काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित सात जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इञ्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इञ्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुभयो । उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ ।
१२ करोड खर्चेर बनाइएको भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा उडान जोखिम कारण देखाउँदै पाइलटहरूले केही दिनमै हेलिकप्टर उडाउन मानेका थिएनन् । ३३ रोपनी क्षेत्रफलमा बनाइएको हेलिपोर्टमा विद्युत् तार, रूख र वरिपरिका घरले अवतरण र उडान दुवैमा जोखिम रहेको भन्दै उनीहरूले ज्ञापनपत्र बुझाएका थिए ।
मुद्दा दायर भएसँगै पक्राउ परे महानिर्देशक अधिकारी
त्यसो त मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई पक्राउ गरिएको थियो । विशेष अदालतमा मुद्दा दायरीका क्रममा उनीहरूलाई बुधबार नै पक्राउ गरिएको हो । प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा पनि उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ । न्लिञ्चोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पनि प्रश्न उठ्दै आएको छ ।
प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको समेत उजुरीमा उल्लेख थियो । हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेका थिए । अख्तियारको निर्णयसँगै प्राधिकरणका विवादास्पद महानिर्देशक प्रदीप अधिकारी निलम्बनमा परेका छन् ।
अख्तियारले पोखरा विमानस्थल निर्माण, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको भवन निर्माण र गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमाथि समेत अधिकारीमाथि अनुसन्धान गरिरहेको छ ।
के हो नलिञ्चोकको भ्रष्टाचार मुद्दा ?
नागरिक उड्डयन प्राधिकरणले चार वर्षअघि भक्तपुरको नलिञ्चोकमा हेलिकप्टरहरू उडान र अवतरण गर्ने हेलिपोर्ट निर्माण गरेको थियो । त्रिभुवन विमानस्थलमा विमानहरूको चाप बढेको र पार्किङ साँघुरो भएको भन्दै प्राधिकरणले नलिञ्चोकमा हेलिपोर्ट बनाएको थियो । ठाउँ जोखिमपूर्ण रहेको र सम्भावना देखिएमा मात्रै प्रक्रिया अघि बढाउनुपर्ने’ भनी तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रले राय लेखेका थिए । त्यस्तो अवस्थामा कुनै अध्ययनबिना हेलिपोर्ट निर्माण गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
चार वर्षअघि नलिञ्चोकका हेलिपोर्ट निर्माणको काम अघि बढाउँदा निर्देशक मुरारी भण्डारी र इञ्जिनियर समृद्धि श्रेष्ठ संलग्न भएको अख्तियारको आरोप छ । अख्तियारले आरोपपत्रमा भनेको छ, ‘हेलिपोर्ट जस्तो अति संवेदनशील संरचना निर्माणपूर्व अनिवार्य गर्नुपर्ने सम्भाव्यता अध्ययन, सरोकारवाला तथा विज्ञसँगको परामर्श एवं सञ्चालक समितिमा छलफलसमेत नगरी नगराई बदनियत राखी उक्त कार्य गरे गराएको देखिएको ।’
नेपालमा हेलिपोर्ट संरचना नभएकाले त्यससम्बन्धी परामर्श दिने कम्पनीहरू नभएको अवस्थामा अन्तराष्ट्रिय स्तरको बोलपत्रबाट परामर्शदाता छान्नुपर्नेमा बदनियत राखी अनुभव नभएको परामर्शदाता छनौट गरेको अख्तियारको आरोप छ । हेलिपोर्ट बनाउने फाइल २८ चैत २०७८ मा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्वीकृत गरेका थिए । बजेट स्वीकृत र अनुमोदन नहुँदै खरिद थालिएको भन्दै अख्तियारले भ्रष्टाचारको आरोप लगाएको हो ।
नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ६ मा विमानस्थल निर्माण, विकास, विस्तार र मर्मतमा सरकारको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था भए पनि त्यसको पालना नभएको भन्दै अख्तियारले महानिर्देशक अधिकारीमाथि बदनियत राखेर काम गरेको आरोप लगाएको हो । अख्तियारको दाबीअनुसार, हेलिपोर्टको आसपासमा स्कुलहरू थिए र वरपर अव्यवस्थित रूपमा घरहरू थिए । हेलिपोर्टनजिकै रूखहरू रहेको, नजिकै हाइटेन्सन लाइन रहेको, उडान र अवतरण गर्न जोखिम रहेको भनी पाइलटहरूले नै ज्ञापनपत्र बुझाएका थिए ।
त्यहाँ आधारभूत सुविधा पनि नभएको अख्तियारको दाबी छ । इन्धन भर्ने, सुरक्षा व्यवस्थापन, उपकरण लगायतका सुविधा नभएको अवस्थामा हचुवाको भरमा हेलिपोर्ट निर्माण भएको अख्तियारको दाबी हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १५ किलोमिटर पूर्वमा रहेको उक्त हेलिपोर्टमा यात्रुहरू बस्ने र रहने पूर्वाधार बनेको थिएन । टर्मिनल भवन, मर्मत कार्यालय, ‘क्रु’ रहने क्षेत्र, लगायतको अभाव रहेको भन्दै अख्तियारले आरोपपत्रमा भनेको छ, ‘नलिञ्चोक हेलिपोर्टबाट व्यावसायिक उडान सञ्चालनका लागि अहिलेको नै अवस्थामा सञ्चालनमा आउन नसक्ने भनी प्रतिवेदनमा उल्लेख गरेको देखिएको हो ।’
गुण एयरलाइन्सका मालिक राजेन्द्र शाक्य पक्राउ
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य बुधबार पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शाक्यलाई प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिएको छ । बैंकिङ कसुरमा संलग्न रहेको भन्दै बुधबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीमाथि प्रभु बैंकलाई हानि नोक्सानी पु¥याएको, विभिन्न कम्पनीहरूको नाममा करोडाँै कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप लागेको छ । ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान गरिरहेको छ । गत आइतबार सिआइबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई समेत पक्राउ गरेको थियो । सिआइबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महŒवपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच