काठमाडौं । एनसेल फाउण्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का खेलहरूमा हानिएका चौकाबापत दुई हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने पक्का भएको छ । क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार सामग्रीहरू सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने फाउण्डेसनले जनाएको छ ।
गत वर्ष एनपिएलसँगको सहकार्यमा सुरु गरिएको उक्त प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएको छ । फाउण्डेसनका अनुसार एनपिएल सिजन २ का हरेक चौकामा चारवटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता फाउण्डेसनले जनाएको छ । क्रिकेटको उत्साहलाई शिक्षासँग जोड्ने पहल विद्यार्थीका लागि अर्थपूर्ण शैक्षिक सहयोग प्रदान गर्ने फाउण्डेसनको प्रतिबद्धताको एक प्रमाण हो ।
बिहीबारसम्म खेलिएका एनपिएल सिजन २ का खेलमा ९० खेलाडीले कुल पाँच सय १० चौका प्रहार गरेका छन्, जसले दुई हजार ४० शैक्षिक सामग्री वितरण सुनिश्चित गरेको छ । चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीको सूचीमा पोखरा एभेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अगाडि हुनुहुन्छ, जसले एक सय आठ शैक्षिक सामग्री वितरण सुनिश्चित गर्नुभएको छ । लुम्बिनी लायन्सका डार्सी सर्टले १९ चौकासहित दोस्रो स्थानमा रहेर ७६ शैक्षिक सामग्री योगदान गर्नुभएको छ । त्यसैगरी काठमाडौं गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी तेस्रो स्थानमा हुनुहुन्छ । दुवैले १७–१७ चौका प्रहार गर्दै प्रत्येकले ६८ शैक्षिक सामग्री वितरण सुनिश्चित गर्नुभएको हो । उक्त पहलले शैक्षिक सामग्री वितरणमार्फत् विद्यार्थीको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने बताइएको छ ।
विद्यार्थीलाई प्रदान गरिने प्रत्येक किटमा झोलासहित कपी, पेन्सिल, साफनर, इरेजरलगायतका आवश्यक सामग्री समावेश रहेका फाउण्डेसनले जनाएको छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले भन्नुभयो, ‘बिहीबारसम्मका खेलहरूमा चौका प्रहार गर्दै यस सामाजिक पहलमा योगदान पुर्याउने प्रत्येक खेलाडीलाई हामी हार्दिक बधाई र धन्यवाद दिन चाहन्छौं । गत वर्षदेखि नै हामीले क्रिकेटप्रतिको उत्साहलाई अर्थपूर्ण सामाजिक कार्यमा जोड्दै विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै आएका छौं । बाँकीका खेलहरू अझ रोमाञ्चक हुनेछन् भन्नेमा हामी विश्वस्त छौं, जसले खेलमात्र होइन, शिक्षामा हुने योगदानलाई पनि थप विस्तार गर्नेछ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच