काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको मार्गचित्र अब निर्वाचनमै केन्द्रित भएको बताउनभुएको छ । शुक्रबार बालुवाटारमा आयोजित निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएकोले सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको हो । बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘हामी ‘जेन-जी’ आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ । राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ ।’ प्रधानमन्त्री कार्कीका अनुसार कतिपय आशंकाले सरकारलाई सचेत गराउने र सही दिशा पहिल्याउन सहयोग गर्ने भएकाले सहभागीहरूले उठाएका प्रश्न र आलोचनालाई सरकारले अन्यथा नलिने बताउनुभयो ।
उहाँले भदौ २३ र २४ मा भएका अप्रत्याशित घटनालाई राष्ट्रिय जीवनको गम्भीर मोडका रूपमा व्याख्या गर्दै कार्कीले त्यस घटनाले मुलुकलाई नयाँ दिशातर्फ धकेलेको बताउनुभयो । घटनापछि तत्कालीन निर्वाचित र शक्तिशाली सरकार परिस्थितिलाई नियन्त्रण गर्न असफल भएको टिप्पणी गर्दै उहाँले अदालतका प्रक्रिया आफ्नो ठाउँमा रहे पनि अन्तरिम आदेश नभएकाले सरकार अब अघि बढ्न बाध्य रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार ‘जेन-जी’देखि राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजसम्म सबैसँग पटक-पटक छलफल गरिएको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले तत्कालै सक्रिय भएर प्रक्रियागत तयारी अघि बढाएको जनाउनुभयो । भदौ २३ मा निहत्था युवाको मृत्यु र भोलिपल्ट भएका आगजनी घटनाबारे उहाँले अनुसन्धानका आधारमा सत्य बाहिर आउने उल्लेख गर्दै, यस्तो हिंस्रक प्रवृत्ति दोहोरिन नदिन सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीले आजको भेला निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्वपूर्ण र उपलब्धिमूलक भएको बताउनुभएको छ । बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो । राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनैजना आयुक्त, सचिव र सहसचिवसमेत गरी सात जनाको प्रतिनिधिमण्डलको उपस्थिति थियो । चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा थिए । गृहमन्त्री अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा स्पष्ट पारेका थिए । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले पूर्णरूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको विवरण प्रस्तुत गर्नुभएको थियो ।
कांग्रेसले उठायो सुरक्षा चुनौतीसम्बन्धी प्रश्न
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उत्पन्न हुनसक्ने कुनै पनि सुरक्षा थ्रेटको जिम्मेवारी सरकारकै हुने स्पष्ट पारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागीसहित धारणा राख्दै कांग्रेस प्रतिनिधि गगन थापा र पुष्पा भुसालले निर्वाचनमा सुरक्षा चुनौती देखिएकाले यसको जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको हो । नेतृ भुसालका अनुसार कांग्रेसले बैठकमा ‘कुनै प्रकारको सुरक्षा थ्रेट स्वीकार्य छैन’ भन्ने स्पष्ट सन्देश दिएको थियो । उहाँले भन्नुभयो, ‘यदि कुनै थ्रेट भयो भने यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ भन्ने कुरा हामीले प्रष्ट्याएका छौँ ।’ उहाँले वर्तमान सरकारलाई निर्वाचन रोक्ने वा नगराउने छुट कतै नभएको प्रष्ट पार्नुभयो ।
एमालेले उठायो सरकारको वैधानिकताको प्रश्न
सर्वपक्षीय बैठकमा नेकपा एमालेले सरकारको वैधानिकता परीक्षण हुन बाँकी रहेको विषय उठाएको छ । सहभागी एमाले नेता महेश बर्तौलाले सबै दलले आफ्ना धारणाहरू राखेको र सरकारले निर्वाचनका विषयमा कुनै ठोस योजना नदिएको जनाउनुभयो । ‘हामीले बैठकमा चार प्रस्ताव राखेका थियौँ, पहिलो एमाले अध्यक्षलाई स्थानहद गरेर निर्वाचनको तयारी गरेको छैन, सुरक्षाको कुनै वातावरण नै बनेको छैन, सरकारको संवैधानिक परीक्षण बाँकी छ सरकारका विषयमा अदालतमा रहेका मुद्दाको टुंगो लाग्नुपर्छ, चुनावी कानुनका विषयमा सरकारले अनावश्यक प्रचार गरेको छ, यसले चुनावको वातावरण बनेकै छैन भन्ने प्रष्ट धारणा राखेका छौँ’ उहाँले भन्नुभयो । उहाँले यो विषयमा सरकारबाट कुनै ठोस जवाफ नपाएको जनाउनुभयो ।
विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालबाहिर रहेका नेपालीहरूलाई भोट हाल्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा रास्वपाले नेपालभित्रै रहेका तर अर्को जिल्लामा बस्ने मानिसहरूले पनि भोट हाल्ने वातावरण बनाउन माग गरेको हो । बैठकमा सहभागी रास्वपा सचिवालय सदस्य शिशिर खनालले आफूहरूले भयरहित वातावरणमा चुनाव गराउन सरकारसँग माग गरिएको जानकारी दिनुभयो । ‘निर्वाचन गर्ने कार्यभारको रूपमा हामीले यो सरकारलाई समर्थन गरेको हो,’ उहाँले भन्नुभयो, ‘बाहिर संशय छ कि भयरहित वातावरण निर्वाचन गराउने वातावरण बनाउन हामीले अनुरोध गर्यौँ ।’






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच