भदौ २६ गते राति काठमाडौंदेखि हङ्कङसम्म रात्रिकालीन यात्रा भएकाले त्यस रात अलिअलि झकाइएको थियो तर पर्याप्त निद्राको अभावमा शरीरमा पटक्कै स्फुर्ति थिएन । हङ्कङको ट्रान्जिटमा पर्खँदा बिहानको झुल्के घामले केही रमाइलो अनुभूति पनि भयो किन्तु यो क्षणिक थियो । यात्रा बरू त्यत्तिसारो पट्यारलाग्दो नहोला तर पर्खाइ दिक्दारलाग्दो । मनै उदास बनाउने । उद्भट कवि, कुशल कलाकार, जेहेन्दार इन्जिनियर जस्ता मान्छेलाई त्यो पर्खाइ अनुत्पादक थियो । सिर्जनशील मान्छेका लागि त्यस्तो पर्खाइ बिल्कुल निरर्थक हुँदो हो । हामी भने मन्द हावाको गतिसँगै ट्रान्जिटका लामा गल्लीहरूमा समय बिताउन यता-उति गरिरह्यौँ । आखिर फेरि अर्को लामो यात्रामा जानु नै थियो । केहीबेर किंकर्तव्यबिमुढ पर्खनुको विकल्प थिएन ।
पाँच घण्टाको पर्खाइपछि २७ गते बिहान हङ्कङबाट उडेको क्याथे प्यासिफिकको अर्को जहाज रनवेमा गुडेर निमेषभरमै आकाशियो । जहाजको झ्यालबाट बाहिर हेर्दा नीलगगनमुनिको नीलसागर चम्किलो रवि किरणले टलक्क टल्किएको देखिन्थ्यो । विचित्रको छ यो प्रकृतिको नियम पनि । कतै बादल छेक्ने गगनचुम्बी अग्ला पहाड छन् । कतैसम्म मैदान पसारिएका छन् ।
शरीर पर्खियो तर मन पर्खन पटक्कै मानेन । पछिल्तिर छोडिएको आफ्नो प्रिय भूमिको याद फेरि मडारिएर मानसपटलमा आयो । सम्झनाको तरेलीमा त्यस जमिनको माटोसँग साठी वर्षभन्दा बढी बिताएका दिनहरू लहर लागेर आए । बाल्यकालका सपनाहरू ब्युँतिए । किशोरावस्थाका रहरहरू मडारिए । यौवनकालका क्रियाकलापहरू तँछाडमछाड गदै आए । परन्तु ती स्मृतिहरू क्षणभरमै विगतको गर्तमा अल्पिए । विगत दुई दिनका विभत्स घटनाले मन पिरोलिएकै थियो । आफ्नो सुन्दर हरित जन्मभूमि आगाको डढेलोले निलेर बलात् मरुभूमि बन्दै थियो । धुवाँको मुस्लोभित्र निसासिएर मान्छेहरू छट्पटिइ रहेका होलान् भन्ने लागेर आफूलाई पनि उकुसमुकुस भयो । यस्तो विषम परिस्थितिमा आफू भने लामो यात्रामा निस्केको घटनाले चिमोटिरह्यो । विवेकले चिथोरिरह्यो ।
पाँच घण्टाको पर्खाइपछि २७ गते बिहान हङ्कङबाट उडेको क्याथे प्यासिफिकको अर्को जहाज रनवेमा गुडेर निमेषभरमै आकाशियो । जहाजको झ्यालबाट बाहिर हेर्दा नीलगगनमुनिको नीलसागर चम्किलो रवि किरणले टलक्क टल्किएको देखिन्थ्यो । विचित्रको छ यो प्रकृतिको नियम पनि । कतै बादल छेक्ने गगनचुम्बी अग्ला पहाड छन् । कतैसम्म मैदान पसारिएका छन् । अझ कतै पहाडका तरेलीहरू छन् जहाँ भरियाहरू गरुङ्को भारी बोकेर उकालोमा पसिना चुहाउँछन् । सोही तरेलीमा गाईवस्तु चराउन आएका विपरीतलिङ्गी वयस्कहरू एक अर्काको सौन्दर्य पान गर्दै मुस्काउँछन् । प्रकृतिको यो विराट वैषम्यभित्र त्यो सांसारिक विषमताको कसरी तादात्म्य भएको होला !
दिउँसोको उडान भएकाले पटक्कै निद्रा लागेन तर पूरै जागा रहन पनि सकिएन । अबको यात्राको गन्तव्य एशिया महाद्वीप पार गर्दै हिन्द महासागरपारिको अष्ट्रेलिया महाद्वीपतर्फ थियो । आठ घण्टाको पट्यारलाग्दो लामो यात्रापछि साँझको आठ बजेतिर हामी सिड्नीको विमानस्थलमा ओर्लियौँ । हिन्द महासागरपारिको भूमिमा सुरक्षित अवतरण गरियो । त्यसो त त्यताको यात्रा पहिलो पटक थिएन । पटक गनेर ल्याउँदा यो यात्रा चौथो पटक थियो । यस अघिका तीन यात्रा पनि उत्तरी गोलाद्र्धको भूगोलमा शारदीय आकाशबाट उडेर दक्षिणी गोलाद्र्धको वासन्ती बागमा ओर्लिएका यात्रा नै थिए । यस पालि पनि त्यस्तै भयो ।
विमान अवतरणको पर्खाइमा हाम्रा प्रिय छोरा र पूजनीय ज्वाईंले हाम्रो आगमन ब्यग्रतापूर्वक पर्खिरहेको कुरा पहिले नै थाहा थियो । अध्यागमन कक्षमा केहीबेरको औपचारिकतापछि सामान लिने कक्षतिर अघि बढ्यौँ । एउटा ब्याग तुरुन्त आयो अर्कोलाई भने पर्खनु पर्यो । सामान लिएर आगमन कक्षतिर जाँदै थियौँ । परैबाट हाम्रा प्याराले गरेको स्वागत अभिवादनले लामो यात्राको विसर्जन भएको महसुस भयो । मुस्कुराउँदै गरेका छोरा र ज्वाइँलाई भेटेर हर्षले गद्गद् भयौँ । एकै छिनमा कारमा सवार भएर बासस्थलतिर हुँइकियौँ । उता छोरी, बुहारी र नातिनातिना हामीलाई पर्खिरहेका थिए ।
छोराका छोरा र छोरीकी छोरीबीच हजुरबा र हजुरआमालाई आफ्नो घरमा पहिले लैजाने कुरामा होडबाजी चलेको रहेछ ।
हामीले २७ गते बेलुकी छोराको घरमा गएर नातिहरू भेट्यौँ । भोलिपल्ट बिहानै छोरीको घरमा पुगेर नातिनीलाई हामी उनकै घरमा पहिले पुगेको स्वाङ पार्यौँ । नातिनी हजुरबा हजुरआमा आफ्नोमा पहिले आएको भन्ने ठानेर मख्ख परिन् । हामीलाई पहिले भेटेको भन्ठानेर नातिनी खुब खुसी भइन् यद्यपि हामी नातिको घर पहिले पुगेका थियौँ । बालसुलभ अञ्जान मस्तिष्क झुक्किएर पनि मख्ख परेको देखेर त्यसै त्यसै टिठ लाग्यो । आफैँलाई पनि बाल्यकालमा त्यसैगरी बाबाआमाले एक छिन् अल्मल्याउन त्यस्तै कुरा गरेको सम्झना आयो ।
कस्तो होला है कुमालेको चक्र जस्तो ! जस्तो व्यवहार पहिले हामीले हाम्रा अग्रजबाट बेहो¥यौँ उस्तै व्यवहार अहिले हामी हाम्रा अनुजलाई गर्दैछौँ । त्यसबेला मलाई प्रसिद्ध अमेरिकी कवि रबर्ट फ्रष्टको ‘द रोड नट टेकेन’ शीर्षकको कविता याद आयो । कवि नजानेको ठाउँको बाटो हिँड्दै थिए । अचानक दोबाटो आयो । कुन बाटो जाने होला अलमल भयो । कविले एउटा बाटो भोलिलाई छोडेर अर्को बाटो रोजे । हामीले त्यसै गर्यौँ ।
अष्ट्रेलियाको दक्षिणपूर्वी किनारमा अवस्थित विश्वकै १० ठूला सहरमध्येको एक हो सिड्नी । नीलसागरबाट चोइटिएको एक भँगालोले चरक्क चिरेको सहरभित्र कञ्चन जलप्रवाह हुँदै गरेको मनमोहक दृश्यले कुन चाहिँ पर्यटकको मन नखिच्ला ? सन् १७७० को एप्रिल १९ का दिन बेलायती यात्रु जेम्स कुकले पहिलो पटक पाइला टेकेको न्युसाउथ वेल्सको सिड्नीलाई त्यही वर्षको अगस्त २२ का दिन बेलायतको अधिनस्थ भएको घोषणा गरिएको रहेछ । त्यसपछि सन् १७८८ मा कप्तान आर्थर फिलिपले ५५० पानी जहाजमा रहेका अधिकृतहरूका साथ ८५० जना अदालतले दोषी ठहराएका व्यक्तिहरू लिएर गएका रहेछन् ।
सुरुमा बोटनी बे ताकेका फिलिपले त्यस ठाउँलाई बसोवासयोग्य नदेखेर सिड्नीलाई रोजेका रहेछन् । त्यसपछि अन्य ठाउँहरूबाट पनि यहाँ बसाइँ सर्नेको धुइरो लाग्न थाल्यो । अहिले यहाँ अन्य देशबाट विभिन्न जात-जाति, भाषा-भाषिका र वेशभूषाका मानिसहरू आपस्तमा मिलेर बसोवास गर्ने रहेछन् । यस अर्थमा यहाँको समाज बहुसांस्कृतिक प्रकृतिको रहेछ । दू्रत गतिमा शहरीकरण हुँदैगएको यत्रो ठूलो शहर भइकन पनि यहाँको सरसफाइ, फोहोर व्यवस्थापन, बिजुली बत्ती र पानी आपूर्ति अत्यन्त व्यवस्थित ! अचम्म लाग्ने कुरा के त भने ग्रेटर सिड्नीको हालको जनसङ्ख्या पचपन्न लाख पुगेको छ तर कति व्यवस्थित छ त्यो शहर ! आफ्नो काठमाडौं उपत्यकाभरि मुस्किलले तीस लाख जनसङ्ख्या होला तर कति अव्यवस्थित यहाँका तीन शहर ! फेरि कटक्क मन खायो ।
एक दिन हामी छोरी, ज्वाइँ र नातिनीका साथ शहरको डाउनटाउनमा रहेको चिनियाँ गार्डेन हेर्न भनेर घरबाहिर निस्कियौँ । कार घरमै छोडेर ज्वाइँले रेलमा चढाएर त्यसतर्फ लैजानुभयो । छोरी र नातिनी पनि साथमा हुँदा हर्षको सीमा नै रहेन । रेल्वेको दायाँबायाँको हरियाली बिछट्ट सुन्दर । अत्यन्त मनमोहक । खासै उर्वरभूमि त होइन अष्ट्रेलिया । मध्य अष्ट्रेलियाको अधिकांश भू-भाग त मरुभूमितुल्य नै छ । हाम्रो यात्रामा आकाशबाट तल हेर्दा पूरै खस्रोफुस्रो देखिन्थ्यो । सम्पूर्ण महाद्वीपको दक्षिणतर्फ अवस्थित सामुद्रिक किनारी भागमात्र रसिलोपसिलो । त्यसमा पनि मानवीय व्यवस्थापन उच्च कोटिको भएकाले होला अत्यन्तै सुन्दर देखिने ।
कम सुन्दर भूमिमा विकास भएको सिड्नी शहर खुब सुन्दर ! सुन्दर भूमिमा विकास भएको काठमाडौं कति कुरूप ! आखिर मानिस हो सर्जक अनि मानिस नै हो विनाशक । पृथ्वी त उही हो । भूगोल उस्तै । माटो उस्तै । वनस्पति उस्तै । जीवजन्तु उस्तै । किन्तु मानव सभ्यता किन फरक ? संस्कृति किन धेरै फरक ?
फेरि आफ्नै जन्मभूमिको याद आयो । सुन्दर प्राकृतिक वरदान पाएको काठमाडौं शहर मानवीय अव्यवस्थापनले कुरूप बनेको देखेर मन खिन्न भयो । कम सुन्दर भूमिमा विकास भएको सिड्नी शहर खुब सुन्दर ! अत्यन्त सुन्दर भूमिमा विकास भएको काठमाडौं कति कुरूप ! आखिर मानिस नै सर्जक अनि मानिस नै हो विनाशक । पृथ्वी त उही हो । भूगोल उस्तै । माटो उस्तै । वनस्पति उस्तै । जीवजन्तु उस्तै । किन्तु मानव सभ्यता किन फरक ? संस्कृति किन धेरै फरक ? प्रसिद्ध नाटककार शेक्सपियरको नाटक रोमियो एण्ड जुलियटको एक उक्ति याद आयो–जसलाई हामी गुलाफ भन्छौँ कुनै अर्को नाम दिए पनि त्यसको सुगन्ध मीठै हुन्छ । गुलाफ भएरमात्र यो फूल सुगन्धित भएको होइन भने झैँ अष्ट्रेलिया नाम भएरमात्र यो ठाउँ सुन्दर भएको होइन रहेछ ।
यसैगरी नेपालका मान्छेले आफ्नो ठाउँ सुन्दर बनाउने चाहना भए अवश्य पनि संसारका सुन्दरतम ठाउँहरूमध्ये नेपाल एक हुने थियो भन्ने सम्झेर अलि-अलि आशा पलायो । त्यसैदिन ज्वाइँले प्राध्यापन गर्ने युनिभर्सिटी अभ नोट्रेड्यामको अवलोकन गर्ने अवसर मिल्यो । नजिकै एउटा कथिड्रल पनि रहेको देख्दा त्यहाँका शैक्षिक संस्था र धार्मिक संस्थाका बीचमा कस्तो सुमधुर सम्बन्ध रहेछ भन्ने लाग्यो । तिनीहरूबीच रामो कामका लागि सहकार्य हुँदो हो । नेपालमा पनि त शैक्षिक संस्थासँग अन्य संस्थाको सम्बन्ध गाँसेर सहकार्य गर्नसके कति सुन्दर हुन्थ्यो भन्ने लाग्यो ।
अर्को बिदाको दिन छोरा-बुहारी, छोरी-ज्वाइँ र नाति-नातिनीसँग प्यागन पार्कतर्फ कारमा यात्रा गर्यौँ । आहा कति सुन्दर रहेछ त्यो पार्क त झन् ! भूस्वर्ग नै त्यही हो कि झैँ लाग्यो । नेपालकै जस्तो भिरालो परेको जमिन । हरियो मानव संरक्षित घाँसे मैदान । नेपालमा पनि लेकतिर त्यस्तै सुदर नागी हुन्छन् तर पूर्णप्राकृतिक र निश्चल । प्यागन पार्क चाहिँ अर्ध मानवनिर्मित अर्ध प्राकृतिक । प्राकृतिक घाँस र रोपिएका फूलको अनुपम संगम । हेरिरहुँ लाग्ने, बसिरहुँ लाग्ने तर अफसोस् !
कामको चटारोले क्लान्त मानिसलाई त्यो सौभाग्य के मिलोस् ? रुसोले भने झैँ जन्मदा स्वतन्त्र जन्मेको मानिस चारैतिर आफू साङ्लोले बाँधिएको पाउँछ । अनन्त खुशीको क्षण त्यसैले हरेर लान्छ । त्यसदिनको प्यागन पार्कको अनुपम सौन्दर्य जति आकर्षक होस् तर रबर्ट फ्रष्टले अर्को कवितामा भने झैँ प्यागनको सौन्दर्य मनमोहक त थियो तर हामीलाई घर पुगेर निदाउनुअघि कोशौं पर टाढाटाढा जानु थियो । आखिर यही त रहेछ जीवनको यात्रा । टुकुटुकु हिँडेदेखि अनन्तसम्म हतारै हतार ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर