काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजधानी काठमाडौंमा राजनीतिक गतिविधि सुरु गर्नुभएको छ । आफ्नै नेतृत्वमा स्थापना भएको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि पहिलोपटक मेयर साम्पाङले सोमबार काठमाडौंको सिफल चौरमा पार्टीको औपचारिक सभा गर्नुभएको हो । सभालाई ‘संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको थियो ।
काठमाडौंमा आयोजित औपचारिक सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोहो¥याउने अभियानमा गोलबद्ध हुन आह्वान गर्नुभएको छ । अध्यक्ष साम्पाङले भन्नुभयो, ‘श्रम संस्कृति पार्टीले यो देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ । यो पार्टीले स्वाधीनताको कुरा गर्छ । विदेशी ऋणको भरमा बाटो र पुल बनाउनुपर्छ भन्दैन । यही देशको स्रोत र श्रमलाई परिचालन गरेर मुलुकलाई आर्थिक उन्नतिको दिशामा अगाडि बढाउन चाहन्छ । देशलाई विदेशी चलखेलको रणमैदान हुनबाट बचाउन निस्केको अभियान हो श्रम संस्कृति पार्टी । पुराना पार्टीहरूले काम गर्छन् भनेर पर्खिन सकिँदैन । सबैजना यो अभियानमा जोडिनुहोस् ।’
पछिल्ला दिनहरूमा संगठन विस्तारका लागि म्याराथन दौडमा रहनुभएका मेयर साम्पाङले संगठन विस्तार नभनी ‘श्रमदाता विस्तार’ नाम दिनुभएको छ । अध्यक्ष साम्पाङले अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्र अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्ति अन्त्य गर्न सकिने जिकिर गर्नुभएको छ । हर्कको दलले बालिग मताधिकारद्वारा प्रत्यक्ष चुनिने राष्ट्रपतिको पक्षमा आफूलाई उभ्याउनुभएको छ ।
कार्यकारी राष्ट्रपतिको एक कार्यकाल पाँच वर्षको हुने र एक व्यक्ति दुई पटकभन्दा बढी चुनिन नपाउने नीति अघिसार्दै साम्पाङले भन्नुभयो, ‘राष्ट्रपति र उपराष्ट्रपति एकै लिंग र एकै जाति-समुदायको नरहने (दलले उम्मेदवारी दिँदाको अवस्थामा) तर चुनिँदा के हुन्छ, त्यो नतिजाअनुसार हुनेछ, राष्ट्रपतिले राजनीतिक क्षेत्र बाहिरको विषय विज्ञ या सांसद जसलाई पनि लिएर आफ्नो पायकको सरकार गठन गर्न पाउनेछ । सांसद सरकारमा गए सांसद पद निलम्बन हुनेछ ।’
उहाँका अनुसार व्यवस्थापिका संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक रहने कल्पना हर्कवाद हो । संघीय व्यवस्थापिकाअन्तर्गत राष्ट्रियसभामा सबै प्रदेशको समान प्रतिनिधित्व रहने र प्रतिनिधिसभामा प्रदेशको जनसंख्याको अनुपातमा पूर्ण समानुपातिक प्रतिनिधित्व रहने व्यवस्था हुनुपर्ने प्रस्ताव अघि सारिएको छ । प्रदेशका मुख्यमन्त्रीसमेत स्थानीय सरकार चुनिएझैँ प्रत्यक्ष निर्वाचित हुने र राज्यका सबै अंगमा आदिवासी, जनजाति, खसआर्य, मधेसी, दलित, मुस्लिम र अल्पसंख्यक सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्नेगरी समानुपातिक प्रतिनिधित्व गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगीकार गर्ने श्रम संस्कृति पार्टीको एजेण्डा छ ।
देश नेतृत्वविहीन भएको जिकिर
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश नेतृत्वविहीन अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आयोजित सभामा साम्पाङले भन्नुभयो, ‘यतिखेर देश नेतृत्वविहीन अवस्थामा छ, सरकार छ कि छैन थाहा छैन । रोजगारी नभएको, न्याय नभएको, कहीँ सुरक्षा नभएको देश बनेको छ । अहिलेसम्म चुनेको नेतृत्व कस्ता थिए, गहिरो समीक्षा गर्नुपर्ने बेला आएको छ । भिजन र दृष्टिकोणबिनाको नेताले देशलाई कहाँ पुर्याउँछ ? थाहा छैन ।’
ऊर्जामन्त्री कुलमानमाथि प्रहार
धरान उपमहानगरपालिकाका मेयरसमेत रहनुभएका साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङ आफनो बाटोमा तगारो बन्न खोजेको आरोप लगाउनुभएको छ । घिसिङलाई दोहोरो चरित्र र खतरनाक भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो बाटो छेक्न धेरै मान्छे धेरै कालमा प्रयोग हुन्छन् । अहिले बत्ती बाल्ने एकजना सर बत्ती बाल्छु भन्दै आउनुभएको थियो । आफ्नो पार्टी होइन पनि भन्नुभो । घरी मेरो पार्टी हो पनि भन्नुहुन्छ । लिष्टमा उहाँको नाम पनि छैन । उहाँलाई देखाएर श्रम संस्कृतिको बाटो छेक्न एउटा तुरुप हानिएको छ । श्रम संस्कृतिले यस्ता तगारो टेर्नेवाला छैन । घिसिङको यस्तो दोहोरो चरित्रले नेतृत्व गर्दैन । नेतृत्व प्रष्ट हुन्छ । रहस्यमय मान्छेहरू, दोहोरो चरित्रका मान्छेहरू खतरनाक हुन्छन् ।’
आसन्न प्रतिनिधिसभा चुनावलाई लक्षित गरेर हर्क नेतृत्वको पार्टीले कोसी प्रदेशका पहाडी इलाकामा सभा गरिसक्नु भएको छ । उहाँको दलको केन्द्रीय कमिटीमा आदिवासी-जनजाति समुदायको बाहुल्य छ । श्रम गरेर मात्रै देश उँभो लाग्ने नारा लगाएर चुनावी सभाहरू गर्दै हिँड्नुभएका साम्पाङले अघिसारेको हर्कवादमा प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित तथा समुचित विकासले मात्र मानव संसार र जगतको रक्षा र उन्नति गर्नसक्ने उल्लेख छ । यसका लागि अनिवार्य श्रम र श्रमदान उहाँको सिद्धान्तको मुख्य सर्त छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच