काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुने भएका छन् । शनिबार सम्पन्न खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो स्थानमा प्रवेश गरेको थियो । सुदूरपश्चिम भने शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो । पहिलो क्वालिफायर मंगलबार दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
इलिमिनेटरमा तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्स भिड्नेछन् । उक्त खेल बुधबार हुनेछ । पहिलो क्वालिफायरको विजेता प्रत्यक्ष फाइनल प्रवेश गर्नेछ । पराजित टोली र इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा भिडेर फाइनल प्रवेशको अर्को मौका पाउनेछन् । दोस्रो क्वालिफायर बिहीबार हुनेछ भने फाइनल खेल आगामी शनिबार निर्धारित छ ।
सुदूरपश्चिमको अपराजित यात्रामा ‘ब्रेक’
शनिबार सम्पन्न खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । विराटनगरको यो जितसँगै सुदूरपश्चिमको अपराजित यात्रामा ‘ब्रेक’ लागेको छ । शनिबारको खेलसँगै क्वालिफायर चरण अझ रोमाञ्चक मोडमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले टस हारेर पहिले ब्याटिङ गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रनको सम्मानजनक स्कोर बनाएको थियो । टोलीका लागि इशान पाण्डे र आरिफ शेखले उत्कृष्ट साझेदारी प्रस्तुत गर्नुभयो । इशानले ३८ रन बनाउनुभयो भने आरिफले अविजित ४५ रनको योगदान गर्नुभयो । पहिलो विकेटका लागि विनोद भण्डारीले १५ रन बनाउनुभएको थियो भने जोस ब्राउनले २४ रनको योगदान दिनुभयो । कप्तान दीपेन्द्रसिंह ऐरीले छोटो इनिङमा १९ रन बनाउँदै टिमलाई प्रोत्साहित गर्नुभयो ।
जवाफी ब्याटिङका लागि ओर्लिएको विराटनगरले भने आक्रामक खेल प्रदर्शन गर्दै ११.५ ओभरमा मात्र ४ विकेट गुमाएर १५० रन बनाउँदै लक्ष्य पूरा गर्यो । ओपनर ब्याट्सम्यान फाफ डुप्लेसिस र साम हिजलेटको उत्कृष्ट साझेदारीले टोलीलाई सुरुवाती दबाबबाट उकास्यो । दक्षिण अफ्रिकी खेलाडी डुप्लेसिसले केवल २० बल खेल्दै ४ छक्का र ५ चौकाको मद्दतले ५० रन बनाउनुभएको थियो । यो उहाँको एनपिएलमा पहिलो अर्धशतक हो । अर्का ओपनर साम हिजलेटले २७ बलमा ५१ रन बनाउनुभयो । दुवैले पावर-प्लेमा ८७ रनको साझेदारी गर्नुभयो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आउनुभएका न्युजिल्याण्डका अनुभवी ब्याट्सम्यान मार्टिन गप्टिलले ९ बल खेल्दै २२ रन बनाउँदै टोलीको आक्रामक गति कायम राख्नुभयो । चौथो नम्बरका ब्याट्सम्यान बसिर अहमद ८ रनमा आउट हुनुभयो । लोकेश बम तीन रनमा अविजित रहँदा प्रतिश जिसीले ३ बलमा १३ रन बनाउँदै अविजित रहनुभयो ।
सुदूरपश्चिम रोयल्सका बलरमध्ये अविनाश बोहोराले २ विकेट लिनुभयो भने हरमित सिंहले १ विकेट लिनुभयो । विराटनगरका कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल २० रन खर्च गर्दै ३ विकेट लिनुभयो । सन्दीप यस सिजनको एनपिएलमा अहिलेसम्म सबैभन्दा बढी विकेट लिने बलर हुनुहुन्छ । प्रतिश जिसीले पनि १ विकेट लिनुभयो भने बसिर अहमदले १ विकेटको योगदान गर्नुभयो । यस जितसँगै विराटनगरको टोली आगामी क्वालिफायर चरणमा प्रवेश गर्दै फाइनल यात्रामा नयाँ आत्मविश्वासका साथ अघि बढ्ने तयारीमा छ ।
योजनाअनुसार खेलमा सफल भयौँ : सन्दीप
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरू नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा पुगिसके पनि दोस्रो हुनका लागि जित्नैपर्ने अवस्था रहेकाले सोहीअनुसार खेलेको बताउनुभयो । फिल्डिङ रोजेसँगै जतिसुकै ठूलो लक्ष्य दिए पनि १३.४ ओभरमा जित्ने योजनाअनुसार खेलेको बताउनुभयो । बलिङ गर्दा बीचमा केही ठाउँमा चुकेको भए पनि राम्रो खेलेको उहाँको भनाइ थियो । ओपनिङ पार्टनरसिप नै आफूहरूका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
विराटनगर किंग्सका खेलाडी फाप डुप्लेसिसले पावर प्लेमा स्पिनर बलिङ र दायाँ र बायाँ हाते ब्याट्सम्यान भएकाले पनि रन बढी बटुल्न सकेको बताउनुभयो । विश्व क्रिकेटमै सन्दीप स्पेसल बलर रहेको बताउँदै टिमले उहाँबाट धेरै अपेक्षा गर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा क्रिकेटको स्थान विशेष रहेको र आफू त्यसबाट प्रभावित भएको पनि बताउनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच