामकुमारी झाँक्री यसका उदाहरण हुन् । अति बेवास्ता गरेर दुःख दिने नियत राख्दा पनि मान्छे उदासीन बन्छन् । डा.भीम रावल यसका राम्रा नमुना हुन् ।
नवकल्पना र नवयोजना बनाउने अनि तर्कपूर्ण समीक्षा नगरिकन निष्कर्षमा नपुग्ने बानी भएका मान्छे हुन्छन् तिनलाई नेताले चिन्न सकेनन् भने पनि हीरा कीरा ठानेर गुमाउँछन् । घनश्याम भुसाल यस्तै परेका छन् ओलीका लागि । यी उदाहरण यहाँ किन दिइयो भने नेपाली कांग्रेसका हिजोका नेतृत्वले पनि यस प्रकारका अवगुण प्रदर्शन गरेको थियो र भोलि आउनेमा पनि यही दोहोरियो भने यो डा.डिल्लीरमण रेग्मीको पार्टी बन्नसक्छ । जेन-जी आन्दोलनपछि पनि पुरानै सोंच र चालमा रहेको देख्दा भन्नैपर्ने हुन्छ विनाशकाले विपरीत बुद्धिः । आदर्श र इतिहासले जनताको पेट भरिँदैन, व्यवहार चल्दैन जसले काम गर्दछ, उद्योग व्यसाय खोल्छ र भएकालाई चुस्त दुरुस्त बनाएर नवचालढाल देखाउँछ जनताले त्यसैलाई रोज्छन् ।
नेपालका ठूला पार्टी कुनै सर्वसत्तावादी र कुनै सत्तालुब्धका हातमा परेर आ-आफ्नो संस्कार गुमाउनाको दुष्परिणाम नै नवपुस्ता विद्रोह हो भन्ने कुराको आत्मस्वीकृति नेपाली कांग्रेस र नेकपा एमालेले आज पनि नगरेको देख्दा अपराधीलाई मुटु काम्ने खालको सजाय दिनैपर्ने हो कि जस्तो पनि लाग्दोरहेछ । प्रजातन्त्र अरूलाई मर्यादा गरेर आफू मर्यादित हुने लचिलो व्यवस्था हो तर पात्र जब अयोग्य पर्छन् अनि यो वानरका हातको नरिवल बन्दोरहेछ । मैथिलीको उखान ‘बानर कि जानएअद्रखक स्वाद’ ले पनि यस्तै पात्र र वस्तुको योग्यता नमिलेका स्थितिको संकेत गर्दछ । नेपालको राजनीतिक मैदान र नेपाली राजनीतिकर्मीको मनसाय त्यति भरपर्दो रहेनछ ।
कसैलाई केको धन्दा कसैलाई केको धन्दा घरज्वाइँलाई खानकै धन्दा भने जस्तो नेपालका तारे, तिल्के, पुत्ले, पांग्रे, लिँडे, बुचे सबैले राजनीति गर्न मात्र जानेका छन् । अहिले लट्टेको फुल उठे झैँ राजनीतिक दल खुलेका छन् । हुँदा-हुँदा लोग्नेस्वास्नीका पनि छुट्टाछुट्टै दल खुलेका थिए/छन् पनि । राजनीतिक दलका स्थानमा उद्योग खोलुन् भने सरकारले सुरक्षा दिन र अपराधीलाई कारबाहीका दायरामा ल्याउन नसकेको पनि देखियो । जनताले पनि उद्योग व्यवसाय गरी कमाएको पनि नसहेको देखियो । दल खोल्न जत्तिकै सजिलो, सह्य उद्योग व्यवसाय खोलेर चलाउने वातावरण कि सरकारले कि जनताले त बनाउनै पर्छ । कसैले पनि यता ध्यान नदिने हो भने सम्पत्ति डढाउन कसैले पनि लगानी गर्दैन । भ्रष्टाचारी पूज्ने, गुन्डाका गोडाको पानी खाने, गरिबलाई सताउने उद्योगीको रिस गर्ने पनि सरकार या जनता हुन्छन् ? यो देश बिगारा यिनै हुन् ।
प्रसवपीडा र नवजातक
नेपालका धेरैजसो ठूला पुराना राजनीतिक दलमा अहिले अनावश्यक किसिमको प्रसव पीडा देखापरेको छ । यस प्रकारको प्रसवपीडाबाट इतिहास हेर्दा राम्रो जातक जन्मेको भेटिँदैन । कृष्ण जेलमा जन्मे मातालाई पटक्कै कष्ट भएन । राम दरबारमा जन्मे मातालाई उनले पनि कष्ट भोगाएनन् । बुद्ध बाटामा जन्मे आमालाई अशक्त बनाएनन् आफैं सात पाइला हिँडे बरू । दुर्योधन जन्माउन गान्धारीले असह्य कष्ट सहँदा पनि मासुको फाल्सो जन्माएर घडामा वर्ष दिन राख्नु प¥यो । रावणले जन्मने बित्तिकैका रुवाइले विश्व थर्कायो । कंस जन्मदा अनेकौं अपशकुन देखिए । जरासन्ध आधा आधा अंगको जन्म्यो ।...शिशुपाल जन्मदै अपशकुन लिएर आयो । कृष्णले सयवटासम्म त्यसका दुष्ट्याइँ सहेर १०१ भएपछि सिध्याइदिएथे ।
अहिले सबैभन्दा बढी नखरा नेपाली कांग्रेसले देखायो । विश्वका लामा बैठकको इतिहास तोड्यो, कतै मासिनका लागि त होइन ? दोस्रो छेपारे चाल माओवादीले देखाएर फुट्ने र जुट्ने अनेकौं बहुरूप प्रदर्शन गर्दैछ । कंस, रावण, ज्याउल हक, दादा इदि अमिन र हिटलरका नवअवतारका रूपमा देखिएका एमाले अध्यक्ष अझै र्याल चुहाउँदै जनताका घरदैलामा जाने सुरमा देखिन्छन् । हलेदो कति कोट्याऊँ । नेपाली मतदाताको मनसाय हेर्दा भने यी सुध्रने सम्भावना कम देखिँदै छ । बबुरको बोट रोपेर मालदह आँप खाने इच्छा गर्न मिल्छ र ?
विगतदेखि असफल भएका नेता फालेर ती दलमा भएका अपेक्षित राम्रा नगनाएका, अवसर नपाएका तर चारित्र राम्रो भएका छानेर मतदाताले मतदान गरे बहुदलीय प्रजातन्त्र जस्तो पवित्रतम् राजनीतिक पद्धतिले देश र जनतालाई राहत दिनसक्ने थियो तर यी दलमा सुधारको संकेत नदेख्दा मन निराश भएको छ, बुझ्ने खालका धेरै मान्छेको । भाग्यं फलति सर्वत्र नविद्या न च पौरुषम् ।






Umda