शब्दलाई परिभाषित गर्नुपर्दा शब्द स्वयं शक्तिशाली चेतना हो जसले ज्ञान, सत्य, सौन्दर्य र नैतिकता प्रष्फुटन गराउँछ । मानव सभ्यताको मूलमा शब्द छ । शब्दको जीवनशक्ति शब्दब्रह्म हो । जब लेखक वा नागरिकले लेखन धर्मको पालना गर्छन् तबमात्र शब्दब्रह्मको मर्यादा कायम रहन्छ । यो मर्यादा सुशासन, नैतिकनागरिकता र कालजयी सभ्यताको स्थायी जग हो । शब्दको शुद्धता, पवित्रता र ब्रह्मरूपलाई जोगाउनु मानवताको सर्वोच्च कर्तव्य हो । शब्दले चेतना जन्माउँछ, भाव जगाउँछ, कर्मलाई दिशा दिन्छ । पूर्वीय दर्शनले शब्दलाई सामान्य ध्वनि मान्दैन, यसलाई ब्रह्म सृष्टिकै मूलऊर्जाको रूपमा व्याख्या गरेको छ । यसैले शब्दलाई ब्रह्मशब्द भनिएको हो ।
शब्दब्रह्मको प्राकट्य रूपमा मानवले निर्माण गर्छ, लेखन । शब्दब्रह्म भनेको परम सत्य र सृष्टिको अनन्त ऊर्जा हो, जुन मानवबाट शब्दको रूपमा प्रकट हुन्छ । मानव सभ्यताको विकास केवल भौतिक प्रगतिको परिणाम होइन, शब्द अर्थात् भाषाको सिर्जनाबाट सम्भव भएको मानसिक क्रान्ति हो । शब्दले अमूर्त विचार, अनुभव र भावनालाई मूर्तरूप बनायो । शब्दले जानकारी, ज्ञानलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण, पुस्तान्तरण, सामाजिक संरचना निर्माण, जटिल कानुन-नियम स्थापित तथा वैज्ञानिक र दार्शनिक चिन्तनलाई जन्मदिन निर्णायक भूमिका खेल्यो । शब्द आधारभूत औजार बन्यो जसले मानवलाई जैविक प्राणीबाट सांस्कृतिक र सामाजिक प्राणीमा रूपान्तरण गर्यो ।
शब्दब्रह्म भन्नाले शब्द नै ब्रह्म वा ध्वनि रूपको परम सत्य हो । शब्दलाई ब्रह्मको संज्ञा दिनु अनन्तता, सिर्जनात्मकता हो । जुन ब्रह्माको परिभाषासँग मिल्दोजुल्दो छ । ब्रह्मको परिभाषा र शब्दब्रह्ममा समानता पाइन्छ । ब्रह्मको विशेषता नित्य । शब्दमा पनि के गुण छ भने शब्दको शक्ति कहिल्यै नाश हुँदैन ।
शब्दशक्तिको विषयमा भन्नुपर्दा ठूला समूहलाई एउटै विश्वास प्रणाली, साझा उद्देश्यमा आबद्ध गर्न सम्भव बनायो । शब्द नभएको भए मानिसहरूको सहयोगमा राज्य-व्यवस्थाको सिर्जना कसरी सम्भव हुन्थ्यो ? शब्दले ज्ञान, सीपलाई मस्तिष्कको सिमानाभन्दा बाहिर निकालेर ग्रन्थ, अभिलेख आदि सुरक्षित राख्न सक्षम बनायो । परिणामस्वरूप ज्ञानको हस्तान्तरण सम्भव भयो । हरेक नयाँ पुस्ताले शून्यबाट सुरुवात गर्नुपर्ने अवस्था र व्यवस्थाको अन्त्य भयो । शब्दको अर्को वरदान हो चेतना । शब्दले मानवलाई प्रश्न, तर्कवितर्क, विचारविमर्श र भविष्यको योजना बनाउन प्रेरित गर्यो ।
धर्म, कला, साहित्य र विज्ञानसमेतको जग बसाल्यो जुन अहिले मानव सभ्यताका मूल स्तम्भ हुन् । गर्वसाथ भन्न सकिन्छ कि मानव सभ्यताको मूलनिचोड शब्द हो । शब्द केवल ध्वनिको संग्रहन भएर यो कल्पना र सिर्जनाको सशक्तमा ध्यम हो । शब्दले हामीलाई प्रकृति, जीवन-जगतलाई बुझ्ने, नामकरण र परिभाषित गर्ने क्षमता दियो । शब्दबिनाको मानिस केवल एक निरीह प्राणी हुन्थ्यो । शब्द कै सहयोगमा मानवले कथा लेख्न, संसारको नियमबनाउन र ब्रह्माण्डलाई बुझ्ने प्रयास गर्नसक्ने बनायो । निर्माण गरेका हरेक संस्था कानुन र प्रविधिको सुरुवात एउटा अमूर्त विचारबाट भयो, जसलाई शब्द विज्ञानले मूर्तता दियो । शब्द मानव चेतनाको आधार र सभ्यताको अविभाज्य शक्तिपुञ्ज हो ।
शब्द केवल ध्वनि वा वर्णको संयोजनमात्रै होइन, यो मानव सभ्यताको मूल आधारशीला, चेतनाको सर्वोच्च अभिव्यक्तिहो । शब्दले अमूर्त भावना, जटिल दर्शन, वैज्ञानिक सिद्धान्तलाई मूर्तरूप दिन्छ । शब्दब्रह्म त्यो शक्ति हो जसले मानवलाई केवल जीवबाट सभ्य प्राणीमा रूपान्तरित ग¥यो । शब्दको महत्व ज्ञानको सञ्चयमा निहित छ । लेखनको आविष्कार हुनुअघि शब्दहरूले नै स्मृति, इतिहास र धर्म आदिलाई हस्तान्तरण र पुस्तान्तरण गर्थे । जब शब्द लेखिनथाले त्यसपछि समय र भूगोलको सीमा पार गर्दै मानव ज्ञानको कोषको निर्माण गर्न सफल भए । यही शब्दको शक्ति र भक्तिले पुराण, उपनिषद्, न्यायका संहिता, कलाका सिद्धान्त र विज्ञानका सूत्रहरूलाई सुरक्षित र व्यवस्थित संकलन र संरक्षण सम्भव भयो ।
शब्द शक्तिपुञ्जमात्र होइन, यो नियन्त्रणहीन ऊर्जा हो । एउटै शब्दले क्रान्ति सुरु हुनसक्छ र एउटै शब्दले युद्धको अन्त्य गर्न सक्छ । मिथ्या सूचना, घृणा र भ्रम फैलाउन शब्दको दुरुपयोग हुनसक्छ । शब्दको प्रयोग गर्नु लेखन धर्मको उत्तरदायित्व हो । शब्दको यो द्वैध चरित्र जस्तो सृष्टि र विनाशलाई मानवजीवनमा सबैभन्दा शक्तिशाली र अविभाज्य शक्तिपुञ्ज बनाउने कारक हो ।
शब्दब्रह्म भन्नाले शब्द नै ब्रह्म वा ध्वनि रूपको परम सत्य हो । शब्दलाई ब्रह्मको संज्ञा दिनु अनन्तता, सिर्जनात्मकता हो । जुन ब्रह्माको परिभाषासँग मिल्दोजुल्दो छ । ब्रह्मको परिभाषा र शब्दब्रह्ममा समानता पाइन्छ । ब्रह्मको विशेषता नित्य । शब्दमा पनि के गुण छ भने शब्दको शक्ति कहिल्यै नाश हँुदैन । ब्रह्मको विशेषता सर्वव्यापी हो । ब्रह्मको अर्को विशेषता हो सृष्टिकर्ता । शब्दमा सिर्जना गर्ने अनन्त शक्ति छ । ब्रह्मालाई ज्ञानको आधार मानिन्छ भने शब्द नै ज्ञानको प्राप्तिको माध्यम हो ।
शब्दलाई ब्रह्मको संज्ञा दिनुको प्रमुखकारण सृष्टिको मूल कारण हो । धेरैजसो परम्परामा सृष्टिको प्रारम्भिक अवस्थालाई ब्रह्माण्डीय ध्वनि मानिन्छ । ब्रह्माण्डीय ध्वनि नै शब्दब्रह्म हो । सम्पूर्ण भौतिक जगत् र ध्वनिहरू त्यसै ब्रह्माण्डीय ध्वनिबाट विकसित भएका हुन् । शब्दले कुनै पनि वस्तुलाई नाम दिन्छ । नामबिना कुनै वस्तुको अस्तित्वलाई बुझ्न सकिँदैन । शब्दले नै सम्पूर्ण संरचनालाई नाम र रूपमार्फत बाँधेको छ । वैयाकरणका दार्शनिक भर्तृहरिले शब्दलाई नै सर्वोच्च तत्वको अर्थात् ब्रह्मको रुपमा स्थापित गर्नुभयो । भर्तृहरिका अनुसार बोल्ने वा सुनिने शब्द परम तत्वको बाहिरी रूप हो ।
शब्दब्रह्मको पालना गर्नुभनेको लेखन धर्मको पवित्रताप्रति नतमस्तक हुनु हो । लेखन धर्म भन्नाले लेखनसँग जोडिएको नैतिक जिम्मेवारी, कर्तव्य र आचारसंहिता आदिलाई जनाउँछ । यहाँ धर्मको अर्थ कुनै सम्प्रदाय वा पन्थ होइन तर धारणा गर्ने या धारण गर्ने नियम हो । लेखन धर्मले शब्दको गरिमा र शक्तिलाई कसरी सही तरिकाले प्रयोग गर्ने भन्ने नियम स्थापित गर्दछ । लेखनको पवित्रता भनेको लेखनलाई सत्य, शिव र सुन्दर बनाउनु हो । लेखकले क्षणिक वा व्यक्तिगत लाभका लागि शब्दको प्रयोग नगरी शाश्वत सत्य र मूल्यहरू पस्कनु पर्छ । शब्दले नयाँ विचार र संसारको सिर्जना गर्नसक्छ । लेखकले आफ्नो लेखनलाई विध्वंशकारी होइन, सकारात्मक र निर्माणकारी बनाउनुपर्छ ।
शब्द ब्रह्मको पालना गर्नु लेखन धर्मको पवित्रताप्रति नतमस्तक हुनु हो । लेखन धर्म लेखनसँग जोडिएको नैतिक जिम्मेवारी र आचारसंहिता आदिलाई जनाउँछ । धर्मको अर्थ कुनै सम्प्रदाय वा पन्थ होइन, तर धारणा गर्ने या धारण गर्ने नियम हो । लेखन धर्मले शब्दको गरिमा, शक्तिलाई कसरी सही तरिकाले प्रयोग गर्ने भन्ने नियम स्थापित गर्दछ ।
कलात्मक समर्पणले लेखनलाई दीर्घजीवी र प्रभावशाली बनाउँछ । शब्दब्रह्मको अवधारणाले लेखनलाई एक साधारण पेशाबाट अध्यात्मिक अनुष्ठानमा रुपान्तरण गर्दछ । लेखन धर्मको पवित्रता नतमस्तक हुनुभनेको आफ्नै चेतनाको पवित्रता कायम राख्नु हो, जसले गर्दा शब्दको माध्यमबाट अभिव्यक्त भएको ब्रह्मको शक्ति समाजमा सकारात्मक रूपमा प्रवाहित हुन सकोस् । लेखन धर्म भनेको लेखनको परम नैतिक दायित्व हो, जसले शब्दको पवित्रतालाई स्वीकार गरी समाज र सत्यप्रति लेखकको कर्तव्यलाई स्थापित गर्छ । यो अवधारणा शब्दब्रह्मको पालनामा आधारित छ । शब्दब्रह्म र लेखन धर्म लेखकीय सर्वोच्च अनुशासन हो । शब्दब्रह्म स्वयं सत्ता हो, सृष्टिमा निहित, सबैभन्दा धारिलो र सम्मानित अस्त्र हो । लेखन धर्म भनेको त्यो अस्त्रलाई लोभ, भय र स्वार्थबाट मुक्त राखी केवल सत्य र लोककल्याणकारी नैतिक अनुशासन कायम गर्ने प्रयत्न हो ।
हरेक वाक्य सत्यको पक्षमा उभिन्छ, हरेक अनुच्छेद चेतनाको विस्तार बन्छ र हरेक निबन्ध समाजलाई दिशानिर्देश गर्ने कम्पास बन्छ । शब्दब्रह्म हो भने त्यस ब्रह्मलाई व्यावहारिक शक्ति बनाउने जिम्मा लेखन धर्मको हो । यदि शब्द पवित्र छ तर लेखन अपवित्र छ भने समाजमा अन्धकार फैलन्छ । यदि शब्द शक्तिशाली छ तर लेखक कायर छ भने सत्यको हत्या हुन्छ । शब्दब्रह्म हो, लेखन धर्म कमजोर छ भने ज्ञान निष्प्रभावी हुन्छ । त्यसैले पवित्र शब्दलाई कर्म, चेतना र परिवर्तनमा रूपान्तरण गर्ने धारिलो साधन नै लेखन–धर्म हो । लेखनमा धर्मको बन्धन आवश्यक छ किनकि शब्दको प्रभाव अन्य कुनै भौतिक कर्मभन्दा व्यापक र दीर्घकालीन हुन्छ । धर्मले लेखकको चेतनामा फिल्टरको काम गर्छ ।
यो फिल्टरले लेखनमा असत्य, पूर्वाग्रह र स्वार्थजन्य विचारलाई प्रवेश नै हुनदिँदैन । लेखन धर्म भनेको लेखकले आफैंलाई सोध्ने अन्तिम प्रश्न हो, के मैले लेखेको यो शब्द सत्य, कल्याणकारी र न्यायपूर्ण छ ? शब्दको अन्तिम उद्देश्य सार्वजनिक कल्याण हुनुपर्छ । लेखनले समाजलाई नकारात्मकता, घृणा वा द्वेषतर्फ धकल्छ भने त्यसले लेखन धर्मको उल्लंगन गर्छ, भलै त्यो कलात्मक रूपमा उत्कृष्ट किन नहोस् । लेखक केवल शब्दको कारिगरमात्रै होइन, ऊ शब्दब्रह्मको शक्तिलाई सामाजिक न्यायको मार्गमा डोहो¥याउने धर्मको सारथि हो । शब्दको शक्तिलाई धर्मले बाँध्नु सभ्यतालाई विनाशबाट जोगाउने र कालजयी ज्ञानको निर्माण गर्ने अन्तिम र सर्वोच्च मानवीय कर्तव्य हो ।






Extremely relevant to our religion and culture