कैलाली । अर्थमन्त्री रामेश्वर खनालले सरकार फागुन २१ गतेको निर्धारित मितिमा निर्वाचन गराउन तत्पर रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको १९औँ संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी आउनुभएका उहाँले सरकारको सम्पूर्ण ध्यान निर्वाचन केन्द्रित भएको बताउनुभएको हो ।
जेन-जी आन्दोलनले मागेको परिवर्तन संस्थागत हुन समयमै निर्वाचन अहिलेको आवश्यकता रहेको अर्थमन्त्री खनालको भनाइ थियो । उहाँले वर्तमान सरकारले विकास निर्माणका कुराभन्दा पनि सुशासनमा बढी ध्यान दिएको बताउनुभयो । मन्त्री खनालले २१ गतेको निर्वाचनपछि जेन-जी युवाहरूले खोजेका उम्मेदवार जितेर आएपछि देश नयाँ युगमा प्रवेश गर्ने दाबीसमेत गर्नुभयो । उहाँले विकास नगर्ने तर पद ओगट्ने नेताभन्दा काम गर्ने नेतालाई अबको निर्वाचनमा विजयी गराउन पनि आग्रह गर्नुभयो ।
मन्त्री खनालले निर्वाचनसँगै जेन-जी युवाहरूले खोजेका उम्मेदवार जितेर आएपछि देश नयाँ युगमा प्रवेश गर्ने दाबी गर्नुभएको छ ।
अर्थमन्त्री खनालले देशैभरि पुनर्निर्माणको काम अघि बढिरहेको उल्लेख गर्दै मुलुकभर ध्वस्त सरकारी कार्यालयहरू पुनःर्निर्माणमा सरकार लागिरहेको बताउनुभयो । उहाँले निर्वाचनको सुरक्षालाई लिएर चिन्ता नगर्न सबै राजनीतिक दललाई आग्रहसमेत गर्नुभयो । सरकारको पहिलो प्राथमिकता निर्वाचन रहेको भन्दै अर्थमन्त्री खनालले स्वच्छ, भयरहित निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । त्यसका लागि सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
आगामी निर्वाचनबाट २३ र २४ भदौमा युवाहरूले उठाएका भ्रष्टाचारमुक्त, सदाचारयुक्त र विधिमा आधारित असल शासन स्थापना गर्न सक्ने सरकार निर्माण गर्न भए पनि सबैले चुनावको वातावरण बनाउनतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । अर्थमन्त्री खनालले यसपटकको चुनावमा इतिहासकै सबैभन्दा धेरै राजनीतिक दल सहभागी हुन लागेको भन्दै सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति गराएर निर्वाचन सम्पन्न गर्ने दाबी पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा यसपालि सबैभन्दा धेरै दलहरू निर्वाचनमा भाग लिन दर्ता भएका छन् । एक सय ३० दल जबकि योभन्दा अगाडि तीन अंकमा दलहरू यसरी भाग लिन दर्ता भएका थिएनन्, यसअघि जहिले पनि कतिपय दलले चुनाव बहिष्कार गर्थे तर अहिले एउटै समूह पनि बहिष्कारमा छैन । यो सकारात्मक संकेत हो ।’
अर्थमन्त्री खनालले जेन-जी आन्दोलनका क्रममा विध्वंशकारी वा गलत गतिविधि गर्नेहरू कानुनी कारबाहीको दायरामा आउने दाबी पनि गर्नुभएको छ । उहाँले छानबिन समितिको प्रतिवेदन आएपछि सबै तथ्यहरू स्पष्ट हुने बताउनुभयो । उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनपछि मात्र आन्दोलनकारी र विध्वंशकारी गतिविधिमा संलग्न व्यक्तिहरू छुट्याउन सम्भव हुने अर्थमन्त्रीको भनाइ थियो । उहाँले देशभर पुनर्निर्माणको काम तीव्रगतिमा भइरहेको उल्लेख गर्दै स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्यांकन गरिरहेको र आवश्यक परे संघीय सरकारले आर्थिक सहयोग गर्ने बताउनुभयो । केही कार्यालयमा पुनर्निर्माण कार्य सुरु भइसकेको र केहीमा काम जारी रहेकाले तीन वर्षभित्र सम्पूर्ण पुनर्निर्माण सम्पन्न हुने जिकिरसमेत उहाँले गर्नुभयो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका मुद्दा अघि सार्दै १९ वर्षअघि शालीन आन्दोलनका रूपमा महोत्सवको सुरुवात भएको जानकारी गराउनुभयो ।
प्रदेशवासीले सुदूरपश्चिम महोत्सवलाई पर्वका रूपमा अवलम्बन गरेको भन्दै उहाँले प्रदेश आर्थिक समृद्धिसँगै मौलिक संस्कृति, परम्परा र लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । यस प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै कला, संस्कृति प्रवद्र्र्धनको उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले १९औँ संस्करणको महोत्सव आयोजना गरेको हो । करिब तीन करोड लगानीमा आयोजित महोत्सवमा १५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको विश्वास छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोेमोबाइल्स, इलेक्ट्रोनिकल, होटल, सूचना प्रविधिलगायत पाँच सय स्टल रहेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच