ललितपुर । हस्तकला दिवसका अवसरमा बुधबारदेखि ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव २०८२(क्राफ्ट एण्ड कल्चर फेस्टिबल) सुरु भएको छ । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका वडा नम्बर १६ र पाटन संग्रहालयको संयुक्त आयोजनामा कला र सांस्कृतिक धरोहरका रूपमा रहेको नेपाली हस्तकलाको प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको हो । ललितपुर महानगरपालिकास्थित पाटन दरबार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा आयोजित प्रदर्शनीमा करिब २१ क्यानओपी र १० वटा टेबुल स्टल रहेका आयोगले जनाएको छ ।
प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरूका अलावा ललितपुर महानगरपालिका वडा १६ को हस्तकला तथा पर्यटन प्रवद्र्धन समितिबाट बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातीय पोशाक प्रदर्शनी र सोही वडाको सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्यलगायत धाः बाजा, दमोखिं बाजा नेपाल भाषाका लोकगीतलगायतको प्रस्तुतिका साथै महासंघबाट कोरियास्थित इम्याकोको सहकार्यमा मुखुण्डो (मास्क) पनि प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनी उद्घाटन गर्दै बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले बागमती प्रदेशका जिल्लाहरूमध्ये ललितपुर हस्तकलाका रूपमा योगदान गर्ने प्रमुख जिल्ला भएको बताउनुभयो । उहाँले बागमती प्रदेश कला र संस्कृतिले भरिपूर्ण भए पनि त्यसमध्ये ललितपुर, भक्तपुर र काठमाडौंमा हस्तकलाका सामग्री प्रयोग गरेर बनाइएका पुरातात्विक सम्पदा बढी भएकाले तिनको संरक्षण गर्न संघ, प्रदेश र स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्तकला सामग्री बनाउने र व्यवसाय गर्ने अर्को पुस्ता नरहने अवस्था आएको भन्दै हस्तकला पुस्तान्तरणमा जोड दिनुपर्ने बताउनुभयो । विदेश पलायन हुने युवा रोक्न हस्तकलामैत्री नीति आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हस्तकलाको क्षेत्रमा अहिले पुस्तान्तरण नभएको कुरा हामीले मनन गर्नैपर्छ, नयाँ जेनेरेसन विदेश पलायन भएको अवस्था छ । हस्तकला क्षेत्रमा एउटा राम्रो प्लाटफर्म अहिले नै बनाउन सकिएन भने उहाँहरू विस्थापन हुने र पुस्तान्तरण नहुनेमा धेरै नै अन्योलता रहन्छ जस्तो लाग्छ ।’ पाँचदिने प्रदर्शनी महोत्सव आइतबारसम्म सञ्चालन हुने बताइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच