काठमाडौं । भन्सार एजेन्टहरूको आन्दोलनका कारण देशभरका भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् ।
२०८२ मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधानविरुद्ध महासंघ आन्दोलनमा उत्रिएको हो । नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रिया सहज बनाउनेभन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग-व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको महासंघले जनाएको छ ।
भन्सार ऐन, २०८२ को मस्यौदा तयार पार्ने चरणदेखि नै महासंघले दण्ड-जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर-आइडी व्यवस्थापन, इन्कुट-आउट नोट प्रणाली र मालवस्तु जाँचपासलाई इजाजत प्राप्त भन्सार एजेन्टमै सीमित गर्नेलगायतका विषय समावेश गर्न माग गर्दै आएकोमा लागू भएको ऐनले अनावश्यक दण्ड-जरिवाना थपेको र तजबिजी अधिकार बढाएको आरोप लगाएको छ ।
भन्सार जाँचपासमा निरन्तर देखिने ढिलासुस्ती, भन्सार स्वचालन प्रणालीका सर्भर समस्या, राजस्व भुक्तानी र क्वारेन्टाइनका जटिलता सम्बन्धमा भन्सार विभागलाई बारम्बार ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको महासंघको भनाइ थियो । दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्णरूपमा ठप्प रह्यो भने तेस्रो दिन मंगलबार देशभरका सम्पूर्ण भन्सार कार्यालयका सेवाहरू बन्द गरिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले बताउनुभएको छ ।
यसैबीच काठमाडौं उद्योग वाणिज्य संघले हाल देशभरका केही भन्सार कार्यालयको भन्सार प्रणालीमा देखापरेको प्राविधिक अवरोध, सेवा-प्रवाहमा देखिएका ढिलाइ तथा डिजिटल प्रणालीको अस्थिरताका कारण भन्सारका दैनिक कार्यहरू प्रभावित भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
निरन्तर देखिँदै आएका समस्याले आयात-निर्यात प्रक्रियामा अनावश्यक जटिलता सिर्जना गरेको, व्यवसायीको समय-लागत बढाएको तथा समग्र व्यापारिक वातावरण अस्थिर बनाएको संघको ठहर छ । संघद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघ सदैव व्यावसायिक सुरक्षाको सुनिश्चितता, सरल तथा पारदर्शी भन्सार प्रक्रिया, डिजिटल प्रणालीको भरपर्दोपन र सरकारी सेवा-प्रवाहको द्रुत सुधारको पक्षमा छ ।
भन्सारबाट सन्दर्भ पुस्तिका हटाउने जस्ता निर्णय र प्रविधि प्रयोग गरी सही काम गरी खाने उद्योगी र व्यापारीलाई सहज सेवा दिन गरिएका प्रयत्न प्रशंसनीय छन् । यसतर्फ सम्बन्धित निकायहरूको अझै ध्यान जाओस् भन्ने हाम्रो अनुरोध छ । तर, हालै सानोतिनो गल्तीलाई निहुँ बनाएर अत्यधिक जरिवाना गर्ने र भन्सारको प्रक्रिया ढिलो गर्ने कार्यमा अबिलम्ब सुधार होस् भनी अनुरोध गर्दछौं । विवरण गल्तीका कारण सरकारको राजस्व आयमा कम हुने गरी आयातकर्ता वा एजेन्ट उल्लेख गरेकोभन्दा बाहेक कुनै व्यावहारिक गल्ती विवरणलाई सरकार स्वयंबाट सच्याउन लगाई व्यापार सहजीकरणमा भन्सारका सबै अंगको सहयोगको हामी अपेक्षा गर्दछांै ।’ संघले व्यापारिक समुदायको समस्या सशक्तरूपमा उजागर गर्न तथा यथाशीघ्र प्रभावकारी समाधान खोजी गराउन नेपाल भन्सार एजेन्ट संघले सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच