काठमाडौं । अन्तर्राष्ट्रिय उसु खेलको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहकार्यमा नेपालमा ‘ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स’ आइतबारदेखि सुरु भएको छ । नेपाल उसु महासंघको आयोजनामा सञ्चालित पाँचदिने उक्त प्रशिक्षण कार्यक्रम पूर्वमन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभयो ।
काठमाडौंको डल्लुस्थित अर्थ क्विक मेमोरियल मल्टिपर्पोज कभर्ड हलमा सुरु भएको प्रशिक्षणमा सातवटै प्रदेश र विभागीय टिम गरी ६५ जना प्रशिक्षक सहभागी भएका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिनुभयो । प्रशिक्षणमा थाउलु विधाका प्रख्यात प्रोफेसर लिन छाउमिन र सान्दा विधाका अन्तर्राष्ट्रिय प्रशिक्षक एइ उईले प्रशिक्षण दिइरहनुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहकार्यमा सुरु भएको यस कोर्सले नेपाली प्रशिक्षक र खेलाडीको स्तर उकास्न महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ‘यहाँबाट सिकेका कुराले नयाँ तथा गुणस्तरीय खेलाडी उत्पादन हुनेछ, जसले मेडलको सम्भावना बढाउँछ’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार यही तालिमको प्रभावले एशियाली, दक्षिण एसियाली तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको बलियो दाबेदारी बनाउन मद्दत गर्नेछ । ‘आगामी युथ ओलम्पिक खेलकुदमा उसु पहिलोपटक समावेश भएको खुसीको खबर हो । यो अवसरलाई नेपाली खेलाडीले ऐतिहासिक पदकमा परिणत गर्न सकून्’, उहाँले शुभकामना दिनुभयो ।
‘मेडलको खडेरी टार्ने अवसर’
एशियाली खेलकुदमा मेडलका लागि नेपालले धेरै मेहनत गर्नुपरेको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले यो टेक्निकल कोर्सले खेलका नियम, प्रविधि तथा पछिल्ला अपडेटबारे स्पष्ट ज्ञान दिनुले मेडल अभाव समाप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, सोलिडारिटी कोर्सका लागि विदेशी भूमिमा लाखौं खर्च गर्नुपर्ने बाध्यताबाट यस कार्यक्रमले नेपाली प्रशिक्षकलाई मुक्त गराएको धारणा पनि अध्यक्ष श्रेष्ठले राख्नुभयो । ‘विदेशमा सिक्न जाँदा एक जनाले तीन-चार लाखसम्म खर्च हुन्छ । तर अहिले विदेशी विज्ञहरू नेपालमै आइपुगेका छन्, यो ठूलो अवसर हो’, उहाँले बताउनुभयो ।
महासचिव लामाका अनुसार नेपालभरि धेरै उसु प्रशिक्षक भए पनि समयअनुसार हुने टेक्निकल परिवर्तनबारे पर्याप्त जानकारी नहुँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रदर्शन असर पर्दै आएको थियो । ‘सन् २०२४ को अद्यावधिक प्राविधिक नियम बुझाउन, आधुनिक टेक्निक सिकाउन र प्रशिक्षकलाई अन्तर्राष्ट्रिय स्तरका परिवर्तनसँग अद्यावधिक गराउन यो कोर्स सुरु गरिएको हो’, उहाँले बताउनुभयो । उहाँका अनुसार सात प्रदेशका लागि ४५ कोटा छुट्याइए पनि अन्तर्राष्ट्रिय प्रशिक्षकले प्रशिक्षण दिने जानकारी पाएपछि धेरै प्रशिक्षक आवेदन लिएर सहभागी भएका छन् ।
सामाजिक सञ्जालमार्फत कोर्सको सूचना पाएपछि भारतको उसु एसोसिएसनबाट पनि प्रशिक्षकहरू नेपाल आएका छन् । भारतबाट कुल ६ जनाको सहभागिता रहेको छ- थाउलुमा दुई तथा सान्दा विधामा चार जना प्रशिक्षक रहेका छन् ।
महासंघका सचिव निकेश श्रेष्ठका अनुसार यो कोर्सले जापानको नागोयामा हुन लागेको २०औँ एशियाली खेलकुद, १०औँ जुनियर विश्व उसु च्याम्पियनसिप, डाकार युथ ओलम्पिक, उसु वल्डकप लगायतका प्रमुख प्रतियोगितामा नेपालको उपलब्धिमूलक सहभागितामा महत्वपूर्ण भूमिका खेल्नेछ ।
ओलम्पिक कमिटी अध्यक्ष श्रेष्ठका अनुसार दक्षिण एशियामा उसु खेलको ‘फाउण्डर’ नेपाल नै हो । नेपालको उसुले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितिसकेको इतिहास रहेको उहाँले स्मरण गर्नुभयो । खेलकुद नीतिगत कमजोराइँ र अस्पष्टताका कारण उसु खेलमाथि पटक-पटक आक्रमण हुने गरे पनि देशमा आएको नयाँ परिवर्तनसँगै खेल क्षेत्रमा आशा–भरोसा बढेको उहाँले बताउनुभयो । ‘जेनेरेसन-जेड युवाको आवश्यकता बुझ्ने नयाँ युवामन्त्रीबाट खेल क्षेत्रमा नयाँ शैलीको काम हुने अपेक्षा छ’, उहाँले भन्नुभयो ।
पाँच दिने टेक्निकल कोर्सको समापन आगामी मंसिर २५ गते ललितपुरको रोयल सिंगे होटलमा हुनेछ । यस ऐतिहासिक अवसरले नेपालमा उसु खेललाई अझ व्यवस्थित, आधुनिक र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच