काठमाडौं । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोला सफा गरी बागमतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ । काठमाडौंको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल नदी बागमती नदी किनारमा अवस्थित २.५३ हेक्टर जग्गामा प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।
टुकुचालाई उक्त प्रशोधन केन्द्रमा पठाएर पानी प्रशोधन गरी सफा पानी बागमती नदीमा खसालिनेछ । प्रशोधन केन्द्रका सहउत्पादनका रूपमा आठ सय किलोवाट विद्युत््समेत उत्पादन गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बताउनुभएको छ । हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन् । स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचना निर्माण भने सुरु हुन सकेको छैन । ललितपुरतर्फ विद्युत् उत्पादन हुने संरचनामात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरतर्फ निर्माणाधीन छन् । निर्माणको समग्र भौतिक र वित्तीय प्रगति २० प्रतिशत रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री घिसिङले शनिबार निर्माणाधीन प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिनुभएको छ । उहाँले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गर्नुभएको थियो ।
उहाँले हाल निर्माणस्थलका सबै ठाउँबाट काम गर्न सक्ने अवस्था रहेकाले सोहीबमोजिम निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । निर्माणस्थलमा रहेका रुख हटाउन करिब दुर्ई वर्ष समय लाग्दा र ललितपुरतर्फ स्थानीयको अवरोध रहँदा निर्माणमा केही ढिलाइ भएको उल्लेख गर्दै मन्त्री घिसिङले अब निर्माणमा तीव्रता दिइनुपर्ने बताउनुभयो ।
उहाँले सरकारले बागमती नदी सफा बनाउन त्यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।
एसियाली विकास बैंक (एडिबी)को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत् प्राप्त सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत तीन अर्ब १८ करोड रुपैयाँ रहेको छ । केन्द्र निर्माणका लागि जेठ २०७९ मा ठेक्का सम्झौता भएको थियो । म्याद थप गरिएको समयसहित केन्द्रको निर्माण मंसिर २०८३ रहेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच