काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ को निर्वाचनको तयारीमा लाग्न र ‘जेन-जी’को भावना समेट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । नेकपा गठनपछि पहिलोपटक पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा ‘जेन-जी’ आन्दोलनले उठाएका मुद्दाहरूको सम्बोधनका लागि पार्टीका तर्फबाट सशक्त पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ । ‘जेन-जी’ले उठाएका मुद्दाहरूलाई संविधान संशोधन वा अन्य तरिकाले सम्बोधन गर्नका लागि सशक्त पहल गर्ने प्रतिबद्धता जनाउँदै भनिएको छ, ‘जेन-जी आन्दोलनमार्फत उठाएका सुशासन, रोजगारी, राजनीतिक दल तथा राज्यका निकायहरूमा युवा सहभागिता लगायतका मुद्दाहरूलाई संविधान संशोधन वा अन्य तरिकाले सम्बोधन गर्न पार्टीको तर्फबाट सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
२३ भदौमा ‘जेन-जी’ आन्दोलनमा गरिएको दमन र २४ भदौमा गरिएको विध्वंशको बारेमा छानविन गरी दोषीहरूमाथि कडा कारबाही गर्न पनि माग गर्दै अपानिमा भनिएको छ, ‘यस क्रममा भएको राष्ट्रिय धरोहरहरूलगायत सार्वजनिक र निजी सम्पत्तिमाथि भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण अभियान सञ्चालन गर्न अपिल गर्दछौँ ।’
कुशासनका सूचना संकलन गर्ने
नेकपाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउन सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन पनि निर्देशन दिएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनको वातावरण निर्माणका लागि पार्टीपंक्तिलाई सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिँदै अपानिमा भनिएको छ, ‘निर्वाचनको वातावरण बनाउनका लागि सबै तहमा सबै राजनीतिक दलहरूसँग बैठक, वार्ता, छलफल गर्ने । त्यसरी नै सञ्चारमाध्यम, बौद्धिक समुदाय, व्यवसायी, नागरिक समाजका अगुवाहरूसँग निर्वाचनको माहोल निर्माण गर्नका लागि छलफल, अन्तरक्रिया गर्ने ।’ अपानिमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत विभिन्न तरिकाबाट पार्टीको चुनाव चिह्न तारा आम जनतालाई चिनाउन पनि निर्देशन दिइएको छ । पार्टीले संघीय र प्रदेश सरकार तथा स्थानीय तहमा रहँदा गरेका जनपक्षीय र भ्रष्टाचारविरोधी राम्रा कामहरूको जनताबीच व्यापक प्रचार गर्न र भ्रष्टाचार, कुशासन, अनियमितता, बेथितिका घटना, विवरण र तथ्यहरू संकलन गर्न पनि पार्टीपंक्तिलाई निर्देशन दिएको छ । संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित अपानिमा भनिएको छ, ‘त्यस्ता क्रियाकलापहरूको विरोध गर्ने तथा विकास निर्माण, जनताको सेवासुविधा, रोजगारी, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आवाज बुलन्द गर्ने ।’
नेकपाले निर्धारित समयमा शान्तिपूर्ण, स्वतन्त्र, धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा पनि जोड दिएको छ । ‘यतिबेलाको राष्ट्रिय संकटबाट देशलाई निकास दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न र संविधानलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन, संविधान संशोधनका माध्यमबाट जेन-जी पुस्ताको भावनासहित जनताका अग्रगामी एजेण्डा सम्बोधन गर्न र सामाजिक न्याय, सुशासन, समृद्धि र समाजवादका आधार निर्माण गर्न पनि निर्वाचन अपरिहार्य छ ।’
एकताको आवश्यकताबारे प्रचार-प्रसारमा जोड
नेकपाले जनवर्गीय र मोर्चा संगठनहरूलाई पार्टी एकताको आवश्यकताबारे व्यापक प्रचार-प्रसार गर्न निर्देशन दिएको छ । पार्टी निर्माणका लागि प्रचार र प्रकाशनको काम ज्यादै महत्वपूर्ण रहेको भन्दै प्रचारात्मक कामले मानिसको शरीरमा रक्तसञ्चार जस्तै काम गर्ने अपानिमा उल्लेख छ । ‘प्रचार–प्रसारको महत्वलाई गम्भीरतापूर्वक ध्यानमा राखेर सबै तहका पार्टी र जनवर्गीय संगठनहरूले प्रचारात्मक कामलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउनु पर्दछ । प्रचार र प्रकाशन क्षेत्रको कामलाई व्यवस्थित गर्नका लागि विस्तृत कार्ययोजना पछि पठाइने छ ।’ अपानिमा उल्लेख छ । पार्टी एकताको आवश्यकता, औचित्य, महत्व र एकीकरणका सन्दर्भमा भएका सहमतिहरूको व्यापक प्रचार-प्रसार गर्ने, कम्युनिष्ट पार्टीका नीति, सिद्धान्त, विचार, कार्यक्रम, कार्यदिशा, घोषणापत्र र प्रतिबद्धताहरूको आमजनता र कार्यकर्ताबीच व्यापक प्रचार गर्ने, एकतामा सहभागी पार्टीका नेता, कार्यकताबीच एकआपसमा सौहार्दता, समझदारी र भावनात्मक एकता कायम गर्ने सामग्रीहरू प्रचार गर्न निर्देशन दिइएको छ ।
सांगठनिक समायोजन र कार्यविभाजनको खाका
नेकपाले प्रदेश, जिल्ला र पालिकाका इञ्चार्ज, सह-इञ्चार्ज, संयोजक, सह-संयोजक तय गर्ने भएको छ । संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले पार्टी पंक्तिमा सर्कुलर जारी गर्दै सबै तहका समितिहरू समायोजन गर्ने जनाउनुभएको हो । सांगठानिक समायोजनबारे अपानिमा भनिएको छ, ‘प्रदेश, जिल्ला र पालिकाका इञ्चार्ज, सह-इञ्चार्ज, संयोजक, सह-संयोजक तय गर्ने र सबै तहका समितिहरू समायोजन गर्ने । यसरी नै विधान बमोजिमका संरचनाहरूको निर्माण गर्ने ।’ केन्द्रीय कमिटीका सबै सदस्यहरूको कार्यविभाजन गरी जिम्मेवारी प्रदान गर्ने तयारी भइरहेको उल्लेख गरिएको छ ।
भ्रष्टाचार गर्ने र अराजकता मच्चाउनेलाई ठाउँ छैन : नेता श्रेष्ठ
नेकपाका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा भ्रष्टाचार गर्ने र अराजकता मच्चाउनेलाई ठाउँ नभएको बताउनुभएको छ । मधेस प्रदेशस्तरीय सन्देश सभालाई शनिबार जनकपुरमा सम्बोधन गर्दै नेता श्रेष्ठले भन्नुभयो, ‘पार्टी एकता गरेर मात्रै हुँदैन, पार्टीलाई सुदृढ बनाउनुपर्छ । हामीले विधि र पद्धतिमा पार्टी चलाउनुपर्छ । कार्यकर्ताको न्यायोचित मूल्यांकन हुनुपर्छ । भ्रष्टाचार गर्ने र घुस खाने नेकपामा छैन भन्ने बनाउनुपर्छ, कुशासन र अराजकहरू पार्टी टिक्दैनन् भन्ने बनाउनुपर्छ ।’
एमालेबाहेकको वैकल्पिक समीकरण अन्य प्रदेशमा पनि बन्छ : संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसमा बनेको गठबन्धनजस्तै राजनीतिक समीकरण अन्य प्रदेशहरूमा पनि निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले मधेसमा कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मधेस–केन्द्रित दलहरूबीच बनेको सहकार्यले नयाँ राजनीतिक वातावरण तयार भएको बताउनुभयो । ‘यस्तै समीकरण अब अन्य प्रदेशहरूमा पनि प्रारम्भ हुनेछ’, दाहालले भन्नुभयो ।
कम्युनिष्टहरूबीचको एकता प्रक्रिया जारी रहने उल्लेख गर्दै दाहालले एमालेमा आबद्ध नेताहरूलाई समेत एकतामा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो एकता प्रक्रिया नेकपा माले, मसाल समयदेखि नै रहेको दीर्घकालीन योजना हो । आज पनि एमालेभित्र रहेका देशभक्त कम्युनिष्टहरूलाई नेकपामा सामिल हुन आग्रह गर्न चाहन्छु ।’ दाहालले शक्तिशाली र एकताबद्ध नेपाली कम्युनिष्ट पार्टीले मात्र मुलुकलाई समृद्धितर्फ लैजान सक्ने दाबी गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीले जनकपुरधाममा एकता सन्देश सभा सम्पन्न गरेको छ ।
जनकपुरमा एकता सन्देश सभा
विभिन्न कम्युनिष्ट घटक र समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार जनकपुरमा एकता सन्देश सभा गरेको छ । पछिल्ला दिनमा प्रदेशस्तरीय सन्देश सभा गरिरहेको नेकपाको शनिबार जनकपुरमा सभा गरेको हो । सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, महिन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, मातृका यादव लगायतले सम्बोधन गरेका छन् । नेकपाले यसअघि धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको छ । यही मंसिर २७ गते सुर्खेतमा सभा गर्ने नेकपाको तयारी छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच