ललितपुर । हस्तकला दिवसका अवसरमा बुधबारदेखि ललितपुरमा सुरु भएको कला तथा सांस्कृतिक महोत्सव २०८२ (क्राफ्ट एण्ड कल्चर फेस्टिबल) मा शुक्रबारदेखि नेपाल र कोरियाका विभिन्न थरीका कलात्मक मखुण्डो(मास्क) प्रदर्शनी सुरु गरिएको छ । मखुण्डो प्रदर्शनी उद्घाटन गर्दै ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कला नगरी, सम्पदा नगरीमा पहिलोपटक नेपाल र कोरियाको मखुण्डो प्रदर्शनीले दुर्ई देशको मखुण्डो संस्कृति उजागर गरेको बताउनुभयो । कोरियाजस्तै नेपालमा पनि विभिन्न धर्म, कला संस्कृति र सम्पदासँग जोडिएका धेरै मखुण्डो रहेका उल्लेख गर्दै प्रदर्शनीले लोपोन्मुख मखुण्डोहरू प्रवद्र्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
उपप्रमुख शाक्यले भन्नुभयो, ‘नेपालका विभिन्न जात्रा, मेला उत्सवहरू र सांस्कृतिक कार्यक्रममा वर्षौंदेखि मखुण्डो प्रदर्शनी हुँदै आएको छ तर यसरी सबै मखुण्डो एकै ठाउँमा प्रदर्शनी हुन सकेको थिए । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका र कोरियास्थित इम्याकोको सहकार्यमा भएको मखुण्डो प्रदर्शनीले आगामी दिनमा कोरिया र नेपाल सरकारका साथै नेपाल हस्तकला महासंघ र कोरियाको इम्याको संस्थाबीच थप सम्बन्ध विस्तार हुँदै जाने मैले विश्वास लिएको छु ।’ उहाँले कोरियामा पनि नेपाली मास्क र हस्तकला प्रदर्शनीको व्यवस्थाका लागि नेपालस्थित दक्षिण कोरियाका राजदूत पार्क तइ योङसँग आग्रह गर्नुभयो ।
आयोजकका अनुसार नेपाल र दक्षिण कोरियाका गरी करिब एक सयवटा मखुण्डो प्रदर्शनीमा राखिएका छन् । जहाँ ६० नेपाल र ४० कोरियाका मखुण्डो रहेका छन् ।
नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले नेपाल हस्तकला महासंघले नेपाली हस्तकलामार्फत् नेपालको कला संस्कृति र सम्पदाहरूको संरक्षण सम्वद्र्धनका साथै अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो । हस्तकला अन्तर्राष्ट्रियस्तरमा कला, संस्कृति आदानप्रदान गर्ने माध्यम पनि भएकाले हस्तकला प्रवद्र्धनका लागि थप सहकार्यमा जोड दिनुभयो । कार्यक्रममा नेपालस्थित कोरियाली राजदूत पार्क, कोरियन संस्था इम्याकोका प्रतिनिधिलगायतले पनि हस्तकला प्रवद्र्धनका लागि दुई देशबीच सहकार्यमा जोड दिनुभएको थियो ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्य, पाटन संग्रहालयका तर्फबाट सुरेश लाखे, मेला संयोजक प्रताप शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यलगायतले पनि प्रदर्शनीले हस्तकला तथा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभएको थियो ।
आयोजकका अनुसार नेपाल र कोरियाका गरी करिब एक सयवटा मखुण्डो प्रदर्शनीमा राखिएका छन् । ६० नेपाली, ४० कोरियन मखुण्डो राखिएका हुन् । प्रदर्शनी उद्घाटनकै अवसरमा प्रदर्शित सबै मखुण्डो क्याटलग पनि विमोचन गरिएको थियो । कार्यक्रममा दुई देशबीच हस्तकला प्रवद्र्धनमा सहकार्यका लागि नेपाल हस्तकला महासंघ र कोरियाको इम्याको संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा महासंघ अध्यक्ष शाक्य र इम्याकोका महासचिव चोइ हु हुइकले हस्ताक्षर गर्नुभएको हो ।
नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका वडा नम्बर १६ र पाटन संग्रहालयको संयुक्त आयोजनामा कला र सांस्कृतिक धरोहरका रूपमा रहेको नेपाली हस्तकलाको प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको हो । ललितपुर महानगरपालिकास्थित पाटन दरबार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा आयोजित प्रदर्शनीमा करिब २१ क्यानओपी र १० वटा टेबुल स्टल रहेका बताइएको छ ।
प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरूको अलावा ललितपुर महानगरपालिका वडा १६ को हस्तकला तथा पर्यटन प्रवद्र्धन समितिबाट बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातीय पोशाक प्रदर्शनी र सोही वडाको सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्यलगायत धाःबाजा, दमोखिं बाजा, नेपाल भाषाका लोकगीतलगायतको पनि प्रस्तुति रहने बताइएको छ ।
अघिल्लो दिन प्रदर्शनी उद्घाटन गर्दै बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले बागमती प्रदेश कला र संस्कृतिले भरिपूर्ण भए पनि त्यसमध्ये ललितपुर, भक्तपुर र काठमाडौंमा हस्तकलाका सामग्री प्रयोग गरेर बनाइएका पुरातात्विक सम्पदा बढी भएकाले तिनको संरक्षण गर्न संघ, प्रदेश र स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताउनुभएको थियो ।
त्यस्तै, नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले हस्तकला सामग्री बनाउने र व्यवसाय गर्ने अर्को पुस्ता नरहने अवस्था आएको भन्दै हस्तकला पुस्तान्तरणमा जोड दिनुपर्ने बताउनुभएको थियो । विदेश पलायन हुने युवा रोक्न हस्तकलामैत्री नीति आवश्यक रहेको उहाँको भनाइ थियो । पाँचदिने महोत्सव आइतबारसम्म सञ्चालन हुने बताइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच