ललितपुर । ललितपुरमा जारी आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको चौथो चरणसम्म आइपुग्दा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले उपाधिमा बलियो दाबी प्रस्तुत गरेका छन् । चार चरणको खेल सकिँदा शीर्ष तीनवटै टोलीले समान तीन जित र एक बराबरीसहित सात-सात अंक प्राप्त गरेका छन् ।
तेस्रो चरणमा महालक्ष्मी नगरपालिकाले कुमारीपाटी चेस क्लबलाई चार-शुन्यले पराजित गर्यो । क्षितिज भण्डारी, सुरोज महर्जन, शैलेन्द्र न्यौपाने र अशोक मोहन श्रेष्ठले आफ्ना प्रतिस्पर्धीहरू भवानी लिम्बु, सोम आले, रे राई र टिमोन राईलाई पराजित गर्नुभएको थियो । चौथो चरणमा महालक्ष्मीले ललितपुर महानगरपालिकासँग दुई-दुईको बराबरी खेलेको छ ।
महालक्ष्मीका सुरोज महर्जनले प्रकाशचन्द्र नेपाललाई तथा कमल श्रेष्ठले सिएमए सजिन महर्जनलाई पराजित गर्नुभयो । यता, क्षितिज भण्डारी पुरुषोत्तम सिलवालसँग र शैलेन्द्र न्यौपाने मुहान नरसिंह श्रेष्ठसँग पराजित गर्नुभयो ।
यसअघि ललितपुर महानगरपालिकाले थापाथली चेस पार्कलाई ३.५-०.५ ले हराएको थियो । पुरुषोत्तम सिलवाल, महानरसिंह श्रेष्ठ र धिरेन राई विजयी बन्नुभयो भने प्रकाशचन्द्र नेपाल र सुशील चौधरीबीचको खेल बराबरीमा टुंगिएको थियो ।
दोलखा जिल्ला संघले तेस्रो चरणमा दोलखा चेस होमलाई २.५-१.५ ले पराजित गर्दै शीर्ष स्थानमा उठेको हो । निकेन कुसाथा र बद्रीलाल नेपाली विजयी बन्नुभयो भने कृष्ण थापा-पुरुषोत्तम चौलागाईंको खेल बराबरी भयो । रिसोन थापा भने रुपेश जैसवालसँग पराजित हुनुभयो । चौथो चरणमा दोलखाले थापाथली चेस पार्कसँग दुई-दुईको बराबरी निकाल्यो । दोलखाका रिसोन थापा र कृष्ण थापाले क्रमशः सुश्रुत दाहाल र सुशील चौधरीलाई हराउनुभयो भने निकेन कुसाथा र बद्रीलाल नेपाली आशीष फुँयाल र सबिनचन्द्र घिमिरेसँग पराजित हुनुभयो ।
स्पर्धामा कोशी प्रदेश बुद्धिचाल संघ र दोलखा चेस होमले ६-६ अंक जोड्दै क्रमशः चौथो र पाँचौँ स्थान ओगटेका छन् । थापाथली चेस पार्क र सुदूरपश्चिम चेस संघले समान पाँच अंकसहित पछ्याइ रहेका छन् ।
प्रतियोगिताका विजेता टोलीहरूलाई पाँच लाख १० हजार रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । कुल सात चरणको लिग आधारमा सञ्चालन भइरहेको प्रतियोगिता २५ गतेसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच