काठमाडौं । विगत वर्षहरूमा नेपालको भोकमरीको अवस्थामा निकै सुधार देखिएकोमा पछिल्लो वर्ष भने खस्किएको छ । विश्व भोकमरी सूचकांक २०२५(जिएचआई)मा नेपाल सन् २०२४ मा एक सय २३ राष्ट्रमध्ये ६८औँ स्थानमा रहेकोमा सन् २०२५ मा ७२औँ स्थानमा झरेको हो । प्रतिवेदनअनुसार नेपालले विगत दुर्ई दशकमा भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरे पनि कुपोषण र बालबालिकामा पुड्कोपन समस्या भने बढेर गएको छ ।
वेल्ट हंगर हिल्फे र लि-बर्डले मंगलबार सार्वजनिक गरेको विश्व भोकमरी सूचकांक २०२५ को प्रतिवेदनले नेपालमा ‘मध्यम श्रेणीको भोकमरी’ रहेको औंल्याएको छ । प्रतिवेदनअनुसार यस वर्ष नेपालको जिएचआई अंक १४.८ छ । सन् २००० मा जिएचआई अंक ३७.१ सहित नेपाल ‘गम्भीर भोकमरी’ देशको श्रेणीमा थियो । गत वर्ष १४.७ रहेको नेपालको जिएचआई अंक यस वर्ष बढेर १४.८ पुगेको हो । अल्पपोषण वा क्यालोरी खपत कम हुने जनसंख्या नेपालमा जम्मा ५.३ प्रतिशत रहेको छ भने पाँच वर्षभन्दा मुनिका बालबालिकामा पुड्कोपना २६ प्रतिशत रहेको छ । गत वर्ष पुड्कोपन २४.८ प्रतिशत थियो ।
त्यस्तै, बाल मृत्युदर २.६ प्रतिशत र ख्याउटेपना सात प्रतिशत रहेको प्रतिवेदनले औँल्याएको छ । वेल्ट हंगर हिल्फे, कन्सर्न वल्र्डवाइड र इन्स्टिच्युसन फर इन्टरनेसनल ल अफ पिस एण्ड आर्म कन्फ्लिक्टले भोकमरी तथा कुपोषणको स्थिति मापन गर्न वार्षिकरूपमा यो प्रतिवेदन सार्वजनिक गर्दै आएका छन् ।
ललितपुरमा आयोजित कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले भोकमरी र कुपोषणमा नेपालले उल्लेखनीय प्रगति गरे पनि देशको प्रमुख समस्याका रूपमा रहेको कुपोषण र नसर्ने रोगको बढ्दो जोखिम चुनौतीका रूपमा रहेको बताउनुभयो ।
वेल्ट हंगर हिल्फे नेपालका कन्ट्री डाइरेक्टर साकेब नाभीले विगत २० वर्षदेखि विश्वव्यापीरूपमा ग्लोबल हंगर रिपोर्ट जारी गर्दै आएको र रिपोर्टको मुख्य जोड खाद्य असुरक्षा र कुपोषणमा रहेको बताउनुभयो ।
जलवायु परिवर्तनको प्रभाव, कोरोना, जैविक विविधतामा ह्रास र आप्रवासनलगायतका चुनौतीबीच पनि नेपालले सबैभन्दा कमजोर र सीमान्तकृत समुदायलाई खानामा पहुँच सुनिश्चित गर्न सकेकोमा उहाँले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ, पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौडेलले नेपालमा भोकमरीको अवस्था र आगामी चुनौतीबारे चर्चा गर्नुभएको थियो ।
लिवर्डका कार्यकारी निर्देशक भरत भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीका साथै राष्ट्रिय कृषक समूह महासंघलगायतका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच