काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणा पत्र पार्टी कार्यालयमा बुझाउनुभएको छ । महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुने घोषणा गर्नुभएका पोखरेलले सोमबार एमाले मुख्यालय च्यासलमा आफ्नो अवधारणा पत्र बुझाउनुभएको हो । पोखरेलको दस्तावेज एमाले महासचिव शंकर पोखरेललाई बुझाइएको हो । यसअघि अवधारणा पत्र अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने तयारी थियो । तर, अध्यक्ष ओली नआएपछि महासचिव पोखरेललाई बुझाइएको हो । ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हलमा प्रस्तुत गर्ने काउण्टर प्रस्ताव आफ्नो प्रस्ताव बुझाउन वरिष्ठ उपाध्यक्ष पोखरेल स्वयं एमाले हेडक्वार्टर पुग्नुभएको थियो ।
पोखरेलले प्रस्तुत गरेको अवधारणा पत्रमा देशको वर्तमान संवैधानिक तथा राजनीतिक संकट, नेपाली अर्थतन्त्रको संरचनागत समस्या र तीव्र भू-राजनीतिक संवेदनशीलतालाई प्रमुख मुद्दाका रूपमा औँल्याउनुभएको छ । पोखरेलले आफ्नो अवधारणा पत्रमा माक्र्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्दै महाधिवेशनले सही नीति निर्धारण गर्न र बलियो राष्ट्रिय शक्ति निर्माणको नेतृत्व तयार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
११औँ महाधिवेशन एउटा विशिष्ट परिस्थितिमा आयोजना भइरहेको उहाँको भनाइ छ । संविधानसभाबाट बनाइएको संविधान घाइते भएको र समाजमा अराजकता, अन्योल तथा राजनीतिक अस्थिरताको वातावरण रहेको अवधारणा पत्रमा उल्लेख छ । भदौ २३ र २४ गते भएका अकल्पनीय घटनाका कारण सिर्जित संवैधानिक र राजनीतिक रिक्तता छिटो अन्त्य गर्न पार्टीले नयाँ कार्यदिशा तय गर्नुपर्ने दबाब सिर्जना भएको पोखरेलको ठहर छ । नयाँ पुस्ताका आकांक्षाहरू र राज्य तथा पार्टीहरूले लिएका नीतिबीच खाडल देखिएको र यस्तो घटनाका कार्यकारण सम्बन्धहरूको वैचारिक विश्लेषण गर्नु महाधिवेशनको मुख्य दायित्व भएको जनाइएको छ ।
अर्थ राजनीतिमा रहेको संरचनागत संकटले आम निराशा र असन्तोष निम्त्याएको उल्लेख गर्दै गोंगबुको ल्होत्से मलको घटना, तीनकुने कोटेश्वरका लुटपाट र भदौ २४ का घटनाले नेपाली समाजको नैतिक मूल्य र सांस्कृतिक बन्धन खुकुलो हुँदै गएको संकेत गरेको दाबी गरिएको छ । सुशासनको अभाव, रोजगारीको अभाव र स्रोतमाथिको पहुँचमा विभेदले राज्य असफलतातिर धकेल्ने जोखिम बढाएको ठहर गरिएको छ । पार्टी सरकारमा हुँदा संरचनागत संकट हल गर्न पर्याप्त हस्तक्षेप गर्न नसकेकोमा आत्मआलोचना गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अवधारणा पत्रले नेपालको भू-राजनीतिक संवेदनशीलतालाई जोड दिएको छ । भदौ २४ का घटनाले आन्तरिक संरचनागत संकट र भू–राजनीतिक घर्षणका कारण राष्ट्रिय स्वाधीनता जोखिममा रहेको थप पुष्टि गरेको अवधारणा पत्रमा भनिएको छ । एमालेको नेतृत्व चयनका लागि ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदै छ । उक्त महाधिवेशनमा पोखरेल र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै छ ।
चुनौती सामना गर्न सक्षम हुनेगरी पार्टी पुनर्गठन गर्न माग
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘जेन-जी’ आन्दोलनपछिको नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी पुनर्गठन गर्नुपर्ने बताउनुभएको छ । नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी पुनर्गठन गर्न, सही तरिकाले राष्ट्रिय एकताको अगुवाइ गर्ने नेतृत्व निर्माण गर्ने आँट गर्नुपर्ने उहाँको भनाइ छ । जनताको बहुदलीय जनवाद (जबज)लाई बुझ्ने कुरामा एकरूपता नभएका भन्दै यसको सार र गति बुझेर मात्र बुझाइमा एकरूपता ल्याउन सकिने पोखरेको अवधारणा पत्रमा उललेख छ । ‘हाम्रो पार्टी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट हामीले विधान महाधिवेशनपश्चात् देशमा उत्पन्न असाधारण परिस्थितिको वस्तुगत विश्लेषण गरी सही नीति निर्धारण गर्न जरुरी छ’, पोखरेलको अवधारणा पत्रमा भनिएको छ, ‘पार्टीले ‘जनताको बहुदलीय जनवाद’लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्दै आएको त छ, तर वर्तमान विकसित परिस्थितिमा ‘जबज’लाई बुझ्ने सवालमा एमालेभित्र एकरूपताको खाँचो पनि देखापर्दै गएको छ । जस्तोसुकै कार्य परिस्थितिमा पनि सबैले ‘जबज’को अर्थ र मर्मलाई एकै किसिमले बुझ्नैपर्दछ । जबजलाई यसको सार र गतिमा बुझेर मात्र बुझाइमा एकरूपता ल्याउन सकिन्छ ।’
शिरदेखि तिरसम्मै गुटगत गतिविधि
पोखरेलले पार्टीमा शिरदेखि तिरसम्मै गुटगत गतिविधि तीव्र भएको, गुटको आवरणमा वाञ्छित अवाञ्छित, वैध अवैध क्रियाकलाप हुन थालेको आरोपसमेत लगाउनुभएको छ । ‘प्रतिस्पर्धा स्वस्थ होइन, अस्वस्थ हुन थाले । पार्टी सदस्य बनाउन अरूले शुल्क तिरिदिने गलत अभ्यास भयो । गुटमा सक्रिय नहुने सक्षम र असल कार्यकर्ताहरूमाथि अन्याय हुने स्थिति आयो’, पोखरेलले भन्नुभएको छ, ‘यस अवधिमा विकास भएका नकारात्मक क्रियाकलाप र प्रवृत्तिलाई हटाएर स्वस्थ बहस र प्रतिस्पर्धाको असल अभ्यासलाई पार्टी जीवनको अभिन्न अंग बनाउनुपर्नेमा नवौँ महाधिवेशनपछि जबजले निर्देशित गरेका असल अभ्यासहरू पनि कमजोर भएर गए ।’
पार्टीमा छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथमिकता पाउन छोडेको तथा भिन्न मत सके प्रकट हुन नदिने, भइहाले भने असहिष्णुताको व्यवहार गर्ने र कतिपय अवस्थामा प्रतिशोध साँध्नेसम्मका व्यवहार पार्टी जीवनमा देखिएको बताउनुभएको छ । पार्टीमा सामूहिक छलफल गरी एकीकृत धारणा बन्न नसक्दा पार्टीको सार्वजनिक प्रतिष्ठामा धक्का लागेको भन्दै पोखरेलले प्रदेश सरकार गठनका सन्दर्भमा भएका पछिल्ला गतिविधिले पार्टीको नैतिक मूल्यमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको बताउनुभएको छ ।
‘जेन-जी’ विद्रोहपछिका दुईथरि धारणा नै अतिवादी विचार
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘जेन-जी’ विद्रोहपछि दुईथरि अतिवादी विचार देखिएको बताउनुभएको छ । पोखरेलले दुवैखाले अतिवादी विश्लेषणबाट मुक्त हुनु जरुरी रहेको स्पष्ट पार्नुभएको छ । भदौ २३ र २४ गतेका घटनाको अलग अलग ढंगले वस्तुगत तथा तथ्यपरक ढंगले निष्पक्ष छानविन गरी दोषीउपर कानुनी कारबाही गरिनुपर्नेमा जोड दिनुभएको छ । एकथरिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, एमाले, नेपाली कांग्रेसलगायत प्रमुख राजनीतिक दल र प्रमुख नेताहरू यसको सम्पूर्ण कारक भएको टिप्पणी गरे पनि हाम्रा कमजोरीहरूमाथि टेकेर संविधान र व्यवस्थालाई कमजोर बनाउने प्रयास गरिएको उहाँको विश्लेषण छ । अर्कोथरिले प्रमुख दलहरूले सबै ठिकठाक गरिरहेको दाबी पनि अतिवाद भएको उहाँको विश्लेषण छ ।
सामूहिक नेतृत्व प्रणाली व्यवहारमा लागू गर्न नयाँ नेतृत्व चाहेका हौँ : ज्ञवाली
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा सिष्टम बसाउन ११औँ महाधिवेशनमा नेता ईश्वर पोखरेलाई अध्यक्षका लागि अघिसारेको बताउनुभएको छ । सोमबार ईश्वर पोखरेल समूहले राजधानीमा आयोजना गरेको अन्तरक्रियामा सामूहिक नेतृत्व प्रणाली व्यवहारमा लागू नभएकाले नयाँ नेतृत्वमा जान चाहेको उहाँले बताउनुभयो । ‘सामूहिक नेतृत्व नै लोकतन्त्रको उन्नत लोकतन्त्रको महत्वपूर्ण विशेषता हो’, ज्ञवालीले भन्नुभयो, ‘सामूहिक नेतृत्व नभएको लोकतन्त्र सुदृढ, बलियो, टिकाउ र सफल हुन सक्दैन ।’ नीति प्रधान कि नेता प्रधान ? भनेर गम्भीर प्रश्न उठेको भन्दै एमालेमा नेता प्रधान भन्ने स्थापित गर्न खोजिएकाले त्यसमा आफूहरूको असहमति रहेको उहाँले बताउनुभयो । ‘नीतिका आधारमा देश, पार्टी चल्नुपर्छ भन्ने मान्यतालाई पुनःस्थापित गर्न चाहन्छौँ, त्यसकारण हामी हाम्रो नेता फेर्न चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘आलोचना बिनाको कम्युनिष्ट पार्टी हुँदैन, डेमोक्रेसी हुँदैन । जतिसुकै राम्रो काम गर्दा पनि त्रुटि हुनसक्छन् तर आत्मसमीक्षा गर्नुपर्छ । तर, हाम्रो पार्टीमा गल्ती भएको छैन राम्रो मात्र भएको छ भनिएको छ यो करेक्सन हुनुपर्छ ।’
एमालेमा नेतृत्व परिवर्तन गर्ने यो उपयुक्त समय हो : पाण्डे
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले कुनै पनि पार्टीको अध्यक्ष एक व्यक्ति दुई पटकभन्दा बढी हुन नपाउने कानुनमै व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । दलभित्रको आन्तरिक लोकतन्त्रका लागि पनि यो व्यवस्था अनिवार्य भएको उहाँको भनाइ छ । देशको कानुन र पार्टीभित्रको विधानमा पनि लोकतान्त्रिकरणको विषय महाधिवेशनमा उठाउने उहाँले बताउनुभयो । जबजको स्पिरिटअनुसार ओली चल्न नसक्दा पार्टी संकटमा परेको उहाँले बताउनुभयो । ‘उहाँ आफैँ अगुवाइ गरेर पार्टी लोकतान्त्रिकरण गर्ने भनेर ७० वर्षे उमेरहद लगायतको व्यवस्था गरियो’, पाण्डेले भन्नुभयो, ‘तर उहाँले लोकतान्त्रिकरणको सबै कुरा मिच्दै जानुभयो । केही व्यक्तिको निर्णयमा चल्ने पार्टीमा रूपान्तरण गर्ने जुन स्थिति बन्दै छ जसले गर्दा एमाले जनताको बीचमा खुम्चने, साँघुरिने र आइसोलेसनमा जाने अवस्था देखापर्दै छ ।’
ओलीको उपादेयता सकियो, अब परिस्थिति बुझेर बिदा लिनुपर्छ : थापा
एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले सबैको भावना र परिस्थिति बुझेर बिदा लिए अध्यक्ष केपी शर्मा ओलीको सम्मान झन् बढ्ने बताउनुभएको छ । कुनै एक व्यक्तिको दम्भ र घमण्ड पाल्नु कसैको हितमा नहुने उहाँको भनाइ छ । ‘ओलीले सबैको भावना र परिस्थिति बुझेर बिदा लिनुपर्छ । अब उहाँको सामथ्र्य र उपादेयता सकियो’, थापाले भन्नुभयो, ‘कुनै एक व्यक्तिको दम्भ र घमण्ड पाल्ने हो भने त्यो कसैको हितमा हुँदैन । ओलीले बिदा लिए उहाँको सम्मान झन् बढ्छ ।’ ‘जेन–-जी’ आन्दोलनका क्रममा ज्यान जोगाउन ओली हेलिकप्टर चढेर भाग्नुपरेको पनि थापाले स्मरण गर्नुभयो ।
पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्ने प्रस्ताव
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्ने प्रस्ताव गर्नुभएको छ । दशौँ महाधिवेशनदेखि हालसम्मको पार्टी कामको सिंहावलोकन गर्दै पार्टीले गरेका काम, लिइएका निर्णय, प्राप्त भएका उपलब्धि र व्यहोर्नुपरेका चुनौतीका साथै भएका कमी–कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नैपर्ने भन्दै उहाँले महाधिवेशनबाटै भविष्यको बाटो स्पष्ट पार्नुपर्ने औँल्याउनुभएको छ । पोखरेलले महाधिवेशनलाई नेताहरूको पद बदल्ने अथवा नेतृत्वको अनुमोदन गर्ने दायरामा मात्र सीमित गरिन नहुने प्रष्ट पार्नुभएको छ ।
भण्डारीलाई पुनः पार्टी राजनीतिमा फर्काउन औपचारिक प्रस्ताव
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी राजनीतिमा फर्काउन औपचारिक प्रस्ताव गर्नुभएको छ । राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारी सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्काएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय भएको उहाँको भनाइ छ । ‘विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारी सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्काएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो’, उहाँले भन्नुभएको छ । भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गरिँदा पार्टीलाई घाटा हुने भन्दै उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने पोखरेलले बताउनुभएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच