काठमाडौं । लामो विवाद र रस्साकस्सीपछि पार्टीको १५औँ महाधिवेशनको मिति टुंगो लागेसँगै नेपाली कांग्रेसमा भावी नेतृत्वको लागि प्रतिस्पर्धा सुरु भएको छ । त्यसो त नियमित वा विशेष महाधिवेशन पक्षधरहरूको विवाद टुंग्याएर नेपाली कांग्रेसले पार्टीको महाधिवेशनका विषयमा मध्यमार्गी निकास निकालेपछि पार्टीका नेतादेखि कार्यकर्ता तहसम्म उत्साह पैदा गराएको छ । १५ मंसिरमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशनको मिति र तालिका सर्वसम्मतिले पारित गरेसँगै कांग्रेस महाधिवेशन केन्द्रित भएको छ ।
आउँदो पुस २६-२८ सम्म १५औँ महाधिवेशनको कार्यतालिका तय भएसँगै कांग्रेसभित्र महाधिवेशनको रौनक छाएको हो । महाधिवेशनबाट नेतृत्वमा पुग्ने आकांक्षामा रहेका नेताहरू थप उत्साही भएका छन् । महाधिवेशनको मिति टुंगो लागेसँगै नेतृत्वका आकांक्षीहरूले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । महाधिवेशनको मिति र कार्यतालिका आएसँगै सभापति शेरबहादुर देउवा समूहबाट सभापतिको उम्मेदवार को बन्ने भनेर विगतदेखिकै बहसले पुनः चर्चा पाउन थालेको छ । किनभने पार्टीको विधानले देउवालाई तेस्रो कार्यकालका लागि सभापति बन्ने बाटो बन्द गरिसकेको छ । नेपाली कांग्रेसको विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने व्यवस्था छ । त्यसैले पनि संस्थापन समूहबाट देउवाको उत्तराधिकारी को बन्छ ? भन्ने बहस चलेको हो ।
नेतृत्वको लागि आन्तरिक छलफल सभापति देउवा अर्थात् संस्थापन समूहबाट सुरु भएको छ । सोमबार संस्थापन पक्षका पूर्व-पदाधिकारीहरूले भावी नेतृत्वबारे सभापति देउवासँग छलफल गरेका छन् । देउवाले समूहमा छलफल गरेर एक जनाको नाम सर्वसम्मत गरे उसैलाई उत्तराधिकारी बनाउने वचनसमेत दिनुभएको छ । आफूनिकट नेताहरूलाई उहाँले सहमति गरेर साझा नाम ल्याउन निर्देशन दिनुभएको छ । देउवाले टिम र पार्टीलाई हाँक्नसक्ने व्यक्तिलाई आफ्नो उत्तराधिकारी बनाउने इच्छा रहेको समेत स्पष्ट पार्नुभएको छ । देउवालाई भेट्न सभापतिका आकांक्षीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू पुगेका थिए । संस्थापन समूहबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व-उपसभापतिहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्वमहामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र पार्टी प्रवक्ता डा.प्रकाशशरण महत लगायतले नेतृत्वको आकांक्षा राखेका छन् । देउवाको आशीर्वाद पाए सभापति जित्न सकिन्छ भन्ने विश्वास र भरोसा आकांक्षीहरूलाई छ ।
हुन त देउवाकै समूहबाट सभापति बन्न चाहनेको संख्या ठूलो छ । विशेष गरेर सात भाइको पहिचान बनाएका नेताहरू सबैले देउवाले आफूलाई सभापतिमा अघि बढाऊन् भन्ने आशा राखेका छन् । तर, देउवाले हालसम्म कसैलाई पनि टिमको नेता भनेर वचन दिनुभएको छैन । संस्थापन पक्षका नेताहरू मात्रै नभई देउवाको विश्वास लिएर महाधिवेशन लड्न अन्य संस्थापनइतर समूहका नेताहरू डा.शेखर कोइराला र महामन्त्री गगन थापाको पनि चाहना रहेको कांग्रेस राजनीतिका जानकारीहरूको जिकिर छ । देउवाको अनुपस्थितिमा कांग्रेसले महाधिवेशनको विषय टुंगो लगाउन सकेको थिएन । तर, देउवा सक्रिय भएलगत्तै पार्टीभित्रको महाधिवेशन विवाद सहमतिमा टुंगियो । त्यसकारण पनि कांग्रेसको भावी नेतृत्वको लागि सभापति देउवा नै रहेको पुष्टि भएको छ । हुन त महाधिवेशनको मिति घोषणा भए पनि क्रियाशील सदस्यता टुंगो लाग्न सकेको छैन । नेता तथा कार्यकर्तामा तोकिएको मितिमा महाधिवेशन हुनेमा आशंका भने कायमै छ । महाधिवेशन हुनेमा आशंका जारी रहे पनि आकांक्षीहरूले भने सभापति पदमा उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन् ।
महामन्त्री थापाले गरे सभापतिको उम्मेदवारी घोषणा
पार्टी महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । थापाले आसन्न १५औँ महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गर्नुभएको हो । एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने कुरामा कुनै शंका नरहेको उल्लेख गर्दै भन्नुभयो, ‘पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्नेमा त कुनै डाउट नै भएन नि । म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५औँ महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने छ ।’ कांग्रेस महाधिवेशनको मिति घोषणा भएपछि सभापति पदमा उम्मेदवारी घोषणा गर्ने महामन्त्री थापा नै पहिलो बन्नुभएको छ ।
डा.शेखर पक्षको निष्कर्ष : ‘महामन्त्री गगनलाई साथ लिएर जानुपर्छ’
पार्टीको १४औँ महाधिवेशनपछि कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गर्दै आउनुभएका केन्द्रीय सदस्य डा.शेखर कोइराला पक्ष पनि आन्तरिक छलफलमा जुटेको छ । १५औँ महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहनु भएका डा. कोइरालाले आफूनिकट नेताहरूसँग बुधबार छलफल गर्नुभएको छ । कोइरालाले १४औँ महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल गर्नुभएको हो । कोइराला पक्षको भेलाले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएका महामन्त्री गगन थापालाई पनि एकठाउँमा लिएर हिँड्न पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी एक नेताले भने, ‘डा.शेखर सभापति उठ्ने पक्का नै हो । उहाँले आफ्ना टिमको बैठक राख्नुभएको थियो । गगनलाई पनि सँगै लिएर जानुपर्छ भनेर निष्कर्ष निकालेका छौँ । छलफल जारी छ । केही दिनमा निष्कर्षमा पुगिएला ।’ बैठकमा सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य गोविन्द्र पोखरेलसहित एक दर्जन बढी नेताहरू सहभागी रहेको बताइएको छ ।
कोइराला परिवारबाट एकजना मात्र उम्मेदवार
महाधिवेशनको गर्मागर्मी सुरु भएसँगै कांग्रेसमा भावी नेतृत्वको लागि कोइराला परिवारबाट उम्मेदवार हुनेको चर्चा फेरि सुरु भएको छ । कोइराला परिवारबाट हाल केन्द्रीय सदस्य डा.शेखर कोइराला, पूर्वमहामन्त्री डा.शशांक कोइराला र नेतृ सुजाता कोइराला कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । तीन जनामध्ये नेतृ सुजाता दुई जनाको तुलनामा कम सक्रिय देखिनुभएको छ । यसपटकको महाधिवेशनमा पनि कोइराला परिवारबाट नेतृत्वको आकांक्षीको चर्चा सुरु भएको छ । मुख्यगरी डा.शेखर र डा.शशांकमध्ये सभापतिको उम्मेदवार को बन्ला ? बन्ने चासो छ । सभापतिका आकांक्षी डा. शशांकले मंगलबार एक पत्रकार सम्मेलनमा भन्नुभयो, ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एकजना लड्छौँ ।’
दुई दिनभित्र नयाँ सदस्यता फाराम पुर्याउने
महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले दुई दिनभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पु¥याइसक्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले नवीकरणको आधारमा शतप्रतिशत नयाँ सदस्यता फर्म पठाउने निर्णय गरेको हो । नयाँ सदस्यता फर्म पठाउँदा क्षेत्रमा जनसंख्या र क्लष्टरको आधारलाई समेत मापदण्ड बनाइएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभएको छ । बैठकले नवीकरणका लागि सबै जिल्ला समितिलाई पासकोडसमेत पठाउने निर्णय गरेको छ । ‘जेन-जी’ आन्दोलनको क्रममा क्षति पुगेका कार्यालयमा अभिलेखको अवस्थाबारे जानकारी क्रियाशील सदस्यता व्यवस्थापन समितिले लिने भएको छ ।
शुक्रबार सबै भ्राृत संस्थाका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका बारेमा छलफल गरिने भएको छ । सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रूपमा लिनका लागि छलफल गर्ने लागिएको सदस्यहरूले बताएका छन् । समितिका तीन सदस्य स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरीले आज (बिहीबार) सबै प्रदेशमा क्रियाशील सदस्यताको अवस्थाबारे छलफल गर्दै हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच