काठमाडौं । एम्नेष्टी इन्टरनेसनलले गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा सुरक्षा निकायहरूले शान्तिपूर्ण प्रदर्शनकारीमाथि गैरकानुनी र अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ । प्रत्यक्षदर्शीका बयान, फोटो-भिडियो प्रमाण तथा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र प्रदर्शन अवलोकनकर्तासँगका अन्तर्वार्ताको आधारमा तयार पारेको प्रतिवेदन सोमबार काठमाडौंमा सार्वजनिक गर्दै एम्नेष्टीले कानुन कार्यान्वयन गर्ने निकायहरूको ‘व्यापक असफलताका कारण’ मानव अधिकार गम्भीर रूपमा उल्लंघन भएको निष्कर्ष निकालेको हो ।
एम्नेष्टी नेपालका निर्देशक नीराजन थपलियाका अनुसार भदौ २३ गते काठमाडौंमा भएको सभाका क्रममा कम्तीमा १९ जनाको मृत्यु भयो भने ३०० भन्दा बढी घाइते भएका थिए । दुई दिनको विरोध र त्यसपछिका ६ दिनसम्म तीव्र बनेको अशान्तिका कारण देशभर ७६ जनाको मृत्यु र दुई हजारभन्दा बढी घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
कुनै पनि अप्रिय घटनाबिना सुरु भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा जब भिडको एउटा भागले ५०० मिटरभन्दा कम दूरीमा रहेको संसद् भवनतिर प्रदर्शनकारीहरूलाई अघि बढ्नबाट रोक्नका लागि राखिएको प्रहरी ब्यारिकेडलाई भत्काएपछि कसरी तनाव बढ्यो ? भन्ने बारेको विवरण ब्रिफिङले दिएको छ ।
सुरक्षा बलहरूले पानीको फोहोरा प्रयोग गरेर त्यसको प्रतिवाद गरेका थिए । केही अवस्थामा प्रदर्शनकारीविरुद्ध अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड अन्तर्गतको आवश्यकता र समानुपातिकताको सिद्धान्तहरूको कसीमा गम्भीर चासो पैदा गर्ने तवरमा नजिकैबाट उच्च–दबाबका पानीका फोहोराहरू प्रयोग गरिएको थियो । पछिल्ला केही घण्टाको अवधिमा बलको प्रयोग दु्रत गतिमा बढेको थियो र प्रत्यक्षदर्शीहरूले बताएअनुसार सुरक्षा बलहरूले आफ्नो प्रतिक्रियालाई तीव्र पार्दै गर्दा हतास र अस्तव्यस्तताको अवस्था पैदा भएको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार अश्रुग्यासका ग्रेनेडहरूलाई माथिल्लो स्थानबाट प्रहार गरिएको थियो जुन अत्यन्तै खतरनाक अभ्यास हो र यो कम घातक हतियारको प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय निर्देशिका विपरीतको कार्य हो । केही अश्रुग्यास ग्रिनेडलाई अस्पताल परिसरभित्र र वरपर पनि प्रहार गरिएको थियो र यसले आपतकालीन चिकित्सा सेवाहरू अवरुद्ध हुन पुगेको थियो । अस्पताल क्षेत्रभित्र र वरपर अश्रुग्यास प्रहार गरिएकोले गर्दा विरोध प्रदर्शनमा भाग नलिएका अस्पतालमा भर्ना गरिएका बिरामी, बालबालिका र वृद्धवृद्धाहरूलाई श्वासप्रश्वासमा कठिनाइ भएको चिकित्साकर्मीहरूले बताए ।
चेतावनी नदिईकनै र तनाव कम गर्नका लागि कुनै अर्थपूर्ण प्रयास नगरीकनै रबर बुलेट र रबरले लेपित धातुका गोलीहरूसहितका काइनेटिक इम्प्याक्ट प्रोजेक्टाइलहरूलाई बाक्लो भिडमा सिधै प्रहार गरिएको थियो । जुन १४ वर्षका युवा प्रदर्शनकारी सम्मलाई लाग्न पुगेको थियो । घाइतेहरूको उपचारमा संलग्न डाक्टरले बिरामीहरूको खप्परबाट रबर बुलेटहरू झिकिएको पुष्टि गरे ।
कम घातक हतियारहरूको यस्तो दुरुपयोग कानुन कार्यान्वयन गर्ने अधिकारीहरूद्वारा बल र बन्दुकको प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय आधारभूत सिद्धान्त र कानुन कार्यान्वयनका क्रममा कम घातक हतियारसम्बन्धी संयुक्त राष्ट्रसंघीय मानव अधिकार निर्देशिका जस्ता अन्तर्राष्ट्रिय मापदण्ड तथा नेपालको स्थानीय प्रशासन ऐनको उल्लंघन हो ।
प्रतिवेदनअनुसार संसद् भवननजिक शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन प्रहरी ब्यारिकेड हटाएपछि तनावग्रस्त बन्यो । त्यसपछि सुरक्षा बलले उच्च–दबाबको पानी, रबर बुलेट, रबरले लेपित धातुका गोली तथा अश्रुग्यास प्रयोग गर्यो । केही अश्रुग्यास ग्रेनेड अस्पताल परिसरनजिकै प्रहार गरिएकोले आपत्कालीन सेवासमेत अवरुद्ध भएको चिकित्सकहरूले बताएका छन् ।
एम्नेष्टीका अनुसार प्रदर्शनकारी, बालबालिका, सर्वसाधारण र पत्रकार सम्मिलित भिडमा गोली प्रहार गरिएको पुष्टि भएको छ । कतिपयको टाउको, घाँटी र छातीमा गोली लागेका कारण मृत्यु र गम्भीर घाइतेका घटना धेरै देखिएको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्यकर्मीहरूले ‘गम्भीर घाइतेहरूको संख्या असामान्य रूपमा अत्यधिक’ रहेको बताएका छन् । एम्नेष्टीले ‘जेन–जी’ आन्दोलनमा मारिएका तथा घाइते युवाहरू सत्य र न्यायका हकदार रहेको उल्लेख गर्दै ‘दण्डहीनता कायम रहे भविष्यमा यस्ता गैरकानुनी हिंसात्मक घटना दोहोरिन सक्ने’ बताएको छ । एम्नेष्टीले सरकारले विरोध प्रदर्शन व्यवस्थापनको समग्र अभ्यास पुनरावलोकन गर्न, प्रहरीद्वारा शान्तिपूर्ण भेला सुनिश्चित हुने वातावरण बनाउन र बल प्रयोगसम्बन्धी कानुनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्न आग्रह गरेको छ ।
एम्नेष्टी इन्टरनेसनल सरकारलाई भेलाहरूप्रति अपनाइएको समग्र दृष्टिकोणलाई समीक्षा गर्न र प्रहरीद्वारा शान्तिपूर्ण विरोध प्रदर्शनहरूलाई सहजीकरण गर्ने गराउने कुरा सुनिश्चित गर्न तथा बल प्रयोगसम्बन्धी लगायतका घरेलु कानुनहरूलाई अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डहरूसँग पूर्णरूपमा मेल खानेगरी परिमार्जन गर्न आह्वान गरेको छ ।
ब्रिफिङ मुख्यतः भदौ २३ गते भएको पहिलो दिनको घटनामा केन्द्रित थियो । तथापि, एम्नेष्टीले भदौ महिनाभर देखिएको भिड हिंसा, क्षति तथा मानव जीवनमाथि भएका अन्य आक्रमणको पनि भत्र्सना गरेको छ । संगठनले हिंसात्मक घटना तथा सुरक्षाकर्मी वा प्रदर्शनकारी दुवै पक्षबाट भएका आपराधिक कार्यमाथि प्रभावकारी, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच