काठमाडौं । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८७ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले पनि आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु गरेको छ । आइतबार १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको थियो । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मंसिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।
यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थल
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने भएका छन् । निर्वाचन आयोग गृह मन्त्रालय तथा सुरक्षा निकायहरूले समेत रिपोर्ट र मतदाताहरूको संख्यालाई आधार मानेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी भएको हो । अघिल्लो निर्वाचनको मतदानस्थलहरू र अहिलेको मतदाता संख्या समेतलाई मध्यनजर गरेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी गरिएको आयोगले जनाएको छ । उक्त मतदानस्थलमध्ये तीन हजार ५१८ मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा रहने बताइएको छ । सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अति सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । जसमध्ये सुरक्षा निकायको रिपोर्टको आधारमा अहिले तीन हजार ५१८ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । अति संवेदनशील मतदानस्थलमा सोहीअनुसार सुरक्षाकर्मी थप परिचालन गरिनेछ । यस्तै, चार हजार ५२९ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । तराईका जिल्लाहरू बढी अति संवेदनशील र संदेनशीलको सूचीमा परेका छन् । दुई हजार ८७९ मतदानस्थलहरूलाई भने सामान्यको सूचीमा राखिएको छ । यसरी वर्गीकरण गरिएका मतदानस्थलहरूमा सुरक्षार्कीको संख्या कति र कसरी परिचालन हुने भन्नेबारे छलफल भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
सात हजारबढी मतदान केन्द्र अति संवेदनशील
आगामी प्रतिनिधिसभा निर्वाचनको लागि २२ हजार ३०४ मतदान केन्द्र राख्ने तयारी भएको छ । उक्त मतदान केन्द्रहरूमध्ये सात हजार १५० मतदान केन्द्रहरू अति संवेदनशीलको सूचीमा राखिएको छ । संवेदनशीलको सूचीमा नौ हजार ३२० मतदान केन्द्रहरू छन् । पाँच हजार ८३४ मतदान केन्द्रहरू भने सामान्य सूचीमा राखिएको छ । मतदान केन्द्र र स्थलहरूको सुरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन गर्नेछन् । पहिलो घेरामा म्यादी प्रहरी, गुप्तचर, नेपाल प्रहरी खटिनेछन् । त्योभन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी बलको टोली खटिने बताइएको छ । सबैभन्दा बाहिर भने नेपाली सेना परिचालन हुनेछ । नेपाली सेना परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । त्यस्तै, म्यादी प्रहरी भर्ना प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । एक लाख ३२ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी छ । म्यादी प्रहरीलाई योपटक भने निर्वाचन सुरक्षा प्रहरी भनिने बताइएको छ ।
१२ वटा दलको पाँचवटा संयुक्त चुनाव चिह्न
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् । १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरूले एक्लाएक्लै निर्वाचनमा जानेगरी निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । १२ वटा राजनीतिक दलहरूले भने संयुक्त रूपमा एकल चिह्न प्रयोग गरी निर्वाचनमा जानेगरी आयोगमा निवेदन दिएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर पाँचवटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिनेछन् । एकल चुनाव चिह्न र संयुक्त चुनाव चिह्न प्रयोग गरी ११४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा निर्वाचनमा ११४ वटा दल १०७ वटा चिह्नमार्फत निर्वाचनमा सहभागी हुनेछन् । आयोगले राजनीतिक दलहरूको निवेदन स्वीकृत गरिसकेको छ ।
तोकिएकै समयमा निर्वाचन नभए थप अनिश्चितता : अर्थमन्त्री
अर्थमन्त्री रामेश्वर खनालले तोकिएकै समयमा चुनाव नभए मुलुक थप अनिश्चितताको दिशातर्फ धकेलिने टिप्पणी गर्नुभएको छ । सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा निर्वाचन हुने उहाँको दाबी छ । तोकिएको समयमै निर्वाचन सम्पन्न नभएमा देश अनिश्चय तथा अस्थिरताको दिशातर्फ जानसक्ने उल्लेख मन्त्री खनालले सुरक्षित एवं भयरहित वातावरणबीच आम जनताको उल्लेखनीय सहभागितासहित निष्पक्ष चुनाव गराउन सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी पनि दिनुभएको छ । उहाँले तोकिएकै समयमा चुनाव नभए युवाहरूको भावना सम्बोधन हुन नसक्ने दाबी गर्दै भन्नुभयो, ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजानु हो । यसले अनेक क्रियाकलापहरूमा असर गर्छ । कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ । यसका लागि सकारात्मक माहोल हुनुपर्छ । यसका लागि सरकार पनि लागिपरेको छ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच