काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही मंसिर २७ गतेदेखि सुरु हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आह्वान गर्नुभएको छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अध्यक्ष ओलीको तर्फबाट पार्टी सदस्यको घरघरमा पत्र पठाउन थालिएको हो । पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव डा.राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर जानुपर्ने आवश्यकता महसुस गराउने गरी अध्यक्ष ओलीका तर्फबाट पर्चा (पत्र) तयार पारेर पठाउन थालिएको जानकारी दिनुभएको छ ।
अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको संकटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रुपान्तरित गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथि, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने पार्टीका रूपमा चित्रण गर्नुभएको छ । अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भएको दाबीसमेत गर्नुभयो । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन यही मंसिर २७ गते दिउँसो १२ः३० बजे भक्तपुरको सल्लाघारीमा हुँदै छ ।
महाधिवेशनमा ५० हजार युवा उतार्ने दाबी
नेकपा एमालेको युवा संगठन युवा संघका अध्यक्ष क्षितिज थेबेले मंसिर २७ गते हुने पार्टीको ११औँ महाधिवेशनमा कम्तीमा ५० हजार युवा काठमाडौंमा उतार्ने दाबी गर्नुभएको छ । मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरूको उल्लेख्य सहभागिता बढाउन युवा संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरूलाई अनिवार्य रूपमा सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको अध्यक्ष थेबेले जानकारी दिनुभयो । टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्ने दाबी गर्दै थेबेले भन्नुभयो, ‘यसका लागि हाम्रो संगठनका सबै कमिटीहरू परिचालन गरेका छौँ ।’
थेबेका अनुसार काठमाडौं र ललितपुरका ६१ वडाबाट एक हजारका दरले ६१ हजार युवा सहभागी हुने त्यस्तै उपत्यकाका अन्य १९ वटा पालिकाबाट एक हजारका दरले १९ हजार उपस्थित हुनेछन् । उपत्यकाबाहेक बागमतीका १० वटा जिल्लाबाट एक हजार ५०० सयका दरले १५ हजार युवा जुटाउने युवा संघको तयारी छ । यसैगरी, महाधिवेशनमा कोसी प्रदेशबाट चार हजार, मधेसबाट चार हजार, गण्डकीबाट तीन हजार, लुम्बिनीबाट दुई हजार र कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पाँच सयका दरले एक हजार युवा जुटाउने युवा संघले जनाएको छ ।
संविधान र लोकतन्त्रको रक्षाका लागि महाधिवेशन निर्णायक : उपमहासचिव ज्ञवाली
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर २७ गते एमालेको महाधिवेशन उद्घाटन समारोहको जनउपस्थितिले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रूपमा भूमिका खेल्ने दाबी गर्नुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा उपमहासचिव ज्ञवालीले एक दिनको उपस्थितिले खास अर्थ राख्छ भने किन उपस्थित नहुने ? भन्दै प्रश्न गर्दै लेख्नुभएको छ, ‘आउनुहोस्, मंसिर २७ गते दिउँसो भक्तपुर सल्लाघारी जाऔँ र देश बनाउनेलाई हौसला दिऔँ, देश जलाउनेलाई ‘नो’ भनौँ ∕ उहाँले अगाडि लेख्नुभएको छ, ‘राजनीतिक पार्टीहरू कमजोर या शिथिल हुँदा त्यस रिक्तताको ठाउँ अराजक शक्तिहरूले लिन खोज्छन् । पार्टीहरूले सक्रिय राजनीतिक हस्तक्षेप नगर्दा प्रतिगामीहरूले टाउको उठाउन खोज्छन् ।’ नेकपा एमालेले बुटवलमा २०६२ मंसिर ४ गते गरेको सशक्त जनप्रदर्शनले माघ १९ को शाही ‘कू’ पश्चात् उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनकाविरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको ज्ञवालीले स्मरण गर्नुभएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच