नेपालको वैकल्पिक राजनीति फेरि एकपटक निर्णायक मोडमा उभिएको छ । देश पुराना दलहरूको दीर्घकालीन कुशासन, गहिरिँदो गुटबन्दी, भ्रष्टाचार, विकासप्रति उदासीनता र नेतृत्वहीनताले थिचिएको छ । यिनै प्रतिकूलताबीच हालै जन्मिएको उज्यालो नेपाल पार्टीले मुलुकको राजनीतिक क्षितिजमा नयाँ बहस, नयाँ जिज्ञासा र नयाँ विवाद दुवै जन्माएको छ, विशेषतः यसको नेतृत्व, उद्देश्य, दिगोपन र भविष्यगत प्रभावबारे । ऊर्जा क्षेत्रको क्रान्तिकारी परिवर्तन लोडसेडिङ शून्यताको नारामार्फत जनविश्वास कमाइसकेका कुलमान घिसिङ नयाँ पार्टीसहित वैकल्पिक राजनीतिमा प्रवेश गर्दा आशा र प्रश्न एकसाथ उठेका छन् ।
सबैले सोधिरहेको मूल प्रश्न हो, ‘उज्यालो नेपालको उज्यालो कति दीर्घकालीन हो ?’ के यो क्षणिक लोकप्रियताको झिसमिसे उज्यालो हो, कि वैकल्पिक राजनीतिको भविष्य बदल्ने दिगो, संस्थागत र वैज्ञानिक उज्यालो ? नेपालको वैकल्पिक राजनीतिक यात्रा सरल छैन । नयाँशक्ति, विवेकशील-साझा र रास्वपा यी तीन चरणहरूले यो यात्रा बिस्तारै परिपक्व बनाएका छन् । रास्वपा अहिले यस निरन्तरताको उचाइमा छ ।
नेपाल दशकौंसम्म विदेशी प्रभाव र घरेलु दलहरूको असफल प्रयोगशालाजस्तै चलाइयो । वैकल्पिक राजनीतिलाई पुनः त्यसै मार्गमा धकेलियो भने अर्को ठूलो राजनीतिक विद्रोह जन्माउन धेरै समय लाग्दैन ।
परम्परागत दलहरूसँगै कठिन प्रतिस्पर्धा गर्दैै रास्वपा संस्थागत रूपमा बिस्तार हुँदै मूलधारमा प्रवेश गरेको छ । यही यथार्थबीच उदाएको उज्यालो नेपाल, लोकप्रियता र नव–उत्साहका कारण शंकासहितको जिज्ञासा बटुलेर अघि बढेको छ । वैकल्पिक राजनीतिको कठोर इतिहासले प्रमाणित गरिसकेको छ की संस्थागत अनुशासन, स्पष्ट विचारधारा, दीर्घकालीन निष्ठा र सुदृढ संगठन बिना कुनै पनि नयाँ पार्टी टिकाउ बन्दैन ।
राजनीतिक दल खोलिँदा पाँच वर्षभन्दा पहिले पार्टी फुटाउने, पदका लागि बार्गेनिङ गर्ने, चुनावी टिकटको कारोबार, नेतृत्व-केन्द्रित अवसरवाद जस्ता प्रवृत्तिले वैकल्पिक राजनीति हरेकचोटि गिज्याएको छ । उज्यालो नेपालले यी रोगहरूबाट आफूलाई जोगाउन सकेन भने, यो पनि क्षणिक लोकप्रियताको अर्को प्रयोगशाला बन्न सक्छ र यसको असर पुरै वैकल्पिक राजनीति समुदायले भोग्नुपर्छ ।
रास्वपा-उज्यालो सम्बन्ध : प्रतिस्पर्धा कि परिपूरकता ?
वैकल्पिक राजनितिको मूलधारमा अहिले रास्वपा प्रमुख वैचारिक, संगठनात्मक र जनसमर्थनको केन्द्रमा छ । उज्यालो नेपालको उदयले रास्वपाबाट असन्तुष्ट वा व्यक्तिगत अवसर नपाएका केही समूह स्वतः त्यतैतर्फ आकर्षित भएका छन् । तर, यिनै प्रवृत्तिहरू वैकल्पिक राजनीतिका सबैभन्दा ठूलो खतरा पनि हुन् । किनकि अवसरवादले जन्माएको पार्टी दीर्घकालीन स्थायित्व र नैतिकता कसरी धान्ला ?
रास्वपामा उन्नति पाइसकेका तर समान अवसरका नाममा स्वार्थ–वितण्डाबाट गुञ्जिएका केही व्यक्तिहरूले व्यक्तिगत लाभ खोज्दै उज्यालोतिर जाने संकेत देखिएका छन् । नयाँ पार्टीले यिनै व्यक्तिहरूलाई उच्च पद वा चुनावी टिकटका प्रलोभन दिएर आकर्षित गर्ने अभ्यास दीर्घकालीन राजनीति होइन, क्षणिक राजनीतिक व्यापारमात्र हो । अवसरवादी पलायनलाई छानफुक बिना प्रवेश गराएर संगठनलाई ‘फोहोर राजनीति’ को मिनी-संस्करणले कहाँ पुर्याउला ?
वैकल्पिक राजनीतिको मूल्य-आधारित इतिहास भन्छ, यसको आधार बुद्धिमत्ता, नीति, ऊर्जा, संगठन र रणनीतिको सामूहिक प्रभाव हो । तर, उज्यालो नेपालको जन्मबारे उठेका सार्वजनिक बहसले विशेषतः रास्वपा-कुलमान संवादपछिका खुलासाले एक यथार्थ उजागर गरेको छ । यो पार्टी पूर्णरूपमा राष्ट्रिय वैकल्पिक आकाक्षांबाट जन्मेको होइन, केही नेतृत्व-केन्द्रित असन्तुष्टि र निजी महत्वाकाक्षांबाट पनि प्रेरित रहेको छ भन्ने आरोप लाग्ने गरेको छ ।
यति हुँदाहुँदै रास्वपा वा पुराना दलहरूको कार्यशैलीप्रति असन्तुष्ट भएर नेतृत्व, संगठन र विचारमा योगदान गर्न चाहने हजारौं युवाहरू उज्यालोतिर आकर्षित हुनु सकारात्मक पक्ष हो । यी युवाहरू नेपालका वैकल्पिक राजनीतिको ऊर्जाश्रोत हुन्, उनीहरूको निष्ठा र मूल्यको सही व्यवस्थापन गर्न सक्यो भने उज्यालो नेपालको उज्यालो स्थायी हुनसक्छ ।
भविष्य प्रतिस्पर्धा मात्रै होइन, सम्भावित एकताको संयोजक शक्ति
राजनीति स्थिर हुँदैन । आज प्रतिस्पर्धा देखिन्छ, भोलि सहकार्यको आवश्यकता अपरिहार्य बन्न सक्छ । रास्वपा र उज्यालो नेपालको भविष्यमा राजनीतिक एकता वा साझा मोर्चा बन्ने सम्भावना असम्भव छैन । तर, त्यो सहकार्य जलदबाजीका खहरे मिसिएझैँ अस्थिर र अस्पष्ट होइन, त्रिशूली-कालीगण्डकी मिसिएझैँ शक्तिशाली, स्वाभाविक र राष्ट्रहितमा आधारित हुनुपर्छ । रास्वपा, विवेकशील-साझा र नयाँशक्तीको संयुक्त आदर्श यसैको निरन्तरता हो ।
उज्यालो नेपालले अहंकार, व्यक्तिगत महत्वाकांक्षा वा प्रतिस्पर्धात्मक उत्तेजनामा होइन, सम्मान, समन्वय र सामूहिक वैचारिक प्रगतिबाट अघि बढ्न सक्यो भने मात्र फागुन २१ को चुनावी यात्रामा वैकल्पिक राजनीति गणितीय विजयको शिखरमा पुग्न सक्छ ।
वैकल्पिक राजनीति अहिले जनभावनाको उच्चतर शिखरमा छ । अब यो भावनात्मक लहरलाई गणितीय रणनीति मतगणना, संगठन विस्तार, उम्मेदवार छनोट, विचार स्पष्टता, गठबन्धनको विज्ञानमा रूपान्तरण गर्नु अपरिहार्य छ । रास्वपा समग्र वैकल्पिक राजनीतिको मेरुदण्ड बनेर उभिएको बेला, उज्यालो नेपालको आगमनले यो यात्रा बलियो बनाउँछ कि विभाजित भन्ने प्रश्न अह्म छ ?
वैकल्पिक राजनीतिलाई प्रयोगशाला बन्न नदिनुहोस्
नेपाल दशकौंसम्म विदेशी प्रभाव र घरेलु दलहरूको असफल प्रयोगशालाजस्तै चलाइयो । वैकल्पिक राजनीतिलाई पुनः त्यसै मार्गमा धकेलियो भने जेन–जी पुस्ताले अर्को ठूलो राजनीतिक विद्रोह जन्माउन धेरै समय लाग्दैन । उज्यालो नेपाल, रास्वपा र वैकल्पिक राजनीतिको संयुक्त यात्रा क्षुद्र स्वार्थ, व्यक्तिगत महत्वकांक्षा र अल्पकालीन गणनाबाट होइन, राष्ट्रको दीर्घकालीन सोच, नैतिकता, आदर्श र निष्ठाबाट निर्देशित हुनैपर्छ । वैकल्पिक राजनीतिको उज्यालोलाई झिसमिसे होइन, स्थायी बनाउन लागि परौ । अलग-अलग दुकान खोलेर आफ्नो स्वार्थको रोटी नसेकौ ।
उज्यालो नेपाल, रास्वपा र वैकल्पिक राजनीतिको संयुक्त यात्रा क्षुद्र स्वार्थ, व्यक्तिगत महत्वकांक्षा र अल्पकालीन गणनाबाट होइन, राष्ट्रको दीर्घकालीन सोच, नैतिकता, आदर्श र निष्ठाबाट निर्देशित हुनैपर्छ । वैकल्पिक राजनीतिको उज्यालोलाई झिसमिसे होइन, स्थायी बनाउन लागिपरौ । अलग-अलग दुकान खोलेर आफ्नो स्वार्थको रोटी नसेकौ ।
देश आज संवेदनशील ऐतिहासिक मोडमा उभिएको छ । विगष्तका शासनबाट सामान्य नागरिकको जीवनसम्म फैलिएको भ्रष्टाचार, वेथिती, दुराचार र दण्डहीनताको संस्कृतिले मुलुकलाई दशकौं पछाडि धकेलेको छ । विकासका सम्भावनाहरू बारम्बार कुहिएको कागजझैँ फाट्दै गएका छन् र जनताको धैर्य सीमा नजिक पुगेको छ । यस्तो अवस्थामा नेपालले अब परम्परागत राजनीतिक संरचनाबाट मात्र समाधान खोज्न सक्दैन । वर्तमान यथास्थिति बदल्न वैकल्पिक राजनीतिक शक्तिले आफूलाई सशत्त रूपमा अघि बढाउन अपरिहार्य बनेको छ । यसले नेपाललाई केवल राजनीतिक परिवर्तन होइन, दीर्घकालीन शासन-संस्कृतिको रूपान्तरण प्रदान गर्न सक्छ ।
हामी विगतका धेरै अवसर गुमाइसकेका छौं । राजनीतिक संक्रमण, अस्थिर सरकार, प्राथमिकताहीन नीति र अनियोजित अर्थतन्त्रका कारण देश निरन्तर पछाडि पर्यो । अब परिवर्तनका लागि केवल भावनात्मक नाराहरू पर्याप्त छैनन् । आवश्यक छ, व्यवस्थित नागरिक सहभागिता, वैकल्पिक शक्तिबीचको एकता, स्पष्ट राजनीतिक दृष्टि र नैतिक दायित्वप्रति कठोर प्रतिबद्धता ।
हामी सबै एक ठाउँमा जोडिनुपर्ने संवैधानिक, नैतिक र ऐतिहासिक जिम्मेवारी यही हो । देशको भविष्य व्यक्तिको स्वार्थमा होइन, सामूहिक राष्ट्रिय उद्देश्यमा टिक्नुपर्छ । यसका लागि राजनीतिक विभाजनभन्दा माथि उठेर राष्ट्रहितलाई केन्द्रमा राख्नुपर्छ । नेपाल आमाले आज हामी सबैलाई एउटा सरल तर गहिरो सन्देश दिइरहेकी छन्, ‘मेरो माटोले तिमीहरूलाई कुनै स्वार्थ मागेको छैन, कृपया आफ्ना कर्तव्य नबिर्स ।’ हाम्रो कर्तव्य स्पष्ट छ, भ्रष्टाचार र अन्यायको विरुद्ध उभिनु, वैकल्पिक राजनीतिको संस्थागत यात्रालाई सबल बनाउनु र आगामी पुस्ताका लागि सुरक्षित, सक्षम एवं समुन्नत नेपालको बाटो निर्माण गर्नु । यही वर्तमान युगको माग हो । यही समयको पुकार हो । र, यही भविष्यप्रतिको हाम्रो कर्तव्य हो ।







nyaupaneasish@gmail.com