काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गर्नुभएको छ । आज (शुक्रबार) अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाउनुभएको हो । बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ ।
‘प्रधानमन्त्रीको सचिवालयबाट हामीलाई सर्वपक्षीय छलफलमा बोलाइएको छ’, एक नेताले भने, ‘छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा र राप्रपालाई बोलाइएको रहेछ । छलफलमा आयोग र सुरक्षा निकाय पनि रहने जानकारी दिइएको छ ।’ प्रधानमन्त्रीले यस प्रकारको छलफल पहिलो पटक आह्वान गर्नुभएको हो । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैन । राष्ट्रियसभाको निर्वाचना आगामी ११ माघमा हुँदै छ ।
निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गर्नुभएको थियो ।
‘तोकिएको समयमा निर्वाचन गरेर सत्ता सुम्पिन्छौँ’
प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताउनुभएको छ । बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको बताउँदै यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा राख्नुभएको थियो । ‘सरकारले आउँदो फागुन २१ गते आमनिर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो । तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको छ । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु,’ उहाँले भन्नुभयो ।
त्यस्तै, उहाँले ‘जेन-जी’ आन्दोलनसँगै घटेका घट्नाहरूबाट पाठ सिक्दै मुलुकको युवा शक्तिको माग पूरा गर्न सबैले कटिबद्ध भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनसँगै घटेका घटनाहरूबाट पाठ सिक्दै मुलुकको युवा शक्तिले भ्रष्टाचारको अन्त्य, सुशासनको पुनःस्थापना, आम नागरिकलाई रोजगारीको माग गरेको छ । ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न जरुरी छ ।’ उहाँले काठमाडौंमा परम्परागत चाडपर्व तथा संस्कृति प्रवद्र्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहेको बताउनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच