हेटौँडा । वर्षौँदेखि रोकिएर आएको हेटौँडा राजमार्ग विस्तार अभियान शनिबार बिहान ५ बजेदेखि पुनः सुरु भएको छ। अल्टिमेटम सकिएको भोलिपल्टै सरकारद्वारा संचालित डोजरहरू बजार क्षेत्रमा प्रवेश गरेपछि व्यापारिक गल्लीमा हतार–हतार सामान सार्ने चहलपहलदेखि लिएर केही व्यापारीका आँसु झरेका भावुक दृश्यले सहर तनावग्रस्त बनेको छ। सडक भरि थुपारिएको सामान, धुलो, प्रहरीको भीड र बुलडोजरको गडगडाहटसँगै हेटौँडा आजदेखि ठूलो परिवर्तनको दहलीजमा उभिएको छ।
राष्ट्रिय राजमार्गका ९.५ किलोमिटर सडक विस्तारका लागि करिब ५ सय सुरक्षाकर्मी र १० भन्दा बढी डोजर परिचालन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। डोजर पूर्वमुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेलको पेन्टागन टावर परिसरसम्म पुगेपछि अभियानलाई झनै गम्भीर मोड लिएको देखिएको थियो।
सडक डिभिजन हेटौँडाले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल, तथा बुद्धचोकदेखि सामरी पुलसम्मको सडकलाई ७५–७५ फिट चौडा बनाउने परियोजना अघि बढाएको हो। यस क्षेत्रमा मात्रै ५३१ संरचना अतिक्रमणमा परेको डिभिजनको भनाइ छ, जसमा दायाँ २३४ र बायाँ २९७ संरचना हटाइनेछ।
यसअघि सर्वोच्च अदालतको आदेश सार्वजनिक गर्दै सडक डिभिजनले मंसिर ५ गते १५ दिनभित्र अतिक्रमण हटाउन चेतावनी दिएको थियो। समयसीमा सकिएपछि डिभिजन स्वयं कार्यान्वयनमा उत्रिएको हो।
हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ स्वयंका तीन घर भत्किएर करोडौँको क्षति भएको स्वीकार गर्दै पनि सडक विस्तारलाई जायज बताएका छन्। यद्यपि उनले पीडितलाई मुआब्जा दिनैपर्नेमा जोड दिँदै, “जनता विकासविरोधी होइन,” भन्ने स्पष्ट सन्देश दिएका छन्।
व्यापारी र घरधनी भने अन्याय भएको तर्क गर्दै क्षतिपूर्ति माग गरिरहेका छन्। मुख्य चोकमा कपडाको व्यापार गर्दै आएका अनिल अग्रवाल भन्छन्—“स्टे अर्डर थियो, भत्काउँदैन भनेका थिए। हामीले सामान पनि सार्न पाइनौँ। अर्को स्टे भएको घर छोडेर हाम्रो भत्काइयो। राज्यले पक्षपात गर्यो, क्षतिपूर्ति दिनुपर्छ।”
कतिपयले आफ्नै हातले घर भत्काइरहेकाछन्, कोही भत्किएको अवशेषमा बस्दै शोक मनाइरहेकाछन्।
हेटौँडा आज दुई ध्रुवीय भावनाले भरिएको छ—एकातिर फराकिलो, व्यवस्थित र आधुनिक सहरको आशा, अर्कोतिर घरबार गुमाएकाको पीडा। विस्तार रोकिएको ०७३ सालदेखि पटक–पटक अभियान थालनी भएर रोकिँदै आएको इतिहास आज अन्ततः निर्णायक मोडमा पुगेको छ।
विस्तार समर्थकहरू भन्छन्—हेटौँडा वर्षौँदेखि जाम, अव्यवस्थित संरचना र दूषित वातावरणले थिचिएको सहर होस अब विस्तार अनिवार्य छ।
प्रभावित पक्ष भन्छ—कानुनी कागजात मिलाए–नमिलाए, राज्यले मुआब्जा बिना घर भत्काएर अन्याय गर्यो।
राजमार्ग विस्तारले हेटौँडाको भविष्यमार्फत आर्थिक क्रियाशीलता बढ्ने, शहर आधुनिक स्वरूपमा रूपान्तरण हुने अपेक्षा गरिएको छ। तर राज्य–नागरिकबीचको विश्वासको पुल कसरी पुनर्निर्माण हुनेछ, यही अब हेटौँडाको नयाँ चुनौती बनिएको छ।
हेटौँडा आजदेखि विकास, विवाद र परिवर्तनसँगै नयाँ अध्याय लेख्न तयार भएको सन्देश सार्वजनिक गरिरहेको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच