काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाब दिइरहेको बताउनुभएको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पत्ति शुद्धीकरण विभागको नेतृत्व नै परिवर्तन गरेको जिकिरसमेत गर्नुभयो । उहाँले सम्पत्ति शुद्धीकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकूलको व्यक्ति ल्याएको बताउनुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै भन्नुभयोे, ‘प्रधानमन्त्रीजी भन्नुहुन्छ- प्रमाण तयार गर्नु न, प्रमाण तयार । मैले थुप्रै ठाउँमा भनेको छु– प्रधानमन्त्रीजीले सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई बोलाएर तीनपटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस्, गिरफ्तार गर्नुपर्यो भन्ने माग गर्नुस् भनेर अनेक दबाब दिनुभयो ।’ उहाँले त्यहाँका निर्देशकले ‘झुटो कामहरू म गर्न सक्दिनँ, गैरकानुनी काम पनि गर्न सक्दिनँ’ भनेपछि निर्देशकलाई तुरुन्त हटाइएको र अर्को निर्देशक ल्याइएको बताउनुभयो । ‘प्रधानमन्त्री यस्तो हुनुहुन्छ भने योभन्दा दुःखद स्थिति के हुन्छ ?’ ओलीले प्रश्न गर्नुभयो । अध्यक्ष ओलीले सरकारले राजदूत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोपसमेत लगाउनुभयो । उहाँले सरकार अवैधानिक भएको भन्दै यसले अध्यादेश ल्याउने काम गर्न नहुने पनि बताउनुभयो ।
ओलीले सरकारले बनाएको छानविन आयोगलाई बुख्याचाको संज्ञा दिनुभएको छ । उहाँले छानविन आयोगले चार दिनअघि घाइते र शहीद परिवारका नाममा एउटा कार्यालय खडा गरेर ‘यसोयसो भन्नु है’ भन्ने कोचिङ कक्षा चलाएको आरोप लगाउनुभयो । ‘२७ वटा प्रश्नावली तयार पारेर यताबाट गोली आयो, फलानालाई थुन्नुपर्छ भन्न लगाइएको छ’, ओलीले भन्नुभयोे, ‘यो आयोग नभई अह्राइएको काम सम्पन्न गर्न खडा गरिएको आर्टिफिसियल, झुक्याउने बुख्याचा हो ।’
एमाले बहुमतका साथ फर्किने दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताउनुभएको छ । शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहे पनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताउनुभएको हो । अब हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने उहाँले बताउनुभयो ।
ओलीले अब पुराना पार्टी सकिए भन्ने नसोच्न सुझाव दिँदै निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गर्नुभयो । ओलीले यसबीचमा एमाले समीकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले एमालेविरुद्ध जस्तोसुकै हमला भए पनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले भदौ २३-२४ को घटनापछि देश प्रतिगमनतर्फ अघि बढेको भन्दै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो । अहिले विधि प्रक्रियाबिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताउनुभयो । उहाँले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित गर्नुपर्ने दोहो¥याउनुभयो । उहाँले सरकारले छानविन गर्न भनी बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताउनुभयो । प्रधानमन्त्री ध्यान आफूलाई पक्राउ गर्नेमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आफ्नाविरुद्ध प्रमाण तयार गर्न चुनौती दिनुभयो ।
नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उहाँले दाबी गर्नुभयो । उहाँले देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै यतिबेला अत्यन्त सघन ढंगले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको समेत बताउनुभयो ।
पार्टीमा प्रतिस्पर्धा होइन एकताको खाँचो छ : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ११औँ महाधिवेशनपछि पार्टी सुदृढ र एकताबद्ध हुने दाबी गर्नुभएको छ । पार्टीको नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मंसिर २७ गते हुने उद्घाटन समारोहमा सहभागी हुने अपिल गर्नुभयो । उहाँले भन्नुभयोे, ‘भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोहको आयोजना गरेका छौँ । त्यो उद्घाटन समारोहलाई प्रतिगमनविरुद्धको जनपरिचालनको रूपमा र महाधिवेशनको उत्सवको रूपमा हामीले प्रस्तुत गर्छौँ ।’
उहाँले एमालेबाट मात्रै देश विकासको योजना बन्नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्ष ओलीमाथि चौतर्फी प्रहार भइरहेको छ । यो उहाँमाथि मात्रै होइन, एमाले, एमालेले अघि सारेको नीति र नेपाललाई कमजोर बनाउन गरिएको आक्रमणको रूपमा हामीले लिनुपर्छ ।’ राष्ट्रिय राजनीतिक एमाले र ओलीकै वरिपरि घुमिरहेको जिकिर गर्दै आगामी महाधिवेशनबाट ओली नै अध्यक्ष हुने बताउनुभयो । अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका वरिष्ठ नेता ईश्वर पोखरेल समूहलाई लक्षित गर्दै उहाँले भन्नुभयोे, ‘अहिले पार्टीमा प्रतिस्पर्धा होइन, एकताको खाँचो छ, एकताबद्ध ओलीको नेतृत्वमा अघि बढौँ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच