काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । एमालेको राष्ट्रिय महाधिवेशन यही मंसिर २७ गतेदेखि काठमाडौमा हुँदै छ । महाधिवेशनको तयारीलाई तीव्रताका साथ अगाडि बढाएको एमालेमा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएको छ । विवाद समाधानको प्रयासस्वरूप बिहीबार अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेताहरूबीच गुण्डुमा छलफल भएको छ । महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर विभिन्न जिल्लाहरूमा विवाद भएको सन्दर्भमा छलफल भएको सहभागी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
ओखलढुंगा, चितवन, बाँके, बर्दिया, दाङ, सल्यान र डोटीसहित विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विवाद देखापरेको छ । यसबारे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित आफूहरूले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको उपाध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ । उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘महाधिवेशन घोषणा भइसकेपछि बनाइएको जनसंगठनबाट पनि महाधिवेशनका लागि प्रतिनिधि बनाएको अवस्था छ, यो कुनै हालतमा मान्य हुँदैन, यो कुरा अध्यक्षज्यूलाई भेटेर भनेका छौँ ।’ भेटमा ओखलढुंगासहित केही जिल्लामा छनोट भएका प्रतिनिधिलाई संगठन विभागले अस्वीकार गरेको र पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएकोमा वरिष्ठ उपाध्यक्ष पोखरेल सहितका नेताले आपत्ति जनाएका हुन् । छलफलमा सहभागी पोखरेलनिकट एक नेताले भने, ‘शंकर पोखरेल निकटहरूले दाङमा एकलौटी गरेका छन् । सल्यानमा होटलमा बसेर प्रतिनिधि चयन गरिएको छ । त्यहाँका सदस्यहरूले उजुरी गरेका छन् । त्यसबारे केही पनि नगर्ने तर निर्वाचन प्रक्रियाबाट टुंगिइसकेका ठाउँमा पुनः निर्वाचन गर्न निर्देशन पठाइएको छ ।’
ओखलढुंगामा पाँच दिनभित्र निर्वाचन प्रक्रिया सुरु गर्न भने पनि त्यहाँको जिल्ला कमिटीले मतदान प्रक्रिया अघि बढाएको छैन । त्यहाँ १२ जना प्रतिनिधि निर्वाचित भएकामा सबै उपाध्यक्ष पोखरेल पक्षधर थिए । दाङ, सल्यानमा भने महासचिव पोखरेल पक्षधर चुनिएर आएका थिए । यसैबीच, नवगठित नेसनल भोलेन्टियर फोर्सबाट पनि महाधिवेशनमा प्रतिनिधि ल्याइएको भन्दै पोखरेलले आपत्ति जनाउनुभएको छ । ओलीनिवास गुण्डमा बिहीबार अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईलगायत नेताहरूबीच छलफल भएको हो । अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका पोखरेललाई सहमतिमा आउन ओली आग्रह गर्दै आउनुभएको छ । तर, पोखरेलले भने समूह नै बनाएर महाधिवेशनमा ओलीसँग भिड्ने तयारी गर्नुभएको छ ।
पार्टी अध्यक्षमा ओली फाइनल : उपमहासचिव रिमाल
एमालेका उपमहासचिव विष्णु रिमालले ११औँ महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीले नै दोहोरिने दाबी गर्नुभएको छ । एमालेभित्र अहिले अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने जरुरी नरहेको उहाँको दाबी छ । पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्ष्य गर्दै उपमहासचिव रिमालले अध्यक्ष बन्ने इच्छा राख्न पाइने तर पार्टी कमिटीले गरेका निर्णय मान्नु अनिवार्य रहेको बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११औँ महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा रिमालले भन्नुभयो, ‘नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा कोही उभिनुपर्ने जरुरी म देख्दिनँ । छैन, विभिन्न नेताहरूले यो पदमा उठुँ कि त्यो पदमा उठुँ कि भनेर इच्छा व्यक्त गर्नुभएको छ । पाइन्छ त्यो अधिकार हो, इच्छा व्यक्त गर्ने, कमिटीको, बैठकमा पनि मजासँग कुरा राख्नेकुरा राख्ने तर, जे निर्णय हुन्छ त्यसलाई बोकेर हिँड्ने हामीले विधि बनाएका छौँ ।’
आसन्न महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले आ-आफ्नो समूह बनाएर भिड्न लागेको चर्चाबीच रिमालले भन्नुभयो, ‘एमालेमा देखिएको दुई धारको सम्बन्धमा चुनाव लडे पनि धार एकै हुन्छ, किनभने विचार नै फरक छैन, चुनाव लड्नु भो भने पनि जित्नेले नेतृत्व गरेर अर्को साथी सहयोगी भएर बस्नुहुन्छ, त्यसमा अरू तलमाथि हुने कुरा रहेन ।’उहाँले उम्मेदवारी घोषणा गरेका र नेतृत्वमा आंकाक्षा राखेकालाई रिमालले चर्चामा आउने रहरको संज्ञा दिनुभयो । कम्युनिष्ट पार्टीमा नेतृत्व समूहले बनाउने पद्धतिको अभ्यास हुने गरेको उल्लेख गर्नुभएका रिमालले अध्यक्षमा ओली फाइनल भइसकेको दाबी गर्दै भन्नुभयो, ‘कम्युनिष्ट पार्टीमा नेतृत्व बनाउने भनेको टिम मेकिङको कुरो हो, टिममा एक नम्बरको व्यक्तिको बारेमा हामीले फाइनल गरिसकेका छौँ, अध्यक्ष केपी ओली हुनुहुन्छ, यो चैँ ठहरै हो ।’ अध्यक्ष बाहेकका पदमा छलफल हुनसक्ने उहाँको भनाइ छ । महाधिवेशन प्रतिनिधि छनोटमा पक्षपात भएको आरोपलाई रिमालले हल्ला मात्र भएको टिप्पणीसमेत गर्नुभयो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने जानकारी दिनुभएको हो । एमालेले यसअघि चितवनमा सम्पन्न १०आँै राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ । टेण्डर आह्वान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।’ एमाले महाधिवेशनले यसपटक १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्नेछ । एमाले महाधिवेशनमा करिब दुई हजार ४०० प्रतिनिधि सहभागी हुनेछन् । एमाले महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।
महाधिवेशनको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन
एमालेले पार्टीको ११औैँ राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने जनाएको छ । स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उद्घाटनको खुल्ला सत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने बताएका हुन् । बन्द सत्रमा करिब ५०० स्वयंसेवक खटाइने बताउनुभयो । संयोजक ढकालका अनुसार स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट खटाइने छ । एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको समन्वय गर्नेछ । उद्घाटन समारोहको मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक परिचालन भइसकेका छन् ।
केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गरिने
एमालेले आगामी महाधिवेशनबाट १० प्रतिशत केन्द्रीय सदस्य युवा छनोट गर्ने तयारी गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना गरी १६५ जना (४० वर्ष मुनिका) युवा महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । युवा क्लस्टरबाहेक खुलाबाट पनि युवा प्रतिनिधि छानिएका छन् । करिब दुई सयको हाराहारी युवा प्रतिनिधि छनोट भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । यसपटक केन्द्रीय कमिटीमा युवालाई १० प्रतिशत कोटा सुरक्षित गरिने उहाँको दाबी छ । तर, यसको आधिकारिक निर्णय भने महाधिवेशनको हलले नै गर्ने उहाँको भनाइ छ । जसअनुसार १० प्रतिशतले करिब २५ जना युवाले एमालेको केन्द्रीय कमिटी सदस्य बन्ने अवसर पाउनेछन् ।
गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरु
एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु भएको छ । ‘ओली कुटी’ नाम दिइएको निवास बिहीबार अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गर्नुभएको छ । ‘जेन–जी’ आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आउनुभएको छ । अहिले ओली बस्दै आएको घरनजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण हुन लागेको हो । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार गुण्डुबासीले दिएको जग्गामा कुटी निर्माण हुन लागेको हो । नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ । नयाँ भवनमा ग्रिनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच