लेखनसमाधि स्रष्टाको आराधना हो, तपस्या हो, ईश्वर हो । यसमा वा तपस्यामा बसेर श्रमका पसिना चुहाउँदै कागजका खेतबारीमा मसीको सिञ्चन गरी अक्षरका बिउ रोप्ने कामका निरन्तरताले कथित र कल्पित ईश्वरको वरदान पाइन्छ तपस्याका सफलताका रूपमा । श्रमको फल मंसिरे बालाका रूपमा सिर्जनाका लहरहरू, अनुच्छेदहरू, कृतिहरू पस्किन सकिन्छ समाजलाई जसको आयु सामान्य मान्छेको भन्दा लेखन सौन्दर्यको उचाइ अनुसार लम्मिँदै अगाडि जान्छ शरीर ढलेपछिको यात्रासमेतमा । समाधिले कौतुहल थप्छ । कौतुहलले कल्पनाको भण्डार खडा गर्छ । दृश्यभाइरल जो क्षणिकमात्र हुन्छ । त्यसबाट आफूलाई पूर्णतः निरपेक्ष राख्दछ । अन्यसँगको प्रतिस्पर्धाबाट आफूलाई विल्कुल अलग गराउँछ ।
व्यस्ततामा पनि कवितात्मक महासागरमा डुबुल्की मार्न र सहज पौडिन सक्ने जन्मजात कवित्व चेतना वरदानका रूपमा लिएर आएकी सीता भट्टराईमा बुद्धिको स्विच समयमै खुले नेपाली कविता भण्डारले निकै माथिल्लो अपेक्षा प्राप्त गर्न सक्दछ । बुद्धिको स्विच अन हुनुभनेको नै भौतिक लालसामा सीमा लाग्नु हो ।
एकाग्र मानसिकता जसले लक्ष्यित क्षेत्रमा द्रुततर गतिले आफूलाई विकासको धुरोमा, परिष्कारको चुरोमा पु¥याउन सहयोग गर्दछ । कविताकै क्षेत्रमा भन्ने हो भने विधागत सचेतताको हुट्हुटी, नव विषय स्थापनको चासो, बिम्ब छनोटको सबलता, आलङ्कारिक अन्तर मर्मबोध बैँसाउने नै समाधिस्थल हो साहित्यमा अझ विशेषगरी कविता लेखनको परिष्कारका क्षेत्रमा । यो प्रसङ्ग म नारी हस्ताक्षर सीता भट्टराईलाई प्रासङ्गिक बनाएर ल्याइरहेको छु ।
कविताका क्षेत्रमा लघुत्तम रूप मुक्तकदेखि फुटकर कविता हुँदै लामा कवितायात्रा पार गरेपछि खण्डकाव्य हुँदै महाकाव्यका बिन्दुमा आरोहित हुन सकिन्छ । सानो रूप मुक्तक यिनले लेखेको देखिँदैन । फुटकरअन्तर्गतकै लामा कविताका लेखनमा पनि यिनी सरिक देखिन्नन् । अध्ययनमा अनुसन्ध्येय व्यक्तित्व निर्माणका लागि शोधलेखन अर्थात् थेसिस लेखनबाट सुरु हुन्छ । कविताका सिँढी आरोहणको प्रथमबिन्दु मुक्तक भए पनि कविहरू यसतिर नलागी फुटकर कवितालेखनबाट सुरु गर्दछन् । सीताको यो यात्रा पनि गीति एल्बम प्रकाशनबाट गद्यकविता सङ्ग्रह हुँदै पद्यकवितासङ्ग्रह प्रकाशनको यात्राबाट भीमकाय महाकाव्यको लेखन/प्रकाशनसम्म आरोहित भइसकेको छ ।
लगभग यिनका लेखनक्षेत्रलाई हेर्दा अर्धबहुआयामिक नारी स्रष्टाका रूपमा समाज सामु देखापरेकी मात्र होइनन् स्थापित भइसकेकी छिन् । तीन कवितासङ्ग्रह र दुई महाकाव्य प्रकाशित आफैँमा चानचुने कुरा होइन । एक गीतिएलबम, एक बालकवितासङ्ग्रह प्रकाशित गर्नु पनि जीवन र जगत्का समग्र पक्षलाई समेट्न सक्ने बृहद् महाकाव्य लेखन अभ्यासकै प्रेरक पक्ष हुन् । कथालेखन र सङ्ग्रह प्रकाशन आख्यानतिर यात्रागत चासो पनि यिनका सिर्जनामा रहेको पाइन्छ । समालोचनातिरका यात्रामा पनि यिनका पाइला टुक्टुकाउनाले हामी यिनलाई अर्धबहुआयामिक व्यक्तित्व विकासकी स्रष्टाका रूपमा सहज लिन सक्छौँ । शिक्षाक्षेत्रलाई नै आयआर्जनको मूल थलो बनाएर अभावमुक्त भई भौतिक सम्पन्नताले भरिसकेकी स्रष्टा सीता भट्टराईको अक्षरको सफल रोपाइँस्थल नै महाकाव्य लेखन हो ।
महाकाव्य यसै पनि चुल्बुले स्रष्टाका लेखनभन्दा परको विषय हो । साना सीमामा रमाउने स्रष्टाका सोचभन्दा टाढाको विषय हो । विराट्विश्वजीवन र जगत्का सङ्गत/विसङ्गतपक्ष, सकारात्मक/नकारात्मक पक्ष, सबल/दुर्बल पक्ष दुवैलाई निश्चित पात्र छनौटका आधारमा वा नायकनायिका दुई पात्रपात्राका माध्यमबाट मात्र पनि महाकाव्यको संरचना सबल बनाउन सकिन्छ । यसका निमित्त विश्वज्ञान स्रष्टामा जरुरी छ । भूगोलको, राजनीतिको, अर्थको, शिक्षाको अतीत, वर्तमान र यसबाट निरूपण हुने भोलिसम्मको समग्र चेतनखाका स्रष्टामा हुनु अनिवार्य छ । यसका लागि अध्ययनको गहिराइ यसै पनि अनिवार्य हुन्छ नै । यी जानकारीका लागि किताब नै पढ्नु भन्ने अहिले प्रविधिले हटाइसकेको छ । समाचारका माध्यमबाट, गुगल माध्यमबाट या सञ्जालका कुनै पनि माध्यमबाट विश्वका समग्र पक्षलाई हामी दिलदिमाखमा राखेर पचाउन वा बचाउन सक्छौँ । अझ यसो भनौँ बँचाएर पचाउन सक्छौँ । सीतासँगको समय अहिलेसम्मको कार्यक्षेत्र स्कुलकलेजको खटाइलाई हेर्दा यो एकदमै कम हुन्छ, अपुग हुन्छ, अपूर्ण हुन्छ ।
यतिबिघ्न व्यस्ततामा पनि कवितात्मक महासागरमा डुबुल्की मार्न र सहज पौडिन सक्ने जन्मजात कवित्व चेतना वरदानका रूपमा लिएर आएकी सीता भट्टराईमा बुद्धिको स्वीच समयमै खुले नेपाली कविता भण्डारले निकै माथिल्लो अपेक्षा प्राप्त गर्न सक्दछ । बुद्धिको स्विच अन हुनुभनेको नै भौतिक लालसामा सीमा लाग्नु हो । लक्ष्यहीन यात्राको भौतिक चाक्षुस मार्गमा लागेर कोही इतिहासमा उक्लेको हामी देख्न/भेट्न सक्दैनौँ । केही नामहरू टाटाबिर्ला, बिलगेट्स, एलन मस्क जस्ता व्यक्तिहरू पनि आर्थिक सम्पन्नताले नभई सामाजिक अन्य सेवाभावका कारण केही समय इतिहासमा रहन्छन् । उचाइ उक्लने क्षमताबाहक साहित्यकार अन्तविहीन अनन्त फैलिएको हुन्छ ।
सङ्घर्ष जीवनको गुरु हो । पैसा पाएर गुरु बनेका व्यक्तिभन्दा यो गुरु आफैँमा अविजेय हुन्छ । दूरदराजबाट सङ्घर्षका पाइताला उचालेर सङ्घर्षरत रही अनेकौँ विधालेखनका अभ्यासगत भर्याङ् चढ्दै छ सय अठतीस पृष्ठसम्मको महाकाव्यिक यात्रापार गरिसकेकी महाकाव्यकार सीता भट्टराईले अतीतको बदला लिन खोजिन् भने दुर्भाग्य हुन्छ उनकै जीवनलाई र नेपाली साहित्य भण्डासमेतलाई ।
मान्छेका यात्रा दुई फरक मार्गबाट अगाडि बढ्छन् । आर्थिक दुःखको अगाध अतीत यात्राबाट अनेकौँ ठक्कर खाँदै सुखी सम्पन्न बनेका मानिसहरू सुरुका अवस्था सम्झेर त्यसका बदलामा सामन्त बन्नेहरूका असङ्ख्य सङ्ख्याका लाम राजनीतिक नेताकार्यकर्तादेखि साहित्य जगत्मा अझ बढी छन् व्यापारिक जगत्मा भन्दा । बीचभागबाट सम्पन्नताका हठ पालेर जीवनयात्रामा अगाडि बढ्ने नै बुर्जुवावादी महासामन्त बढी देखिन्छन् र आफ्ना जन्मजात सहज प्रखर प्रातिभा अर्थात् प्रकृतिप्रदत्त व्यक्तित्वलाई अप्रकट् रूपमा राखी कृत्रिम व्यक्तित्व जो शरीरको सानमा सम्मान अनुभूत गर्दै सामाजिक अन्तरभावको अपमानमा बाँचेको हुन्छ, बाँच्न विवश हुन्छ । यस कुबुद्धिको बाघले चिथोर्यो भने र दिए जति सिर्जना नै काफी छ भन्ने ठानेर भौतिक वैभवका बाटामा नै अरू झैँ लागिन् भने सीताको जीवनचक्र पनि तिनै सर्वसामान्य जड व्यक्ति झैँ बन्न पुग्छ जो आफ्नो सच्चापनलाई नचिनी निरर्थक जीवनमा जिउँदै मरिरहेका हुन्छन् ।
अहिलेसम्म सीता भट्टराईको सिर्जनात्मक संसार अर्धबहुआयामिक चञ्चु प्रवेशमा मात्र छ । आँखाका दृश्यात्मक सीमासम्मको छ । भोगाइभित्रको परिधिसम्म मात्रमा परिभ्रमित छ । सिर्जनात्मक संसार भनेको आँखाको दृश्य केही हो सबै होइन, अनुभवको संसार केही हो तर सबै होइन । सुनिएको केही हो तर छेउमात्र । यी हुन् र होइनन्का बीचको संसार यति सुन्दर छ जहाँ जन्मजात सिर्जनात्मक व्यक्तित्व प्राप्त व्यक्तिबाहेक कोही पुग्न त के सोच्नसम्म पनि सक्ने अवस्थामा रहन्नन् । सच्चा लेखनधार भनेकै अविदितको आलोकित संसार हो । अदृश्य संसार हो । अस्पष्ट संसार हो । अन्धकार चिरेर, हटाएर त्यस यात्रामा लाग्दा त्यहाँ पुगिन्छ जहाँ झिलिमिलीको इन्द्रेणी झिल्का अनुभूत हुन्छ ।
अहिलेसम्म सीता भट्टराईको सिर्जनात्मक संसार अर्धबहुआयामिक चञ्चु प्रवेशमा मात्र छ । आँखाका दृश्यात्मक सीमासम्मको छ । भोगाइभित्रको परिधिसम्म मात्रमा परिभ्रमित छ । सिर्जनात्मक संसार भनेको आँखाको दृश्य केही हो सबै होइन, अनुभवको संसार केही हो तर सबै होइन । सुनिएको केही हो तर छेउमात्र ।
यस संसारको अवलोकन र त्यसलाई शब्दमा उतार्ने क्षमताको अंश जन्मजात त हुनैपर्छ तर छ भनेर सन्तुष्ट भयो भने मर्छ सहारविनाका बिरुवा मरे झैँ स्रष्टा । त्यसको गोड्मेल भनेको नै सिर्जना क्षेत्रमा समाधिमग्न एकाग्र मनोविकासको माहोल हो । ‘म छु’ सम्मका अनुभूति विसर्जित भएर निर्वाध लेखनको यात्राबाट मात्र यो स्थितिबोध सम्भव छ । छरपस्ट भएर चारै दिशा देख्ने र हेर्ने बहुआयामिक बाहिरी चञ्चल मानसिकताबाट लेखनको यस गहिराइसम्म पौडिन असम्भव हुन्छ देवकोटाबाहेकमा चाहिँ ।
यो एक प्रकारले जड भवितामा चञ्चल भएर भौतारिरहेका मानिसलाई ढुङ्गोमा ईश्वर देखाएर जीवन सहज बनाउने अथक प्रयास जस्तै हो । जड्को यो रूप भ्रमकै माथिल्लो तहमा पुगेर सन्तुष्ट हुन्छ र सकिन्छ । यसमा मात्र जीवन हुन्छ जीवन्तता रहँदैन । सिर्जनामा जीवन त छँदै छ जीवन्तताको सुदूर भविष्य त्यति नै मुस्कुराएको हुन्छ जति बादल पानीको भयावह स्थितिमा, हुरीहुन्डरीको सन्त्रासमय त्रासका बेला पहाडको टुप्पोमा धराको गर्भ टेकेर इन्द्रेणी उभिन्छ उज्यालो छम्किँदै ।
यस यात्रामा यसरी मनोएकाग्र भएर लाग्ने हो भने सीता भट्टराईमा मणि चुम्ने क्षमता छ, अविदितमा घुम्ने दक्षता छ, अदृश्य दुहेर दृश्यमा सिर्जनाका अमर जलधारा अक्षरमा खिप्ने क्षमता छ जहाँ अनौठो संसार अविदितका उल्का आभास बोकेर अमर रचनामा, कृतिमा उभिन सक्ने प्रातिभप्रतिभाका जन्मजात वरदान आभासित छन्, हुन्छन् । गर्छिन् वा सम्पन्नतामा अन्धविश्वासका टीका पहिरिएर निधारभरि निरर्थक सन्तुष्टिमा जिउँदै मर्छिन् त्यो उनको निर्णयमा भर पर्ने कुरा हो । कैयौँ उद्भट् सिर्जनात्मक व्यक्तित्वबाहक व्यक्तित्वहरू समेत वैभवका महल खडा गरेर जिउँदै मरिरहेको यस संसारमा, संसारको पनि निश्चित यस भूगोलमा यिनको मनोदिशा कतातिर कोल्टिन्छ भोलिलाई छाड्दै यस लेखमा बर्सेका ताली बिर्सेर गालीका सम्झना ताजा राख्दै सीताको लेखनयात्रा अगाडि बढोस् भन्ने कामनाका साथ अक्षरको बाउसे यहीँ बिसाउँछु आज ।







‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक
राशिफल ३० साउन, कन्या :
‘मास्टर्नी’लाई एडल्ट प्रमाणपत्र
छायांकनमा पलको ‘यानीमाया’
साहित्यिक पत्रकार संघको सम्मान
देशभर मनसुन सक्रिय, केही प्रदेशमा