काठमाडौं । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने नाराका साथ रूपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघ(सिएनआई)को संरक्षकत्वमा आगामी पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ हुने भएको छ । स्वेदशी उत्पादनहरूको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यावसायिक अनुभव आदानप्रदान, नेपाली उद्योगका लागि अवसरको खोजी, उत्पादन उपभोक्ता विज्ञहरू र सरकारी निकायबीच अन्तरसंवाद, आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी, निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमी प्रोत्साहन, पर्यटन क्षेत्रका व्यवस्थाबारेमा सरोकारवालाबीच छलफललगायतका उद्देश्यसहित आयोजना गर्न लागिएको रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुनेछन् । प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग सोझो सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने आयोजकको अपेक्षा रहेको छ । स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयाँ प्रविधि खोजी, कृषिको व्यावसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमी प्रोत्साहन, स्टार्टअप स्वरोजगार सिर्जना, कला र संस्कृति जगेर्ना, गोष्ठी तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब पाँच सय स्टलहरू रहने र मेलामा ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा रहेको छ । संघले २०४५ सालमा नेपालमै पहिलोपटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ ।
स्वदेशी उद्योगका उत्पादनमात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । प्रदर्शनीमा सिएनआईले सञ्चालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियानलाई थप प्राथमिकतासाथ अघि बढाइने बताइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच