रौतहट । संविधान संशोधन, किसानका समस्या समाधान लगायत ९ बुँदा माग राख्दै जसपा नेपालद्वारा रौतहटमा धर्ना प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटको मुख्यद्वारमा धर्ना दिइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राज्यमन्त्री योगेन्द्र राय यादवले संविधानका कमजोरी र प्रणालीगत असमानताले देशभरका नागरिक र विशेषतः मधेश तथा उपेक्षित वर्गका जनताको अधिकार कुम्लिँदै गएको आरोप लगाउनु भएको छ । उहाँले पटक–पटक सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सरकारको तर्फबाट बेवास्ता भएकाले सडक संघर्ष अनिवार्य भएको बताउनु भएको छ ।
विभिन्न सरकारी निकायमा सेवाग्राहीहरुसंग घुस लिने गरेको र सिमानाकामा आम सर्वसाधारणलाई दुख दिने र तस्करलाई छुट दिने जस्ता गतिविधि र क्रियाकलाप तत्काल बन्द गर्न जसपा नेपालका नेता तथा पुर्व राज्य मन्त्री यादबले कडारुपमा चेतावनी दिनुभएको छ ।
आजको धर्ना प्रदर्शन गरिब,विपन्न,थारु, सर्वहारा र पिडित सहित सबैको लागि भएको भन्दै जसपा नेपाल नेतृ किरण ठाकुरले मधेसीको बलिदान पछि आएको संघियतालाई हटाउने प्रयास कदापि स्विकार्य न हुने बताउनु भयो । उहाँले जेनजीको मांग कुनै पनि हालतमा पूरा गर्नु पर्ने सरकारको दायित्व रहेको स्पष्ट पार्नुभयो ।
वर्तमान संविधानमा देखिएका त्रुटिहरू सच्याउन संविधान संशोधन तथा पुनर्लेखनको माग अघि सार्दै जसपा नेपालले प्रतिनिधित्वको समानता कायम गर्न जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण गर्नुपर्ने जोड दिइएको छ।
त्यसैगरी, स्थानीय तहलाई प्रभावकारी बनाउने उद्देश्यले स्थानीय तहहरूलाई प्रदेशको क्षेत्राधिकारभित्र समायोजन गर्नुपर्ने तथा देशको कार्यकारी नेतृत्व प्रत्यक्ष जनमतबाट चुनिने व्यवस्था गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणाली लागू गर्न पार्टीले माग गरेको छ।
कृषि क्षेत्रमा बढ्दो संकटबारे चिन्ता व्यक्त गर्दै धर्नाले किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन, मल–खादको सहज आपूर्ति सुनिश्चित गर्न तथा लामो समयदेखि बक्यौता भुक्तानी नपाएका उखु किसानलाई भ्याट रकममध्ये ३५ प्रतिशत तत्काल भुक्तानी गर्न सरकारलाई आग्रह गरेको छ।
संघीय संरचना कार्यान्वयनमा देखिएको कमजोरी औंल्याउँदै जसपा नेपालले प्रदेशहरूमा प्रहरी तथा कर्मचारी समायोजन तत्काल लागू गर्न माग गर्दै संघीय सरकारले गर्दै आएका राजनीतिक नियुक्तिमा चलिआएको भागबण्डा प्रथाको अन्त्य गरी योग्यता र क्षमतामा आधारित प्रणाली लागू गर्न मांग गरिएको छ।
धर्ना प्रदर्शनमा जिल्ला समितिका पदाधिकारी, स्थानीय प्रतिनिधि, पार्टीका अगुवासहित ठूलो संख्यामा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। सहभागीहरूले सरकारले मागहरू सम्बोधन नगरे आन्दोलनलाई अझ प्रभावकारी बनाउँदै लैजाने चेतावनी दिएका छन्।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच