काठमाडौं । नेपालका पर्यटन उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)ले सहकार्य गर्ने भएका छन् । दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचारप्रसार, मेगा इभेन्ट तथा ब्राण्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सम्झौता गरेका हुन् । सम्झौताअनुसार बोर्डले विदेशी पर्यटन मेला, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलन, फ्याम ट्रिपलगायत सबै प्रमुख प्रवद्र्धनात्मक कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन’का रूपमा निःशुल्क सहभागिता प्रदान गर्नेछ । नेपाल एयरलाइन्सले पनि आफ्ना उडान गन्तव्यमा सय केजीसम्मका प्रवद्र्धन सामग्री निःशुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट उपलब्ध गराउने तथा किफायती टिकट सुविधा प्रदान गर्नेछ ।
दुवै संस्थाले अन्तर्राष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपमा सामूहिकरूपमा काम गर्नेछन् । नेपालका पर्यटकीय गन्तव्य तथा उत्पादनको डिजिटल विज्ञापन, प्रमोसन भिडियो, संयुक्त ब्राण्डिङ, वेबसाइट लिंक सपोर्ट, संयुक्त होर्डिङ बोर्डलगायत सामग्री उत्पादनलाई पनि नयाँ रूपले एकीकृत गर्ने सम्झौतापत्रमा उल्लेख छ । बोर्ड र नेपाल एयरलाइन्स दुवैले आवश्यक परेको अवस्थामा संयुक्त ब्रोसर, गाइडबुक, पोस्टर तथा सांस्कृतिक विविधता झल्किने सामग्री निर्माण गर्ने र विदेशी राष्ट्रिय दिवस वा व्यापारिक कार्यक्रमहरूमा संयुक्त उपस्थिति जनाउनेछन् ।
नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडी तथा खेलकुदमा संलग्न व्यक्ति तथा सेलिब्रिटी सहभागी हुने मेगा इभेन्टमा पनि निगमले सहुलियत टिकट उपलब्ध गराउनेछ । उक्त सहकार्यमार्फत् नेपालको पर्यटन प्रवद्र्धन संरचना बढी गतिशील, समन्वित र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ । दुवै संस्थाले हरेक छ महिनामा संयुक्त प्रतिवेदन तयार पारेर कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्ने जनाएका छन् ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सहकार्यलाई नेपालको अन्तर्राष्ट्रिय छवि तथा बजार पहुँच विस्तारका लागि ऐतिहासिक कदम भन्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो र पर्यटन यसको मूल चालक शक्ति हो । दुवै संस्थाबीचको यो रणनीतिक साझेदारीले नेपाली ब्राण्ड विश्वभर उच्चतम प्रचार र प्रवद्र्धन गर्न टेवा पुग्नेछ । विमानस्थलदेखि गन्तव्यसम्म एकीकृत प्रवद्र्धनले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बन्छ ।’




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच