काठमाडौं । आज १२औँ विश्व माटो दिवस, नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनाइन्छ । ‘स्वस्थ माटो स्वस्थ गाउँ सहर’ नाराका साथ यसवर्ष पनि विश्व माटो दिवस २०२५ मनाइँदै छ । माटोको गुणस्तर बारेमा प्रचारप्रसार, माटो परीक्षण लगायतका कार्यक्रम गरी माटो दिवस मनाइन लागिएको हो ।
नेपालले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरू जस्तै कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य तथा कृषि संगठन, नेपाल माटो समाज, एनएसएफ-सिम्याट, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, प्राक्टिकल एक्सन, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना तथा अन्य निकायहरूको साझेदारी र सहभागितामा विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गरी विश्व माटो दिवस मनाउने तयारी गरेको छ । नेपालको प्राकृतिक अवस्थिति र भौगोलिक अवस्था अनि उपलब्ध कृषियोग्य भूमि र त्यसबाट हुने औसत उत्पादनलाई मध्येनजर गरी नेपाललाई एउटा जोखिमयुक्त खाद्य सम्प्रभुता भएको देशको रूपमा सूचीकृत गरेको छ ।
नेपालको कुल भू-भागको १६ प्रतिशत भू-भाग मात्र कृषिका लागि योग्य छन् । देशको ८० प्रतिशतभन्दा बढी भाग भिरालो पहाड र चट्टानयुक्त जमिनले ढाकेको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रलगायत अन्य संघ संस्थाहरूले गरेको अध्ययन अनुसन्धानहरूको प्रतिवेदनअनुसार नेपालको ६७ प्रतिशत माटोमा अम्लीयपनको समस्या देखिएको छ भने २३ प्रतिशत माटोमा प्रांगारिक पदार्थको उपलब्धता धेरै न्यून रहेको पाइएको छ । त्यस्तैगरी, माटोमा फसफोरस (ए), पोटासियम (के) जस्ता मुख्य खाद्य तत्वहरूको पनि कमी देखिन्छ ।
नार्कका अनुसार भू-क्षय तथा अत्यधिक पानीका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । १.४ एमएम माटोको माथिल्लो सतह बगेर जाने गरेको हो । समग्रमा माटोको अवस्था राम्रै भए पनि अहिलेको भन्दा खराब हुनु नहुने माटो विज्ञहरूले बताउने गरेका छन् । नेपालको ६६ प्रतिशत माटो अम्लीय, पाँच प्रतिशत क्षारीय, २९ प्रतिशत माटो तटस्थ रहेको छ ।
त्यस्तै, नेपालमा ३४ प्रतिशत जमिनमा भू-क्षय भएको छ । नेपालको माटोमा सबैभन्दा समस्या देखिएको अम्लीयपना हो । जुन रासायनिक मल बढी प्रयोग भएका कारणले हो । माटो दिवस नार्क, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ), अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्रले संयुक्त रूपमा मनाउने भएका छन् । एफएओको सिफारिशमा संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि माटो दिवस मनाउन सुरु गरिएको हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच