काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट उपत्यकामा पानी वितरण हुन थालेपछि काठमाडौंबासीमा कति खुसी छाएको छ भन्ने भनिरहनु पर्दैन । तर, यही पानीका कारण कतिपय स्थानीय हैरानी झेल्न बाध्य छन् । काठमाडौं महानगरपालिका-५ स्थित कालोपुल क्षेत्रमा दुई वर्षअघि देखिएको मुख्य पाइपलाइन चुहावट अझै पनि रोकिएको छैन । सुन्दरीजलबाट काठमाडौं उपत्यकाका घरघरमा पानी वितरण हुने यही मुख्य लाइन फुटेपछि सडकदेखि यातायातसम्म प्रभावित हुँदै आएको छ ।
धोबीखोला करिडोर क्षेत्रमा मेलम्चीको पाइपलाइनबाट निरन्तर चुहिने पानीले सडकको सतह भत्किएको छ । वर्षासँगै सडक थप कमजोर बनेको छ र भत्किएका भागहरू मर्मत गर्न पटक-पटक आग्रह गरिए पनि सम्बन्धित निकायबीच समन्वयको अभाव झल्किन्छ । यसले गर्दा समस्या रोकिने संकेत अझै देखिएको छैन ।
मेलम्चीको पानीले उपत्यकामा दीर्घकालीन समाधान ल्याउने अपेक्षा थियो । तर, प्रमुख पाइपलाइनको संरक्षणमा सरकारी अंगहरूबीच देखिएको लापरबाहीले आयोजनाप्रति नै अविश्वास पैदा गर्न थालेको स्थानीयको गुनासो छ । ‘पानी आउन थालेपछि हामी खुसी थियौँ, तर सडक नै बिग्रिएपछि त यही पानी नै श्राप जस्तै भयो, ‘स्थानीय विमल भट्टराई प्रतिक्रिया दिनुहुन्छ ।
दैनिक हजारौँको आवतजावत, तर जोखिम झन् बढ्दै
धोविखोला करिडोर काठमाडौंको व्यस्त विकल्पीय मार्ग हो । सहरका मुख्य सडकमा हुने जामबाट जोगिन सर्वसाधारणदेखि कार्यालय जाने कर्मचारीसम्म धेरैले यही मार्ग प्रयोग गर्छन् । तर, पानी चुहिने, जम्ने र भत्किएका सडकका कारण यहाँ दैनिक जाम बढ्ने मात्र होइन, पैदल यात्रु र दुई पांग्रे सवारी चालकका लागि त झन् जोखिमपूर्ण बन्दै गएको छ ।
सडकमा पानी पोखिँदा चिप्लिनु, सवारी बिग्रिनु र सानो असावधानीमा दुर्घटना हुने घटना बारम्बार दोहोरिने गरेको स्थानीयले बताएका छन् । विशेषगरी रातको समयमा सडक झन् खतरनाक बन्ने गरेको छ । ‘गाडीमा बस्नेहरूलाई त थोरै असहज होला, तर मोटरसाइकल चालक र हिँड्ने मान्छेले ठूलो जोखिम बोकिरहेका छन्’, मोटरसाइकल चालक अमित पौडेल बताउनुहुन्छ ।
सरकारी निकायको उदासीनता र दीर्घकालीन समाधानको आवश्यकता
स्थानीय स्तरदेखि महानगरीय कार्यालय तथा खानेपानी व्यवस्थापन बोर्डसम्म समस्या समाधानका लागि जिम्मेवार निकाय धेरै भए पनि समन्वयको कमीले समस्या झनै जटिल बन्दै गएको छ । पाइप मर्मत गर्न खानेपानी बोर्डले सडक खन्ने, सडक मर्मत गर्ने जिम्मा महानगरपालिकाले लिने, तर दुवै काम एकै समयमा नहुँदा समस्या दोहोरिइरहेको छ ।
विशेषज्ञहरू भन्छन्- यस्तो समस्या दोहोरिनु मेलम्ची आयोजनामा दीर्घकालीन योजना अभावको संकेत हो । पाइपलाइन राख्ने, परीक्षण गर्ने, मर्मत-सम्भारको दायित्व स्पष्ट नहुँदा स्थानीय सर्वसाधारणको दिनचर्या प्रभावित भएको छ ।
अब स्थानीय बासिन्दाको माग स्पष्ट छ- पानीको सुविधा रोकिएकै कारण दुःखी बनिन्न, अब सुविधा आएपछि सडक नै क्षतिग्रस्त हुने अवस्था कहिल्यै आउनु हुँदैन । उनीहरूको प्रश्न छ- ‘मेलम्चीले पानी दियो, तर सडक खोसिदियो भने के फाइदा ?’
समयमै मर्मत, दीर्घकालीन पाइपलाइन व्यवस्थापन र सरकारी निकायहरूबीच प्रभावकारी समन्वय भए मात्र धोबीखोला करिडोरमा देखिएको समस्या घट्ने देखिन्छ । नत्र भने मेलम्चीको पानीले उपत्यकामा समस्या समाधानभन्दा बढी चुनौती थप्दै लैजाने चिन्ता बढ्दै छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच