काठमाडौं । युक्रेन युद्धबारे अमेरिकासँगको वार्ता निष्कर्षविहीन भएको एक साता नबित्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतले ‘रेड कार्पेट’मा स्वागत गरेको छ । अमेरिकासँग स्वयं भारतकै पनि सम्बन्ध चिसिएका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई रेड कार्पेटमा स्वागत गर्नुभएको हो । युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाब दिइरहेका बेला भारत-रुस शिखर सम्मेलनमा भाग लिन पुटिन भारत आउनुभएको छ । सन् २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरीय आक्रमण गरेपछि पुटिनको पहिलो भारत भ्रमण पनि हो । पुटिनको यो यात्रा चार वर्षपछि भएको पहिलो भारत भ्रमण हो, र भारत-रुस कूटनीतिक सम्बन्धका २५ वर्ष पूरा भएको अवसर पनि यसमा जोडिएको छ ।
युद्ध अन्त्य गर्न रुसलाई दबाब दिन अमेरिकारले भारतमाथि पनि कर बढाएको छ । रुसी तेल किनेको भन्दै अमेरिकाले भारतमाथि कर बढाएको हो । तर, अमेरिकी दबाबबीच मोदी र पुटिनले गला मिलाएका हुन् । पश्चिमा तनावबीच पुटिनलाई स्वागत गरेर भारतले आफ्नो रणनीतिक स्वायत्तता पुनः स्थापित गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले विश्लेषण गरेका छन् । पश्चिमी देशहरूले मोदीलाई रुसी तेल किन्न बन्द गर्न र मस्कोलाई आर्थिक सहयोग पु¥याउने काम नगर्न दबाब दिइरहेका छन् । रुसी कच्चा तेलका दुई ठूला खरिददारहरू भारत र चीनले रुसी राष्ट्रपतिलाई ठूलो क्षतिबिना युरोपेली प्रतिबन्धको सामना गर्न सक्षम बनाएका छन् । यसको बावजुद, भारत-रुस व्यापार बढाउने उद्देश्यले धेरै महत्वपूर्ण घोषणाहरू गरिएको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार भारत र रुसबीच जहाज निर्माण, समुद्रहरूमा नेभिगेट गर्न भारतीय नाविकहरूलाई प्रशिक्षण, नयाँ ढुवानी लेनहरूमा लगानी, नागरिक आणविक ऊर्जा र महत्वपूर्ण खनिजहरूमा सम्झौता र सम्झौताहरू हस्ताक्षर गरिएको छ । मोदीले रुसी पर्यटकहरूको लागि ३० दिनको निःशुल्क भिसाको घोषणा गर्नुभयो । ‘यस वर्ष अक्टोबरमा लाखौँ भक्तहरूले अन्तर्राष्ट्रिय बौद्ध मञ्चमा भगवान् बुद्धका पवित्र अवशेषहरूको आशीर्वाद प्राप्त गरे । म खुसी छु कि हामी चाँडै नै रुसी नागरिकहरूको लागि ३० दिनको निःशुल्क ई-पर्यटक भिसा र ३० दिनको समूह पर्यटक भिसा प्रस्तुत गर्नेछौँ । उही समयमा, रुसी राष्ट्रपति पुटिनले भारतलाई निरन्तर निर्वाध तेल आपूर्ति गर्ने घोषणा गर्नुभयो । तर, लडाकु विमान वा प्रमुख रक्षा सम्झौताहरू घोषणा गरिएनन्, जुन अपेक्षा गरिएको थियो ।
यसअघि शुक्रबार बिहान मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्नुभएको थियो । बिहान पुटिनले राजघाटको भ्रमण गर्नुभयो, जहाँ उहाँले महात्मा गान्धीलाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । राजघाट आइपुग्नुअघि राष्ट्रपति पुटिनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो । तीनै सशस्त्र सेनाले सम्मान गारत प्रस्तुत गरेका थिए ।
२०३० सम्म द्विपक्षीय व्यापारलाई १०० अर्ब डलर पुर्याउने लक्ष्य
भारत र रुसले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारलाई १०० अर्ब डलरभन्दा बढी पुर्याउने लक्ष्य राखेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३० अघि नै उक्त लक्ष्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो । मोदीले दुई देशहरू बीचको भन्सार र गैरभन्सार अवरोधहरू दु्रत रूपमा घटाइने बताउनुभयो, जसले व्यापार र लगानीलाई अझ सहज बनाउने उहाँको विश्वास छ । ‘विगत ११ वर्षमा भारतमा परिवर्तनको तीव्र गति पहिले कहिल्यै देखिएको थिएन । सुधार, प्रदर्शन र रूपान्तरणको सिद्धान्तलाई पछ्याउँदै भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अगाडि बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘देशमा व्यवसाय गर्न सजिलोलाई अझ सुधार गरिने छ ।’
के-के समझदारी भए ?
पुटिनको भारत भ्रमणका क्रममा दुई देशबीच स्वास्थ्य सेवा र चिकित्सा शिक्षा, खाद्य सुरक्षा र मापदण्ड, धु्रवीय जहाज, समुन्द्री सहयोग र मलबारे महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गरेका छन् । दुई देशले २०३० सम्म आर्थिक सहयोग कार्यक्रममा सहमति जनाएका छन्, यसले हाम्रो व्यापार र लगानीलाई विविध, सन्तुलित र दिगो बनाउने विश्वास छ । ‘आर्थिक सहयोगलाई नयाँ उचाइमा पु¥याउनु हाम्रो साझा प्राथमिकता हो । यसले दुई देशबीचको व्यापारिक सम्बन्धलाई नयाँ गति दिने प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास छ । ‘हामी धु्रवीय पानीमा भारतीय नाविकहरूलाई तालिम दिन सहयोग गर्नेछौँ । यसले आर्कटिकमा हाम्रो सहयोगलाई मात्र बलियो बनाउने छैन तर भारतका युवाहरूका लागि नयाँ रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ’, उहाँले भन्नुभयो, ‘जहाज निर्माणमा हाम्रो गहिरो सहयोगले मेक इन इण्डियालाई बलियो बनाउने सम्भावना छ । यसले रोजगारी, सीप र क्षेत्रीय सम्पर्कलाई बढावा दिनेछ ।’ हालै, रुसमा दुई नयाँ भारतीय वाणिज्य दूतावास खोलिएको उहाँले जानकारी दिनुभयो, जसले दुवै देशका नागरिकहरूबीच सम्पर्क र निकटता बढाउने उहाँको विश्वास छ ।
पुटिनको भ्रमणमा चिनियाँ चासो
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई चीनले निकै नजिकबाट नियालिरहेको छ । चिनियाँ सञ्चारमाध्यम र विश्लेषकहरूले यो भेटलाई भारतमाथि अमेरिकाले बनाइरहेको दबाबसँग जोडेर विश्लेषण गरेका छन् । चिनियाँ सरकारी सञ्चार माध्यमले ‘पुटिनको यात्रा त्यतिबेला भयो, जब भारत-अमेरिका सम्बन्धमा तनाव देखिएको छ’ भनेर लेखेका छन् । ऊर्जा सहकार्य, ठूलो रक्षा सम्झौता र दिल्ली-वासिंगटनबीच बढिरहेको रणनीतिक दूरीबारे पनि उनीहरूले टिप्पणी गरेका छन् । चीनको सरकारी एजेन्सी ‘सिन्ह्वा’ले पुटिन भारत आइरहेका बेला रुसी तेल किनेको भन्दै अमेरिकाले भारतमाथि ट्यारिफ बढाइरहेको विषय उल्लेख गरेको छ । चिनियाँ अनलाइन माध्यम ‘द पेपर’ले भारतको आर्थिक वृद्धि ऊर्जा आवश्यकतासँग जोडिएकाले अमेरिका र युरोपेली संघको दबाबले पनि रुससँगको ऊर्जा साझेदारी सहजै कमजोर नहुने टिप्पणी गरेको छ ।
भारत-रुस मित्रता सधैँ धु्रव ताराजस्तै स्थिर छ : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रूस बीचको मित्रता धु्रव ताराजस्तै स्थिर रहेको बताउनुभएको छ । पछिल्ला आठ दशकमा विश्वमा धेरै उथलपुथल भए पनि भारत-रुस सम्बन्ध स्थिर रहेको उहाँले बताउनुभयो । भारत र रुस लामो समयदेखि आतंकवाद विरुद्धको लडाइँमा काँधमा काँध मिलाएर उभिएको उहाँले बताउनुभयो । ‘विगत आठ दशकहरूमा संसारले धेरै उतारचढावहरू देखेको छ । मानवताले धेरै चुनौतीहरू र संकटहरूको सामना गरेको छ । तर यी सबैको बीचमा, भारत-रुस मित्रता सधँं धु्रव ताराजस्तै स्थिर र स्थिर रहेको छ,’ मोदीले भन्नुभयो, ‘भारत र रुस लामो समयदेखि आतंकवाद विरुद्धको लडाइँमा काँधमा काँध मिलाएर उभिएका छन् । पहलगाममा भएको आतंकवादी आक्रमण होस् वा क्रोकस सिटी हलमा भएको कायरतापूर्ण आक्रमण, यी सबै घटनाहरूको मूल कारण एउटै छ ।’
भारतले युक्रेन मुद्दाको शान्तिपूर्ण समाधानलाई समर्थन गरेको मोदीले बताउनुभयो । ‘भारतले युक्रेन मुद्दाको शान्तिपूर्ण समाधानलाई समर्थन गरेको छ । भारतले यस समस्याको शान्तिपूर्ण र दिगो समाधान खोज्ने प्रयासहरूलाई समर्थन गर्दछ । भारतले सधैँ यस दिशामा सहयोग गरेको छ र गरिरहने छ’, उहाँले भन्नुभयो, ‘रुसले आतंकवाद विरुद्धको भारतको लडाइँलाई सधैँ समर्थन गरेको छ । भारत-रुस मित्रता नयाँ चुनौतीहरूको सामना गर्न तयार छ ।’
बिना कुनै अवरोध भारतलाई इन्धन आपूर्ति जारी राख्छौँ : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई बिना कुनै अवरोध इन्धन आपूर्ति जारी राख्ने बताउनुभएको छ । अमेरिकाले रुसी तेल खरिद गर्न भारतलाई निरन्तर दबाब दिइरहेका बेला पुटिनले यस्तो बताउनुभएको हो । पुटिनले लगभग ५० वर्षदेखि रुसले भारतीय सेनालाई आफ्नो सेनालाई हतियार र आधुनिकीकरणमा सहयोग गर्दै स्मरण गर्नुभयो । आफ्नो भ्रमण र सम्मेलनका क्रममा भएका साझेदारीले भारत-रूस रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने उहाँको भनाइ थियो, जसले भारत र रूसका जनता दुवैलाई फाइदा पुर्याउनेछ । पुटिनले भारत र रुसबीचको बहुआयामिक आर्थिक सम्बन्धलाई अझ सुदृढ पार्न विशेष ध्यान दिइरहेको बताउनुभयो । ‘हाम्रो टोली भारतमा केवल तेल र ग्यासको बारेमा छलफल गर्न वा सम्झौताहरू सम्पन्न गर्न मात्र आएको छैन’, उहाँले भन्नुभयो, ‘रुसले भारतसँग हरेक क्षेत्रमा सम्बन्ध र व्यापार विस्तार गर्न चाहन्छ ।’ (एजेन्सीको सहयोगमा)




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच