काठमाडौं । नबिल बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यालयमा भएको सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसेले हस्ताक्षर गर्नुुभएको हो । सम्झौतापछि त्रिविसँगको कार्यक्रम सन् २०२८ सम्म निरन्तररूपमा सञ्चालन हुने बताइएको छ ।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत मुलुकभर सामाजिक उद्यमशीलताको प्रवद्र्धन र सशक्तीकरण गर्ने उद्देश्यले विगत चार वर्षदेखि नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । सम्झौता नवीकरणले दुवै संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै सामाजिक उद्यमशीलता प्रवद्र्धनमा ठूलो सहयोग पुगेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । नबिल एसएसईले समाजमा पारेको सकारात्मक प्रभाव निकै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । ज्ञवालीले भन्नुभयो, ‘नबिल बैंक सधैं स्थानीय अर्थतन्त्रमा मूल्य थप्ने, समुदायमा सकारात्मक परिवर्तन ल्याउने र विद्यार्थी तथा उद्यमीलाई आफ्नो क्षमता विस्तार गर्न सहयोग गर्ने पहलहरूमा साथ दिँदै आएको छ र यस कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेछौँ ।’
डिन प्राडा चालिसेले त्रिविको व्यवस्थापन संकाय पाठ्यक्रमलाई सान्दर्भिक र प्रयोगात्मक शिक्षातर्फ रूपान्तरण गर्दै उद्यमशीलता विकास गर्ने दिशामा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुसन्धान, अध्ययन तथा समुदायसँगको सहकार्यजस्ता क्षेत्रमा उद्योग–शैक्षिक साझेदारीले गहिरो प्रभाव पार्न सक्छ र नबिल एसएसईमार्फत् स्थापित भएको सहकार्य यसको उत्कृष्ट उदाहरण बनेको छ ।’ सामाजिक उद्यमशीलता विकासलाई सुदृढ गर्ने उद्देश्यले बैंकले नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम समुदायमा काम गर्ने सामाजिक उद्यमी तयार पार्न र उनीहरूलाई सशक्तीकरण गर्ने उद्देश्यसाथ सञ्चालित छ ।
बैंकका अनुसार नबिल एसएसईअन्तर्गत ‘फेलोसिप’ र ‘सर्टिफिकेट’ कोर्स गरी दुर्ई कार्यक्रम सञ्चालनमा रहेका छन् । छ महिना अवधिको फेलोसिप कार्यक्रम नवप्रवर्तन तथा नवीन आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरूलाई लक्षित गरिएको छ । जसमा सहभागीले छ महिनासम्म प्रशिक्षण र एक वर्षसम्म मेन्टरसिप पाउनेछन् । साथै नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन् ।
पछिल्लो चार वर्षमा फेलोसिप कार्यक्रममा ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् भने उनीहरूले ६२ उद्यम स्थापना गरिसकेका छन् । जसबाट १४ हजारभन्दा बढी व्यक्ति प्रत्यक्षरूपमा लाभान्वित भइसकेको बैंकले जनाएको छ । त्यसैगरी सर्टिफिकेट कोर्स सातवटै प्रदेशमा सञ्चालित छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच