जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त हुनुभएको छ । शुक्रबार मधेसको छैटौँ मुख्यमन्त्रीका रूपमा उहाँ नियुक्त हुनुभएको हो । प्रदेशमा नेपाली कांग्रेसले भने पहिलोपटक मुख्यमन्त्री पाएको छ । यसअघि मधेसमा जसपाका लालबाबु राउत पहिले मुख्यमन्त्री बन्नुभएको थियो । त्यसपछि, सरोजकुमार यादव, जनमतका सतिशकुमार सिंह र लोसपाका जितेन्द्र सोनाल मुख्यमन्त्री बन्नुभयो । यस्तै, एमालेका सरोज यादवपछि कृष्णप्रसाद यादव कांग्रेसबाट पहिलो मुख्यमन्त्री र मधेसका छैटौँ मुख्यमन्त्री बन्नुभएको हो ।
गत कात्तिक २३ गते राति संविधानको धारा १६८ को (३) बमोजिम एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट गरेका थिए । यादवलाई तत्कालीन प्रदेश प्रमुखले होटलमा शपथ गराएको भन्दै आलोचना भएको थियो । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश गरेकपछि उहाँ मुख्यमन्त्री बनेको २६औँ दिनमा राजीनामा दिन बाध्य हुनुभएको थियो ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त
शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादवलाई नियुक्त गर्नुभएको हो । हाल मधेस प्रदेशमा १०४ जना प्रदेशसभा सदस्य कायम छन् । जसमध्ये ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवले दाबी पेस गर्नुभएको थियो । यादव नेतृत्वको सरकारलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् । सात दलीय गठबन्धनले लामो रसाकस्सीपछि शुक्रबार कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए । नवनियुक्त मुख्यमन्त्री यादवले सबै दलबाट एक-एकजना मन्त्री पनि आफूसँगै शपथग्रहण गर्ने बताउनुभएको छ । बाँकी मन्त्रीको टुंगो विश्वासको मत लिएपछि हुने उहाँले बताउनुभयो ।
प्रदेशको बेथिति हटाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको बेथिति हटाउने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । ‘अब हाम्रो योजना भनेको प्रदेश बेथितिमा रहेको छ, पहिलो काम थितिमा ल्याउने हो’, उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्ने हो ।’ उहाँले मधेस प्रदेश गरिबी र अशिक्षाबाट गुज्रिरहेको भन्दै पहिलो प्राथमिकता दिएर काम सुरु गर्ने बताउनुभयो । रौतहटबाट प्रदेशसभामा निर्वाचित कृष्ण कांग्रेस मधेस प्रदेशका सभापतिसमेत हुनुहुन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच