ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले नेपालले विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्षरूपमा अर्थतन्त्रसँग नजोडिएसम्म दिगो आर्थिक समृद्धि भाषणमै सीमित हुने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट)को ४३औँ वार्षिकोत्सव तथा विशेष पुरस्कार वितरण कार्यक्रम उद्घाटन गर्दै उहाँले विज्ञान र प्रविधिका क्षेत्रमा पर्याप्त लगानी नहुनु, अन्य निकायहरूमा जस्तै नाष्टमा राजनीतिकरण हुनु, विज्ञान प्रविधि र अनुसन्धानका क्षेत्रलाई राज्यले बेवास्ता गर्नु लगायतका कारण नेपालमा विज्ञान प्रविधिले अर्थतन्त्रमा योगदान पुर्याउन नसकेको बताउनुभयो ।
विज्ञान र प्रविधि पछाडि परेसँगै अर्थतन्त्र कमजोर बन्दा नेपाली समाज निरन्तर पछि पर्दै आएको मन्त्री पुनको भनाइ थियो । उहाँले भन्नुभयो, ‘वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनुको कारण विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम हो । आर्थिक अभावका कारण नेपालीले दुःख भोगिरहेका छन् । पहिलेदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको कारण विज्ञान र प्रविधिप्रति बेवास्ता हो । विज्ञान तथा प्रविधिसँग सम्बन्धित शैक्षिक तथा अनुसन्धानमूलक काम गर्ने संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने थियो ।’ तथापि सीमित स्रोत साधनमा पनि धेरै काम गर्न सकिने भन्दै मन्त्री पुनले नाष्टले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । विज्ञानको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई व्यावहारिक रूपान्तरणका लागि अनुसन्धान र आविष्कारका क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । साथै मन्त्री पुनले आफूलाई जिम्मेवारी आएमा कम्तीमा तीन अर्ब बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।
नाष्टका उपकुलपति प्राडा दिलिप सुब्बाले विज्ञान प्रविधि क्षेत्रमा लाग्ने वैज्ञानिकहरूलाई प्रोत्साहित गर्न नाष्टले सम्मान र पुरस्कारको व्यवस्था गर्दै आएको बताउनुभयो । सीमित स्रोत साधनबीच पनि नाष्टले पुरस्कार तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिइरहेको उहाँको भनाइ थियो । कार्यक्रममा नाष्ट सचिव डा. रविन्द्र ढकालले नाष्ट गतिविधिबारे चर्चा गर्नुभएको थियो ।
वैज्ञानिक र प्रविधि अभियन्ताहरू पुरस्कृत
कार्यक्रममा नाष्टले विज्ञान प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने, प्रविधि प्रवद्र्धन गर्ने विभिन्न एक दर्जन वैज्ञानिक र प्रविधि अभियन्तालाई पुरस्कार प्रदान गरेको छ । अन्नपूर्ण न्युरोलोजिकल इन्ष्टिच्युट एण्ड एलाइड साइन्सेसलाई कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार प्रदान गरिएको छ भने काठमाडौं विश्वविद्यालयका प्राडा सुबोध शर्मालाई विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालय, वातावरण तथा विज्ञान केन्द्रीय विभागका डा. रमेशराज पन्तलाई विज्ञान पुरस्कार, काठमाडौं विश्वविद्यालयका प्राडा सुदन झालाई प्रविधि पुरस्कार, अन्नपूर्ण अनुसन्धान केन्द्र, काठमाडौंकी डा. सुष्मा पाण्डे र पक्लिहवा क्याम्पसका डा. मुक्तिराम पौडेललाई विज्ञान तथा प्रविधि युवा पुरस्कार प्रदान गरिएको छ ।
त्यसैगरी काठमाडौं रिसर्च इन्ष्टिच्युट फर बायोलोजिकल साइन्स(केआरआइबिएस) का डा. सागर अर्याल, काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन हात्तीवनका डा. निरोज दाहाल र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विपिन्द्र पाण्डेलाई पनि विज्ञान तथा प्रविधि युवा पुरस्कार प्रदान गरिएको छ । वन विज्ञान अध्ययन संस्थानकी डा. सोनी बराललाई महिला विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गरिएको छ भने नेपाल गणित समाजका सचिव डा. रमेश गौतम, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीतर्फबाट कार्यवाहक महाप्रबन्धक उषा रिजाल जोशीलाई प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार प्रदान गरिएको छ ।
त्यसैगरी जैविक प्रविधि केन्द्रीय विभाग, कीर्तिपुरकी सुजा महर्जन र सेन्ट जेभियर्स कलेजअन्तर्गत माइक्रोबायोलोजी विभागका हरि अछामीलाई दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार प्रदान गरिएको छ भने काजी इन्द्र कटुवाल कृषि पुरस्कार बैतडीका डा. मदनराज भट्टलाई प्रदान गरिएको छ । त्यस्तै, नेपाल सौर्य विद्युत् उत्पादन संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीलाई मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार र दिक्तेल रूपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराईलाई भुवनेश्वरी प्रविधि पुरस्कार प्रदान गरिएको छ । हुलास स्टिल इण्डष्टिजका छवि मिश्रा र नेपाल विद्युत् प्राधिकरण नवलपरासीका विष्णुप्रसाद देवकोटालाई हामा बालकृष्ण श्रेष्ठ इञ्जिनियरिङ पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा नाष्टले आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित पाँचजना वरिष्ठ वैज्ञानिकलाई पनि कदरपत्र प्रदान गरेको थियो । जसअन्तर्गत भौतिक विज्ञानमा उल्लेख्य योगदान पु¥याउनुहुने रविलक्ष्मी चित्रकार, जीव विज्ञानतर्फ उषा बुढाथोकी, इञ्जिनियरिङतर्फ हिक्मतराज जोशी, कृषि तथा वन विज्ञानतर्फ शुभनारायण महतो र चिकित्सा तथा स्वास्थ्य विज्ञानतर्फ प्राडा सुनिल प्रधान हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच