काठमाडौं । शिक्षामन्त्री महावीर पुनले राष्ट्र, राष्ट्रियता, धर्म–सङ्गठन र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंका अभिव्यक्तिहरूलाई ‘हावा कुरा’ भन्दै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया व्यक्त गर्नुभएकाे छ। स्रोत र क्षमता नहेरी मनपरी वाचा–कुरा गरेर जनतालाई झुक्याउने काम कुनै पनि हालतमा सह्य नहुने मन्त्री पुनको टिप्पणी छ।
शिक्षामन्त्री पुनले शिक्षामा बजेट अभावका कारण विद्यालय र शिक्षकहरूलाई दिनुपर्ने सुविधा पनि धेरैजसो दिन नसकिएको तथ्य स्मरण गराउँदै प्रसाईंका आश्वासनहरू व्यवहारसम्मत नभएको बताउनु भयाे ।
उहाँका अनुसार, “शिक्षा मन्त्रालयसँग पर्याप्त बजेट नहुँदा स्थानीय भत्ता र महँगी भत्ता धेरै शिक्षकलाई दिन सकेको छैन। छाना नभएका, कक्षा कोठा नपुगेका विद्यालयहरू सहयोग माग्न आउँछन् तर हातमा केही नहुँदा खाली फर्काउनुपरेको छ। शिक्षक अभावका स्कुलले एक जना मात्र भए पनि पठाइदिन भन्छन्, तर त्यसका लागि पनि जगेडा बजेट छैन।”
यिनै कठोर वास्तविकताबीच ६ लाख जनतालाई कालो सूचीबाट हटाइदिने, सेना–प्रहरीको तलब महिनामा १ लाख पुर्याइदिने, २० लाखभन्दा कम ऋण मिनाहा गरिदिने जस्ता प्रसाईंका घोषणालाई मन्त्री पुनले अव्यावहारिक भन्दै पूर्वतयारीविना बोलिएका ‘हावा कुरा’ को संज्ञा दिनुभयाे।
उहाँ कटाक्ष गर्दै भन्नुभएकाे छ, “धनको देवता कुवेर त होइनन् नि प्रसाईं भाइ! बैंकमा जनताले जम्मा गरेको पैसा नै डुब्ने खालका घोषणा गर्न मिल्दैन। पैसा छापाखानामा किताब छापेझैं छाप्न पाउँदैन भन्ने सबैलाई थाहा छ होला।”
यसअघि पनि रेल ल्याउने, पानी जहाज ल्याउने, १२ वर्षमै नेपाललाई दक्षिण एसियाको धनी राष्ट्र बनाउने, नेपाललाई सिंगापुर बनाउने जस्ता ठूला खोँकीका घोषणाहरूले देशमा निराशा मात्रै थपेको उल्लेख गर्दै मन्त्री पुनले तथ्य र सम्भाव्यताको धरातलमा बसेर मात्र जनतासँग प्रतिज्ञा गर्न राजनीतिक नेतृत्वलाई सुझाव दिनुभयाे ।
“हावादारी कुरा गरे हाँसोको पात्र बन्नुपर्छ,” मन्त्री पुनको भनाइ छ, “कुरा बुझेर तथ्यका आधारमा बोलौं, जिम्मेवारीपूर्वक अघि बढौं।”




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच