साहित्यमा विभिन्न किसिमका प्रयोगहरू हुँदै आएका छन् । मान्यताका हिसाबले कति स्वीकार्य होलान्, कति अस्वीकार्य । तथापि, विषयवस्तुको दृष्टिकोणले यौन-विषयक साहित्य कत्तिको जायज छ ? एउटा बहसको विषय हो यो । कतिपय साहित्यकारहरू यौनको प्रयोग गरेर अश्लील साहित्य सिर्जना गरिनु हुन्न भन्ने पक्षमा देखिन्छन् भने कतिपयले साहित्यलाई कुनै घेरामा बाँधेर राख्न सकिन्न, यो उन्मुक्त हुन्छ त्यसैले यौन-विषय पनि साहित्यमा अटाउँछ भन्ने मान्यता राख्छन् । अझ कतिपयले त यौनलाई खुल्ला रूपमै साहित्यमा लेखिनुपर्छ भन्ने धारणा राख्छन् । वरिष्ठ कथाकार एवम् यौन साहित्यलाई नै बढी प्राथमिकतामा राख्ने लेखक पुष्कर लोहनी भन्छन्-‘यौनलाई दबाएर साहित्यको सिर्जना गर्नु भनेको लेखकले आफैंलाई कुण्ठित तुल्याउनु हो ।’
साहित्यमा यौन लेख्नु हुन्न भन्नेहरूलाई उनी रूढ मानसिकताको शिकार भएको संज्ञा दिँदै, उनी थप प्रश्न गर्छन्–‘कदाचित् साहित्यलाई समाजको ऐना भनिन्छ भने त्यही समाजको कथामा यौन समावेश भएको हुन्न र ? समाजमा बाँच्नेहरू के यौनबिना नै बाँच्छन् ?’
नेपाली साहित्यमा यौन-विषयक सिर्जनाहरू भएका छन् । बिपी कोइरालाका उपन्यासहरू- ‘सुम्निमा’, ‘बाबु, आमा र छोरा’, पारिजातको ‘शिरिषको फूल’ (उपन्यास), ‘मैले नजन्माएको छोरा’ (कथा), पोषण पाण्डेको कथा ‘भिनाजुको स्वीटर’पश्चात् परशु प्रधानको कथाक्रम ‘सीताहरू’लगायतका अधिकांश कथाहरू, अझपछि आएर सीता पाण्डेका ‘ज्वरो’लगायतका कथाहरू तथा ‘मासु’ शीर्षकको कवितामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यौन लेखिएको पाइन्छ ।
वास्तवमै, मानिससँग या सम्पूर्ण प्राणीजगत्सँगै यौन जोडिएको हुन्छ । प्राणीजगत्मै आफूलाई सबैभन्दा बढी चेतनशील मानेको मानिसले विवेकीसमेत भनेर भन्ने गरेको छ । त्यसैले त जङ्गली सभ्यताबाट माथि उठेर उसले सभ्य समाजको निर्माण गरेको छ । नाङ्गो शरीरलाई ढाकेर हिँड्नुपर्छ भन्ने विवेक मान्छेमा छ तर यसको अर्थ लोहनीकै भाषामा– आफूभित्र रहेको यौन–तृष्णालाई पनि दबाएरै हिँड्नुपर्छ भन्ने होइन । होला, त्यो सभ्यताको हिसाबले खुला रूपमा नदेखिएला यद्यपि कहीँ न कहीँ कतैबाट त्यो उजागर भएकै हुन्छ । यहाँ प्रसङ्ग छ साहित्यको ।
नेपाली साहित्यमा पनि यौन–विषयक सिर्जनाहरू भएका छन् । साँच्चै भन्ने हो भने सिर्जना भएको मात्रै होइन, उत्कृष्ठ किसिमका साहित्य लेखिएका छन् । बिपी कोइरालाका उपन्यासहरू- ‘सुम्निमा’, ‘बाबु, आमा र छोरा’, पारिजातको ‘शिरिषको फूल’ (उपन्यास), ‘मैले नजन्माएको छोरा’ (कथा), पोषण पाण्डेको कथा ‘भिनाजुको स्वीटर’पश्चात् परशु प्रधानको कथाक्रम ‘सीताहरू’लगायत अधिकांश कथाहरू, अझ पछि आएर सीता पाण्डेका ‘ज्वरो’लगायत कथाहरू तथा ‘मासु’ शीर्षकको कवितामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यौन लेखिएको पाइन्छ । त्यसका अलावा पनि अन्य लेखकका रचनाहरूमा विम्ब वा प्रतीकका रूपमा कहीँ न कहीँ यसको प्रयोग भएकै पाइन्छ । तथापि, ‘साहित्यमा यौनलाई पछाडि राखेर होइन, तस्वीरझैँ छर्लङ्ग लेख्नुपर्छ’ भन्ने आफ्नो मान्यतालाई अघि सार्दै लोहनी भन्छन्-‘जबसम्म कुनै पनि लेखकले यौनजस्तो गम्भीर विषयलाई साहित्यमा खुल्लमखुल्ला प्रयोग गर्न हिच्किचाउँछन्, त्यस्तो लेखकले लेखेको साहित्य वास्तविक साहित्य हुन सक्दैन ।’
उनको यो भनाइलाई छोटो वाक्यमा भन्ने हो भने साहित्य लेख्ने मान्छेले उन्मुक्त भएरलेख्नुपर्छ । अर्को पाटोबाट हेर्दा यो उन्मुक्तताको अर्थ हो– यौनविषयक लेखनीमा अग्रसर नभएको साहित्यले अग्रगति लिन सक्दैन । हुन पनि साहित्यलाई समाजको ऐना मानिएपछि त्यही समाजको मान्छेको जीवन, जुन साहित्यिक छ, उसको लेखन यौन-विषयबाट अछूत कहाँ रहन सक्छ ! यस अर्थमा, साहित्यमा यौनको सान्दर्भिकतालाई अस्वीकार गर्नु भनेको पाखण्डीपनको परिचय दिनु हो ।
यही विश्वको पश्चिमी मुलुकहरूको साहित्यलाई हेर्ने हो भने त्यहाँको साहित्यमा यौनमूलक/यौनवादी लेखनले महत्वपूर्ण स्थान ओगटेको पाइन्छ । त्यसको दाँजोमा पूर्वीय सभ्यता स्वभावैले सङ्कुचित भएका कारण यौन-विषयले खास गरेर साहित्यमा पश्चिममा जस्तो सजिलै प्रवेश पाउन नसकेको छर्लङ्गै छ । अझ नेपालजस्तो विकासशील देश त्यसमा पनि शिक्षाको चेतना अझैसम्म पनि निम्नस्तरमा भएको ठाउँमा यौन-साहित्यको प्रयोग जोडले हुन नसक्नु स्वाभाविक छ । तथापि, यौन-साहित्यमा खुलेरै लागिपरेका केही गिनेचुनेका लेखकहरूको नाम माथि नै भनिसकिएको छ । यही सिलसिलामा, पुष्कर लोहनी, जो सबैभन्दा अगाडि देखिएका छन्, उनी आफू जोखिम मोलेरै यो लेखनमा लागेको बताउँछन् ।
उनीमाथि-‘यौन-साहित्य लेखेर समाज भड्काएको’ आरोपलाई उनले चुपचाप स्वीकार्ने सजिलो बाटो रोजेनन्, जोखिम यस मानेमा मोले कि यौन-साहित्य मानवजीवनको अभिन्न पाटो हो भन्ने मान्यतामा अडिग भइरहे र निरन्तर त्यही मार्गको लेखन गरिरहे । उनी स्वीकार्छन्, ‘हो, म पाखण्डी लेखकहरूका माझमा बहिस्कृत छु ।’ तर, यहीँनिर उनी गर्वबोध गर्दै चुनौती पनि दिन्छन्-‘आऊन् कोही, समाजमा लुकेका÷लुकाइएका विषयलाई छाती खोलेर मैले जसरी हिम्मतका साथ लेखून् !’
उनको भनाइलाई गहिरिएर सोच्ने हो भने प्रष्टै झल्किन्छ कि आजको नेपाली साहित्य पूर्णरूपमा विसङ्गतपूर्ण छ । एकातिर यौन मिश्रित लेखनलाई नै सबैभन्दा बढी रुचाउने पाठकहरू छन् भने लेखकहरू पनि यौन-साहित्यलाई लुकीचोरी पढ्ने गरेको यथार्थलाई नकार्न सकिन्न । एउटा उदाहरण यहाँ प्रासङ्गिक होला-नाट्यसम्राट बालकृष्ण समको । ३० को दसकको मध्य समयमा हुनुपर्छ मैले उनलाई नजिकबाट चिनेको । तत्कालीन समयमा हामी बसेको भोटाहिटीमा अवस्थित घरमा उनी प्रायः आउने गर्थे । त्यसको कारण मैले अलिक पछि मात्रै थाहा पाएँ । किन रहेछ भने, त्यही घरमा बसेका एक व्यक्ति जो रसरङका पुस्तक-पुस्तिका बेच्ने गर्थे- उनीसँग समले त्यस प्रकारका सामग्रीहरू किनेर लैजाने गर्दा रहेछन् ।
यसको अर्थ यो होइन कि समले अनैतिक काम गरेका हुन् । भन्न के मात्रै खोजिएको भने लेख्दा सभ्य साहित्य भनेर लेख्ने तर पढ्न चाहिँ यौन-साहित्य रुचाउने लेखकहरूले यस्तो व्यवहार देखाउनु पक्कै पनि शोभनीय हुँदैन । एउटा कुरा भन्ने ख्याल गर्न जरुरी छ, यौन भन्नेबित्तिकै अश्लीलतालाई बुझ्ने-बुझाउने भ्रम छ । शायद यौन र अश्लीलतालाई एउटै तराजुमा राखेर यी दुई शब्द (विषय) को अन्तर नछुट्ट्याइएका कारणले पनि यो भ्रम चिर्न नसकिएको हुनुपर्छ । नेपाली लेखक-पाठकहरू यो भ्रमबाट मुक्त हुन आवश्यक छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच