हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–८ स्थित दुब्लुङ–धुवाङ माध्यामिक विद्यालय पुग्नै आफैंमा एउटा चुनौती हो । भीमफेदी–मनहरी क्षेत्रको तुलनामा अझै विकट मानिने यो बस्ती पुग्न विद्यार्थीहरूलाई दैनिक एकदेखि डेढ घण्टासम्म पैदल दुरी पार गर्नुपर्छ । विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ, भर्ना २०० विद्यार्थी छन् । तर नियमित रूपमा उपस्थित हुने संख्या १६० जना मात्र छन् । कठिन भौगोलिक पहुँच, कमजोर आर्थिक अवस्था र पर्याप्त पूर्वाधारको अभावले यहाँको शिक्षालाई आज पनि संघर्षको नामले चिनिन्छ ।
विद्यालयका प्रधानाध्यापक देवराज स्याङ्ताङ भन्नुहुन्छ, “सानो कक्षाबाट विद्यार्थी धेरै उत्पादन हुन्छन्, तर राम्रो पढाइमा अब्बल देखिएका बालबालिकालाई अभिभावकले अन्त्यत्र सहरतिर लैजाने गर्छन् । यहाँ बस्ने वातावरण र सुविधाभन्दा सहरतिरको आकर्षण बढी पर्यो । त्यसैले विद्यार्थी घट्दै गएको हो।”
विद्यालयमा पढाइ छोड्ने विद्यार्थी धेरै छैनन्, तर कक्षा बढ्दै जाँदा उनीहरू अन्य विद्यालयमा सर्न बाध्य हुन्छन् । कतिपयले बालविवाहका कारण बीचमै पढाइ टुट्छ । भौगोलिक दूरी, परिवारको अवस्था, र विद्यालय आवासको कमीले विद्यार्थीहरूलाई निरन्तरियरूपमा जकडेर राख्छ ।

कक्षा १० मा अहिले जम्मा १० जना मात्रै विद्यार्थी छन् । ती विद्यार्थीलाई विद्यालयमै राखेर पढाउने विशेष व्यवस्था छ । उच्च कक्षा पढाइका लागि यो राहत भए पनि सबै कक्षामा त्यस्तो सम्भव छैन ।
विद्यालयमा कक्षा कोठा कुल ११ मात्र छन्, जसले गर्दा दुई कक्षा एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ । आवाज, भीडभाड र सिकाइ वातावरण कमजोर हुँदा विद्यार्थीको ध्यान केन्द्रित गराउनै गाह्रो पर्छ ।
दुब्लुङ–धुवाङको अर्को ठूलो चुनौती शिक्षक अभाव हो । “मनहरीमा घर हुने धेरै शिक्षक छन्, उनीहरू प्रायः सारसारबीच मनहरीतिर फर्किन्छन् । अर्को, सरकारी सर्भिसमा नाम निकालेर जानु पर्ने हुन्छ । त्यसैले नयाँ शिक्षक आउने संख्या निकै कम छ,” प्रधानाध्यापक स्याङ्ताङ सुनाउहुन्छ ।
गणित र विज्ञानका शिक्षक नपाएर लामो समय पढाइ प्रभावित हुन पुग्यो । अहिले इसिडी शिक्षक नै छैनन् । दुई वर्षदेखि स्टाफ नर्स समेत पद रिक्त छ, ल्याउने प्रक्रिया दुई वर्षदेखि नै कागजी प्रक्रियामै अड्किएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षका अनुसार विद्यालयमा वर्षौँसम्म घेराबारसमेत थिएन । यस वर्ष बल्ल काम सम्पन्न भएको छ । अहिले विद्यालयमा जम्मा १२ जना शिक्षक छन्, तर यो संख्या विद्यार्थीका गरिबी, दूरी र चुनौतीका हिसाबले अझै अपर्याप्त छ ।

कैलाश गाउँपालिकामा गरिबीको मार विशेष गरी बालबालिकामै पर्छ । जाडो सुरु हुनासाथ पातलो सर्ट–पाइन्टमा कठ्याङ्ग्रिँदै विद्यालय पाइला टेक्दै आएका विद्यार्थी देखिन्छन् । विद्यालयलाई केहीअघि संस्थाको सहयोगमा स्विटर बाँडिएको थियो, तर त्यो पनि पर्याप्त भएन । अहिले कसैको नजर बच्चाहरूको अवस्थामाथि परिरहेको छैन ।
“सानै नानीबाबु कठ्याङ्ग्रिँदै पढ्न बसेको देख्दा मन दुख्छ । तर विद्यालयले किनेर दिन सक्ने अवस्था छैन, अभिभावकको त झन् हुँदैन,” प्रधानाध्यापक भन्नुहुन्छ ।
यो समस्या केवल एक विद्यालयको मात्र होइन, पालिकाभरि समान चुनौती छ । अधिकांश बालबालिका खालीखुट्टा, च्यातिएको पोसाक र मौसमअनुकूलको लुगा बिना विद्यालय आउँछन् । पालिकाबाट कुनै ठोस सहयोग नआएको विद्यालय व्यवस्थापनको गुनासो छ । “अन्तिममा गुहार माग्ने संस्था नै हो,” व्यवस्थापन समितिका अध्यक्ष भन्नुहुन्छ, “हामी दातृ संस्थाकै आसमा बसिरहेका छौँ।”
यद्यपि सबै चुनौतीबीच पनि पढाइ अघिल्लो वर्षको तुलनामा राम्रो रहेको छ । शिक्षकहरूको निरन्तरता, पूर्वाधार विकास, विद्यार्थी सहयोग र पालिकाको प्राथमिकता बढेमा दुब्लुङ–धुवाङका बालबालिकाले पनि सुरक्षित र सहज शिक्षा पाउने भविष्य नजिकै देखिन सक्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच