सिन्धुली । गोलञ्जोर गाउँपालिका, सिन्धुलीले गोलञ्जोर–४ तिनकन्या माझकुभिण्डेमा हुने तीन दिने ‘जुनार प्रवद्र्धन मेला–२०८२’ को पहिलो दिन भोली (मंसिर २३ गते) सार्वजनिक बिदा दिएको छ ।
गाउँ कार्यपालिकाको मंसिर २१ गते बसेको बैठकले मेला उद्घाटनका दिन गाउँपालिका र मातहतका कार्यालय, स्वास्थ्य संस्थान, शैक्षिक संस्थान तथा वित्तीय निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गोलञ्जोर गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २३, २४ र २५ गते तिनकन्या माझकुभिण्डेमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला मार्फत जुनारको पहिचान, संरक्षण र स्थानीय उत्पादनको बजार विस्तार गर्ने लक्ष्य राखिएको छ । यसका लागि कृषि, सहकारी तथा स्थानीयस्तरका विभिन्न निकायसँग सहकार्य छ ।
मेलामा ९ हजारभन्दा बढी दर्शक पर्यटक आउने अनुमान गरिएको छ । मेला बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मेलामा जुनार बगैँचाको अवलोकन, जुनार नर्सरी, जुनारका परिकारको स्वाद तथा स्थानीय कृषि उत्पादनको प्रदर्शनी रहने छ । साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, जातीय पहिचान झल्काउने पोशाक तथा झाँकी प्रदर्शन, र कृषकहरुसँग अन्तक्र्रिया समेत हुने जनाइएको छ ।
मेलाको आयोजनामा गोलञ्जोर गाउँपालिका मुख्य आयोजकका रूपमा रहेको र कृषि तथा पशुपन्छी मन्त्रालय, उद्योग तथा वाणिज्य कार्यालय, कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, जुनार विकास संघ, जुनार सहकारी संघ लगायत विभिन्न संघसंस्थाहरुको सहकार्य रहनेछ । मेला सञ्चालन तथा सम्पन्न गर्न करिब १६ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
मेलामा ४ सयभन्दा बढी जुनारका विरुवा लगाउने किसान, तथा जुनार प्रवद्र्धन र प्रशोधनका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिनेछ । पर्यटक तथा आगन्तुकका लागि बगैँचामै पुगेर जुनार टिपेर खाने सुविधा समेत उपलब्ध गराइने भएको छ, जसले कृषि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
गोलञ्जोर गाउँपालिका जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने क्षेत्र मानिन्छ । गाउँपालिकाभित्र ९ हजार १२१ मेट्रिक टन जुनार उत्पादन हुनेमध्ये ६ हजार २१८ मेट्रिक टन बजार योग्य हुने जनाइएको छ । यहाँका २ हजार ७५० कृषक जुनार खेतीमा संलग्न छन् । गोलञ्जोर वडा नं. ४ का माझकुभिण्डे, मालिङ्गे, आलेगाउँ र डाँडागाउँ जुनार उत्पादनका प्रमुख क्षेत्र रहेका छन् ।
जुनारको बगैँचामा मूल्य प्रतिकेजी ५५ रुपैयाँ रहेको र गाउँपालिकामा मात्र एउटा वर्षमा ३४ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरको आर्थिक आम्दानी हुने गाउँपालिकाले जनाएको छ ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच