काठमाडौं । नेपाललाई सिंगापुर र स्विट्जरल्याण्ड बनाउने सपना देखाएर ‘पुराना नेताहरू’ले वर्षौं राजनीति गरे । तत्कालीन माओवादी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलधारको राजनीतिमा आएसँगै नेपाललाई सिंगापुर बनाउने उद्घोषण गर्नुभएको थियो । त्यसपछि पनि नेताहरूले अनेक सपना देखाए । घर-घरमा ग्यास पाइपदेखि रेल र पानीजहाज एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला सपना थिए । उनीहरूले के-के गरे ? नेपाललाई कस्तो बनाए ? सबै हाम्रासामु छर्लंगै छ ।
त्यसपछि वर्षौंदेखि अनेक झुठा सपना देखाएर राजनीतिक रोटी सेकाएका पुराना दल र तिनका नेतालाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आयो । रास्वपा सभापति रवि लामिछानेले आफू निर्वाचित भएको सय दिनमा वैदेशिक रोजगारीमा रहेका सय नेपालीलाई स्वदेशमै रोजगारी दिनेगरी फर्काउने बाचा गर्नुभयो । त्यसका लागि लाखसम्म तलब दिने भन्दै विज्ञापन पनि गरिएको थियो । यसबाहेक ब्लु बस सेवा, मोबाइल क्लिनिक, नमुना विद्यालय, स्वस्थ चितवन, आवासीय नमुना स्कुल, हेल्लो रवि, ¥यापिड एक्सन टिमलगायत उहाँका बाचा थिए । छोटो समयमै ठूलो उतारचढाव भोगेको रास्वपा र सभापति लामिछानेका यी बाचा के भए ? ती पनि हाम्रो अगाडि छन् ।
गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनपछि फेरि दल दर्ताको बाढी आयो । नयाँदेखि पुराना र अभियन्तादेखि भाइरलसम्म धेरैले दल खोलेका छन् । दल दर्तासँगै उनीहरूका पनि अनेकथरि बाचा छन् । कसैलाई प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिएको छ, कोही सिधै संविधान फेर्ने एजेण्डा लिएर आएका छन् । आफू कार्यकारी प्रमुख निर्वाचित हुने बाचा गर्दै सामाजिक सञ्जालमा भाइरल हुनुभएका डा. निकोलश भुसालको केही वर्षमै प्रत्येक नेपालीलाई करोडपति बनाउने योजना छ । उहाँका यस्तै अनौठा योजना त कति छन् कति । त्यसैमा थपिएको छ धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र कुलमान घिसिङको संरक्षकत्वमा दर्ता भएको उज्यालो नेपाल पार्टी पनि । नयाँ दुवै दलले थरिथरि सपना देखाएका छन् । धेरै बाचा गर्नेमा उज्यालो नेपालभन्दा श्रम संस्कृति पार्टी अगाडि छ । उज्यालो नेपालले केही राजनीतिक मुद्दासहित गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्वभित्र पार्ने बाचा गरेको छ । तर, साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका योजना धेरै र निकै महत्वाकांक्षी छन् । साम्पाङको पार्टीले हप्तामा तीन दिन मात्र पढाइने र बाँकी चार दिन उत्पादन र साहित्यमा लगाइने बाचा गरेको छ । श्रम संस्कृतिले धनीबाट बढी कर लिएर गरिबलाई छुट दिने योजना बनाएको छ ।
उज्यालो नेपाल पार्टीको घोषणापत्र
गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्व
कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमबीच सार्वजनिक घोषणापत्रमार्फत पार्टीले संविधान संशोधनका लागि सात बुँदे एजेण्डा अघि सारेको हो । पार्टीले विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गर्दै आफ्नो प्राथमिक लक्ष्य सुशासन, समृद्धि र सामाजिक न्याय रहेको स्पष्ट पारेको छ ।
पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा हालको शासकीय व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न असम्भव प्रायः रहेको निष्कर्ष निकाल्दै संविधानका केही महत्वपूर्ण धाराहरू संशोधन गर्नुपर्ने औँल्याएको छ । उज्यालो नेपाल पार्टीले प्रस्ताव गरेको सात बुँदे संशोधन एजेण्डामा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी निर्वाचन प्रणालीमा सुधार गर्ने र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गर्ने उल्लेख छ । साथै, प्रदेशमा सांसद रहने व्यवस्था हटाई स्थानीय तहका प्रमुख र उपप्रमुखको प्रतिनिधित्व हुने ‘प्रदेश परिषद्’ बनाउनुपर्ने र सोही परिषद्ले ऐन पारित गर्ने प्रस्ताव पार्टीले अघि सारेको छ । संघीयता कायम राख्दै देशको भूगोल र आर्थिक सामथ्र्यका आधारमा प्रदेश र स्थानीय तहको संरचना तथा संख्या पुनरावलोकन गर्नुपर्ने पार्टीको धारणा छ । शासकीय सुधारका सन्दर्भमा सांसद नभएका विषय विज्ञहरूलाई पनि मन्त्री बनाउन सकिने व्यवस्था गर्नुपर्ने तर परराष्ट्र, गृह, कानुन र रक्षा मन्त्रालयको जिम्मेवारी भने निर्वाचित सांसदलाई नै दिनुपर्ने एजेण्डा घोषणापत्रमा समेटिएको छ ।
त्यसैगरी, न्यायपालिकामा हुने दलीय हस्तक्षेप रोक्न न्याय परिषद्को पुनर्संरचना गर्ने र स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने विषयलाई पार्टीले प्राथमिकताका साथ उठाएको छ । राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री निर्वाचित भइसकेपछि संसद्को आधा कार्यकाल सरकार सञ्चालन गर्ने सुनिश्चितता गरिनुपर्ने र एउटै निर्वाचन क्षेत्रबाट लगातार तेस्रोपटक उम्मेदवार हुन नपाउने कडा व्यवस्थाको प्रस्ताव पनि पार्टीले गरेको छ । समानुपातिक र मनोनीत सांसदको सुविधा एक पटकका लागि मात्र हुनुपर्ने पार्टीको अडान छ । घोषणापत्रमा उल्लेख भएअनुसार राज्यको क्षमता बढाएर गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्वभित्र पार्ने र स्वदेशी पुँजी परिचालन गरी रोजगारी सिर्जना गर्ने पार्टीको मुख्य ध्येय छ ।
श्रम संस्कृति पार्टीको घोषणापत्र
हप्ताको तीन दिन मात्र पढाउने, १२ पासपछि अनिवार्य सैनिक तालिम
यसअघि मंगलबार मात्रै धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पाटीले पार्टीका एजेण्डा र घोषणापत्र सार्वजनिक गरेको थियो । ‘हर्कवाद’को एजेण्डालाई पार्टीको मार्गदर्शक सिद्धान्त घोषणा गरिएको छ । ‘अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्र अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्ति अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद’, मार्गदर्शन सिद्धान्तमा भनिएको छ ।
साम्पाङका अनुसार कार्यकारी राष्ट्रपतिको एक कार्यकाल पाँच वर्षको हुनेछ भने एक व्यक्ति दुई पटकभन्दा बढी चुनिन पाउने छैन । सांसद सरकारमा गए सांसद पद निलम्बन हुनेछ । उहाँका अनुसार व्यवस्थापिका संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक रहने कल्पना हर्कवादको छ । प्रदेशका मुख्यमन्त्रीसमेत स्थानीय सरकार चुनिएझैँ प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नेछ । पार्टीको अवधारणा पत्रअनुसार वैज्ञानिक कर लागू गर्ने जनाइएको छ । उक्त नीतिअनुसार धनीबाट धेरै लिएर गरिबलाई बचाउने नीति लिने पनि उल्लेख छ ।
१२ कक्षासम्म पढ्दा विद्यार्थीलाई खाना पकाउन र लुगा सिउन सिकाइने, १२ कक्षा पासपछि अनिवार्य सैनिक तालिम दिइने, त्यसपछि मात्र उच्च शिक्षा लिन पाउने व्यवस्था गरिने पार्टीको घोषणा पत्रमा उल्लेख छ । शिक्षकहरूलाई राजनीतिमा संलग्न हुन रोक लगाउने पार्टीको योजना छ । ‘एक गाउँ एक उद्योग’ स्थापना गर्ने श्रसंपाको योजना छ । ‘एक घर एक स्वरोजगार’ नीति लागू गर्नेलगायत योजना साम्पाङको छ । सरकारी कर्मचारीलाई गल्ती गरेमा सरुवा मात्रै होइन जागिरबाटै हटाइने, पत्रकार, सरकारी कर्मचारी, र न्यायालयलाई गैरराजनीतिक बनाइने पार्टीको योजना छ ।
म नेता भएर कुर्सीमा बस्ने होइन, हिलोमा र धुलोमा भेटिनेछु : साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको बताउनुभएको छ । धरानमै पार्टीको घोषणापत्र तथा एजेण्डा सार्वजनिक कार्यक्रममा उहाँले जनतालाई देश र माटोसँग जोड्नु आवश्यक रहेको बताउनुभको हो । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुने भन्दै छिटो विकासका लागि श्रमदान अपरिहार्य रहेको उहाँको भनाइ छ । ‘पार्टीको उद्देश्य केवल श्रमलाई मूल्यांकन गर्नु मात्र नभई, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु’, उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीमा कोही नेता र कोही कार्यकर्ता हुने छैन । हाम्रोमा सबै श्रमदाता मात्र हुन्छन् । म नेता भएर ठूलो कुर्सीमा बस्ने होइन, श्रम गर्दै हिलोमा, धुलोमा भेटिनेछु ।’
‘क्राइसिस’ आउँदा मेरो खोजी भयो, अब देशकै लिड गर्छु : कुलमान
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले धेरै ठाउँको ‘क्राइसिस’ अन्त्य गरेको दाबी गर्दै अब देशको लिड गर्ने बताउनुभएको छ । पार्टीको घोषणा कार्यक्रमलाई बुधबार प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै घिसिङले आफूलाई अप्ठ्यारोमा देशले खोजी गर्ने बताउनुभएको हो । ‘संस्थाभित्र क्राइसिस आउँदा मेरो खोजी भएको छ । मेरो उपस्थितिले चिलिमे, विद्युत् प्राधिकरणदेखि मन्त्रीसम्म देशले खोज्यो’, कुलमानले भन्नुभयो, ‘विद्युत् प्राधिकरणमा आएर लोडसेडिङ अन्त्य गर्ने मौका पाएँ । चार महिना बाँकी हुँदा बाहिरिनुपर्यो, निकालियो । त्यहीबेला सरकारलाई धन्यवाद दिएको थिएँ । मन्त्री बनेँ मलाई अवसर नै आयो । यहाँबाट हिँडेपछि अब देशकै लिड गर्नुपर्छ जस्तो लागेको छ ।’ देशमा संकट हुँदा आफ्नो उपस्थिति हुने गरेको घिसिङको दाबी छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच