विराटनगर । ‘अंशु घर आइपुगिनन्’- यो वाक्य लेटाङ-२ का गौतम परिवारका लागि अशुभ संकेत मात्र होइन, एक अथाह पीडाको सुरुवात बन्यो । २१ असोज साँझ पिङ खेल्न घरनजिकै जानुभएकी १२ वर्षीया अंशु गौतम त्यसपछि कहिल्यै फर्किनुभएन । परिवार, छिमेकी र स्थानीय युवाहरूले रातभर खोजे । भोलिपल्ट प्रहरीमा उजुरी दर्ता भयो । सामाजिक सञ्जालदेखि जंगल-जंगलसम्म खोजी भयो । तर, १८ दिनसम्म घरले अंशुको पर्खाइ मात्र गर्यो ।
अन्ततः ७ कात्तिक, बेलवारीको पिसाङ साझेदारी वनभित्र दाउरा खोज्न गएकाहरूले सडेको शव देखे । कपडाविहीन, टाउको छुट्टिएको, मासु क्षतविक्षत । पहिचान गर्नसक्ने अवस्था थिएन । तर, घटनास्थलमै भेटिएका चप्पल, कालो हाफ पाइन्ट र लुगा अंशुका थिए- बुबा नवीन गौतमले थरथराउँदै पुष्टि गर्नुभयो । यसअघि परिवारले आशाको किरण बोकेको थियो, तर जंगलले त्यहाँ निसासिएको शरीर मात्र फिर्ता दियो ।
घटनाको सूत्र : विद्यालय नजिकैबाट जंगल अनि बर्बरता
प्रहरी अनुसन्धानका अनुसार अंशु २१ असोज बिहान विद्यालय जानुभएको थियो । साँझ साथी युरिका महतरासँग पिङ खेल्न निस्किएपछि ५९ वर्षीय पदम अधिकारी (उहाँका छिमेकी, ज्याला मजदुरी गर्ने व्यक्ति) नजिकै आए । त्यसक्रममा युरिकाले पदम अधिकारीसँग पैसा माग्नुभएको थियो । अधिकारीले पाँच रुपैयाँ दिएर युरिकालाई दिदीलाई खोजेर ल्याऊ भनेर पठाएका थिए । त्यसपछि अधिकारीले घाँस काट्न सहयोगका लागि आफूसँग हिँड्न अंशुलाई भनेका थिए । अधिकारीले भनेपछि अंशु पैदलै जंगल जानुभएको थियो भने अधिकारी साइकल चढेर जंगल पुगेका थिए ।
त्यसपछि अधिकारीले अंशुलाई साइकलमा राखेर झण्डै चार किलोमिटर भित्र जंगलमा लगेका थिए । त्यहाँ पुगेपछि उनले अंशुलाई बलात्कार गरेका प्रहरीले जनाएको छ । बलात्कारपछि घाँटीमा थिचेर उनले अंशुको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्यापछि उनले हँसियाले बालिकाको घाँटीसमेत काटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
एसपी कविता कटुवालका अनुसार, ‘पीडितले घटनाबारे कसैलाई बताइदिन्छिन् भन्ने डरले अभियुक्तले धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिन्छ ।’ हत्या गरिसकेपछि पदम अधिकारी एक्कासि गाउँ छाडेर भारतको आसाम भागे । प्रहरीको विशेष टोलीले उनी फरार भएको स्थान, सम्भावित सम्पर्क, सुराकीका बयान र फरेन्सिक सूचनालाई जोड्दै उनलाई पक्राउ गर्न सफल भयो ।
तीन सय जनासँग बयान, १८ दिनको पहेली
अंशु हराएको दिनदेखि शव फेला परेपछि प्रहरीको अनुसन्धान एक्कासि तीव्र भयो । कोसी प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय मोरङ, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), केन्द्रीय फरेन्सिक ल्याबको संयुक्त टोलीले तीन सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्यो ।
घटनास्थलका घाँस, कपडाका टुक्रा, आशंकित व्यक्तिका मोबाइल र हिँड्चाल, बयान मिलान, परिवारसँगको नातासम्बन्ध, तथा स्थानीयको शंका-सुराकी एउटै बिन्दुतिर जाँदै थियो- पदम अधिकारी ।
शव पहिचानका सबै आधार मिलिसके पनि प्रहरीले कानुनी मजबुतीका लागि डिएनए परीक्षण गरायो । परीक्षणले पनि शव अंशुकै भएको पुष्टि गर्यो ।
रिस र यौन इच्छा- दुई अपराधको संगम
प्रहरी अनुसन्धानले पदम अधिकारीले ‘पारिवारिक रिस’ र ‘यौन चाहना’का कारण घटना गराएको ठहर गरेको छ । उनकै नातिनी अंशुभन्दा दुई वर्ष कान्छी छिन्- यही तथ्यले घटनाको क्रूरता र मनोवृति झनै डरावह बनाउँछ । अधिकारीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१२ ज्यानसम्बन्धी कसुरअन्तर्गत (दफा १७७) र परिच्छेद-१८ करणीसम्बन्धी कसुरअन्तर्गत जबरजस्ती करणी गर्न नहुने (दफा २१९) मा कारबाही प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको दाबी गरे पनि अदालतको फैसला, समाजको संवेदनशीलता र राज्यको जिम्मेवारी- यी सबैले अंशुको मृत्यु कहिल्यै व्यर्थ नबनाऊन् भन्ने स्थानीयको अपेक्षा छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच