काठमाडौं । नेकपा एमाले पार्टीको ११औँ महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा तय भएको छ । महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरू आन्तरिक रणनीतिमा जुटेका छन् । गत शनिबार नेकपा एमालेले देशभरी एकदिन महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो । तर, कतिपय जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर तीव्र विवाद भइरहेको छ । आगामी महाधिवेशनमा पार्टी अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले प्रतिनिधि छनोटमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाएको छ ।
प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै पोखरेलसहितका नेताहरूले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर असन्तुष्टि जनाएका थिए । प्रतिनिधि छनोटको विवाद थप गहिरिँदै गएको छ । प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई पक्षका कार्यकर्ताहरूबीच हात हालाहाल भएको छ । शुक्रबार दिउँसो पार्टी मुख्यालय च्यासलमा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रतिनिधि चयनलाई लिएर तनाव सिर्जना भएको हो । महासंघकी सचिव मन्दिरा श्रेष्ठका अनुसार अध्यक्ष पासाङ शेर्पा पक्षधरले एकलौटी ढंगले प्रतिनिधि चयन गरेका थिए । त्यसको विरोधमा असन्तुष्ट समूह उजुरी लिएर केन्द्रीय संगठन विभागमा पुगेको थियो ।
त्यही क्रममा पासाङ शेर्पा पक्ष ध्यानाकर्षण गराउन भन्दै संगठन विभागमै पुगेको थियो । दुवै पक्षबीच भनाभन भइरहेका बेला युवा संघका नेता मंगल थापाले आफूहरूमाथि हातपात गरेको श्रेष्ठको दाबी छ । सचिव श्रेष्ठले भन्नुभयो, ‘पासाङ शेर्पा पक्षले महासचिव पेम्बा भोटेलाई कारबाही गरेको बताउँदै उपमहासचिव देवराज राईलाई कार्यवाहक महासचिव तोकेको छ, उनैको नेतृत्वमा अवैधानिक ढंगले बैठक नै नराखी महाधिवेशनका लागि सातजना प्रतिनिधि तोकेका रहेछन् । हामी ३१ जना उम्मेदवारको सूची लिएर संगठन विभाग पुगेका थियौँ । त्यही भेला मंगल थापा समूहले हातपात गरेका हुन् ।’ एमाले महाधिवेशनमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघबाट सातजना प्रतिनिधि जाने व्यवस्था छ ।
प्रतिनिधि छनोटको विषयलाई लिएर एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच भनाभन र धकेलाधकेल भएको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबीच र धकेलाधकेल भएको हो । एमालेमा प्रतिनिधि छनोटमा भेदभाव गरेको भन्दै ओखलढुंगा, धनकुटा, दाङलगायत जिल्लामा पनि विवाद छ ।
पोखरेल लक्षित बादलको टिप्पणी- ‘उम्मेदवारी घोषणा गर्दै हिँड्नु राम्रो होइन’
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) ले ११औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्षित गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्नु उपयुक्त नभएको टिप्पणी गर्नुभएको छ । शुक्रबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उपाध्यक्ष थापाले केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निष्कर्षमा पुगेको जानकारी दिँदै भन्नुभयो, ‘हुन त अहिले विभिन्न कमरेडहरूले सार्वजनिक रूपमा विभिन्न उम्मेदवारीहरू घोषणा गरिरहनु भएको छ । केन्द्रीय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंग जानु एमाले नेताहरूका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकताबद्ध गर्दैन । यसले अझ विघटन र विसर्जनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन ।’
अध्यक्ष ओलीका नीति, विचार र हाँसिल गरेको उपलब्धिले पनि ओलीलाई नै नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाको जिकिर छ । आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले ओलीलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको जिकिर गर्दै भन्नुभयो, ‘अहिलेको विशिष्ट स्थितिमा ठोस स्थितिमा लोकतन्त्रको स्थापनाको निम्ति उहाँको झन् बढी आवश्यकता छ । देशको राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति झन् उहाँको बढी आवश्यकता छ । त्यो हिसाबले वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा केन्द्रीय समिति पुगेको हो ।’ ओलीको नेतृत्वमा मात्रै नेकपा एमाले अगाडि बढ्नसक्ने उहाँको दाबी छ ।
‘जेन-जी’ आन्दोलन प्रतिक्रान्ति भएको टिप्पणी
उपाध्यक्ष थापाले ‘जेन–जी’ आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति भएको टिप्पणी गर्नुभएको छ । जनताद्वारा जनताको निम्ति ‘जेन-जी’ आन्दोलन नभएको टिप्पणी गर्दै थापाले भन्नुभयो, ‘जनताको हातबाट प्रतिगामी शक्तिहरूको हातमा राजनीतिक सत्ता जानु प्रतिक्रान्ति हो । यो परिघटनालाई हेर्दा दुईतिहाइ जनमत भएको निर्वाचित सरकारलाई बलपूर्वक अपदस्थ गरियो । एमाले नेतृत्वको सरकारलाई संविधानको धारा मिचेर बलपूर्वक हटाइयो, यो क्रान्ति थिएन । नागरिकहरूको हातबाट गैरनागरिकको हातमा सत्ता गएको छ ।’ प्रतिक्रान्तिलाई स्थापित गर्नको लागि अहिले राजनीतिक दलको नेतृत्व फेर्ने प्रयास भइरहेको समेत उपाध्यक्ष थापाले आरोप लगाउनुभएको छ ।
१२ जना पदाधिकारी ओलीको पक्षमा
नेकपा एमालेका १८ पदाधिकारीमध्ये १२ जना केपी शर्मा ओली पक्षमा खुलेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा ६ जना पदाधिकारी देखिएका छन् । एमालेका एक सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि लामो समयदेखि निलम्बनमा छन् । मंसिर २७ गतेबाट सुरु हुने एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यालनसहित प्रतिस्पर्धाको तयारी गरिरहनु भएको छ । महाधिवेशनमा उम्मेदवारी दिँदा दुवै पक्षले आ-आफ्नो तर्फको प्यानल बनाएरै दिने भित्री तयारी गरिरहेका छन् । महाधिवेशन मिति नजिकिँदै गर्दा तीन उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र गुरुप्रसाद बराल ओलीको पक्षमा खुल्नुभएको छ । त्यस्तै, महासचिव शंकर पोखरेलसहित तीनैजना उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ पनि ओली पक्षमै खुल्नुभएको छ । ६ सचिवहरूमध्ये चारजना लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल पनि ओली पक्षमा खुल्नुभएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तीनजना उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले साथ दिने देखिएको छ । त्यस्तै, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई पनि पोखरेललाई साथ दिँदै सोही समूहबाट महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहनु भएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ र समर्थन रहने बताइएको छ ।
‘जेन-जी’ आन्दोलनपछि ओली-देउवाबीच पहिलो भेट
पूर्व–प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार अपराह्न महाराजगञ्जस्थित निवासमा पुगेर ओलीले देउवासँग भेटवार्ता गर्नुभएको हो । ‘जेन-जी’ आन्दोलनपछि देउवा र ओलीबीच भेट भएको थिएन । नेपाली कांग्रेस र नेकपा एमालेको तत्कालीन सरकार रहेका बेलामा ‘जेन-जी’ आन्दोलन भएको थियो । जसकारण ओली सत्ताच्युत हुनुभएको थियो भने कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा देउवा दम्पतीमाथि भौतिक आक्रमण भएको थियो । साथै देउवा र ओलीको निवासमा आगजनी र तोडफोड भएको थियो । भेटमा नेकपा एमाले अध्यक्ष ओलीले देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभयो । साथै दुई नेताहरूबीच निर्वाचनको तयारी, सम्भावित राजनीतिक सहकार्य र समसामयिक राजनीतिक विषयहरूबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच